३० आश्विन २०८३, शुक्रबार

फेरि बढ्यो लोडसेडिङ, अब १३ घण्टा अध्यारोमा बस्नुपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb light nepalकाठमाडौँ, १८ माघ । नदीमा जलप्रवाह घटेको र मागअनुसार आपूर्ति हुन नसकेको भन्दै नेपाल विद्युत् प्राधिकरणले दैनिक १३ घन्टाको दरले विद्युत्भार कटौती गर्ने भएको छ ।

दैनिक सरदर १२ घन्टा विद्युत् कटौती गर्दै आएको प्राधिकरणले आजदेखि १३ घन्टा विद्युत् कटौती गर्न लागेको हो । अघिल्लो तालिकामा सातामा एक दिन आठ घन्टा र अरु दिन १४ घन्टा विद्युत् कटौती हुँदै आएकामा पछिल्लो तालिकामा भने त्यसलाई मिलाएर १३ घन्टा मात्रै बनाइएको छ ।

प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले अघिल्लो तालिकालाई मिलाएर सातामा कुल ९१ घन्टा विद्युत् कटौती गर्न लागिएको हो । उहाँले विद्युत् आउने समयमा सकेसम्म समस्या नआओस् भन्नेतर्फ सचेत रहँदै तालिका मिलाइएको जानकारी दिनुभयो ।

मुलुकमा हाल एक हजार ३२५ मेगावाट विद्युत्को माग रहेको छ । जाडो एवम् भारतको अघोषित नाकाबन्दीका कारण खाना पकाउनेलगायत अन्य काममा विद्युत्को अत्यधिक माग बढेको छ । कुलेखानी जलविद्युत् आयोजनाबाहेक अरु सबै आयोजना नदी प्रवाहमा आधारित रहेकाले विद्युत् उत्पादन आन्तरिक रुपमा ६० प्रतिशतभन्दा कम हुन पुगेको छ । मुलुकभित्र कुल जडित क्षमता ७८५ मेगावाट भए पनि हाल लगभग ३०० मेगावाट मात्रै विद्युत् उत्पादन हुँदै आएको छ ।

यस्तै विभिन्न नाकाहुँदै भारतबाट २३५ मेगावाट विद्युत् आयात हुँदै आएको छ । आइतबारदेखि ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने र थप ८० मेगावाट विद्युत् जोडिने बताइए पनि शीतलहर एवम् रङ्गेली घटनाका कारण एकाध दिन पर धकेलिएको छ ।

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले आउँदो फागुन ४ गतेसम्म भारतबाट ८० मेगावाट विद्युत् आयात गर्ने सहमति भएको छ । सोही सहमतिका आधारमा प्राधिकरणले आवश्यक तयारी गरेको छ । “सकेसम्म अब विद्युत्भार कटौती नगर्नेतर्फ हामीले सोचेका छौँ, एकाध दिनभित्रै भारतबाट थप विद्युत् आयो भने कटौती घटाउन सकिन्छ”–भारप्रेषण केन्द्रका प्रमुख खत्रीले भन्नुभयो ।

भारतबाट थप ८० मेगावाट आएको खण्डमा दुई घन्टा विद्युत् कटौती कम गर्न सकिने प्राधिकरणले जनाएको छ । पावर ट्रान्समिसन कम्पनीले नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले गरेको निर्णय एवम् राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर युद्धस्तरमा निर्माण जारी राखेको बताएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् उपलब्ध हुने समय किटानी गर्न र सो अवधिमा पूर्ण क्षमतामा विद्युत् दिन प्राधिकरणलाई निर्देशन दिएको छ ।

अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले विद्युत् कटौती नहुने समयमा समेत कटौती भएको, ‘नो–लाइट’मा फोन नउठेको एवम् मर्मत सम्भारमा ध्यान नदिएको तथा सेवाग्राहीको समस्यामा ध्यान नदिएको भन्दै प्राधिकरणलाई निर्देशन दिएको जानकारी गराउनुभयो ।

यस्तै प्राधिकरणले सेवाग्राहीको समस्या समाधान गर्न पहल नगरेको एवम् जलेका ट्रान्सफर्मर एवम् कन्डक्टर मर्मतमा ध्यान नदिएको भन्दै आयोगले तत्काल त्यस्ता समस्या समाधान गर्न र सेवाग्राहीलाई विद्युत् उपलब्ध गराउन निर्देशन दिएको छ । तर प्राधिकरणले केन्द्रीय मर्मत केन्द्र लैनचौरमा जनशक्तिको अभावमा ट्रान्सफर्मर एवम् कन्डक्टर मर्मत गर्न नसकिएको जनाउँदै आएको छ । रासस