
काठमाडौं, १८ माघ । क्रियाशील सदस्यता जथाभावी बाडिँदा र कार्यकर्ताको सम्पर्काट टाढा हुन खोज्दाको परिणाम के हुँदो रहेछ भन्ने कुरा शुक्रबार सम्पन्न नेपाली कांग्रेसको स्थानीय अधिवेशनमा देखिएका केही झलकले प्रमाणित गरेको छ ।
केन्द्रमा ठूलो उचाइँ र हैसियत प्राप्त गरेका कतिपय नेताहरू वडामै पराजित भई क्षेत्रीय अधिवेशनमा भाग लिनबाट समेत वञ्चित भएको समाचार तरुण साप्ताहिकले छापेको छ ।
यस्तो अवस्थामा सुदूरपश्चिम र सुदूरपूर्वमा बढी देखिएको छ । लामो समयसम्म सुशील कोइरालाको निकट रहेर पार्टीको केन्द्रीय सदस्यसमेत बनिसकेका पूर्व सहायकमन्त्री चन्द्रसिंह भट्टराई टीकापुर नगरपालिकाबाट बुथ कमिटीमै पराजित भए ।
उनी मात्रै होइन कैलाली जिल्लामा देउवा पक्षका हस्ती तथा सत्ता पक्षको नेता रहिसकेका हीरादत्त भट्ट पनि अत्तरिया नगरपालिका १३ को बुथ कमिटीमै पराजित भएका छन् ।
केही समयअघि मात्र कोइराला पक्षमा गएकी पूर्व राज्यमन्त्री सुशीला स्वाँर पनि टीकापुर नगरपालिकामा पराजित भइन् ।
१६ सय त्रिलाशील सदस्यता बाँडेर कैलाली जिल्लामा विवादको बीउ रोपेका नेविसंघका पूर्वउपाध्यक्ष क्षितिज भण्डारीले प्रस्तावक र समर्थकसमेत पाएनन् ।
त्यसै गरी, मोरङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति उम्मेदवार रञ्जन थापा पनि हसनदह गाविसको बुथमै पराजित भएका छन् ।
अघिल्लो महाधिवेशनमा देउवा पक्षका उनी हाल संस्थापनपक्षका शेखर कोइराला निकटका थिए । मोरङ जिल्लाकै महासमिति सदस्य मञ्जु राई अमरदह गाविसमा बुथ प्रतिनिधिमा हारेकी छिन् ।
यसै गरी महाधिवेशन प्रतिनिधि ध्रुबमाया सापकोटा पनि बुथ कमिटीमै चुनाव हारेकी छिन् ।
नेविसंघका पूर्वउपाध्यक्ष प्रमोदहरि गुराइँले काठमाडौं महानगरपालिका १६ मा चुनाव हारेका छन् । तनहुँ जिल्ला गोविन्दराज जोशी निकट केही पूर्व सांसदहरूले पनि बुथ कमिटीमै पराजय बेहोरेका छन् ।
यसरी पराजित हुनेमा पूर्व सांसद पार्वती थापा, ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष सूर्यचन्द्र हड्खले र पूर्व महाविधेशन प्रतिनिधि पर्शुराम गिरी रहेका छन् ।















प्रतिक्रिया