बनेपा, १५ माघ । उपप्रधान एवम् परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले फागुनको पहिलो साता स्थानीय निकाय पुनःसंरचना आयोग गठन हुने बताउनुभएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आज धुलिखेलमा आयोजना गरेको अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीमा उहाँले सो अयाोगले एक वर्षभित्रमा स्थानीय निकायको पुनःसंरचानाबारे प्रतिवेदन बुझाउने जानकारी दिनुभयो ।
नयाँ संविधानले संविधान जारी भएको छ महिनामा यस्तो आयोग गठन गर्ने प्रावधान राखेको उहाँको भनाइ थियो ।
उहाँले स्थानीय निकायको पुनःसंरचनाका लागि आयोगले तयार पारेको प्रतिवेदनले स्थानीय निकायलाई बलियो र नयाँ मार्ग निर्देश गर्ने जानकारी दिँदै नयाँ संविधानमा फरक विचार भएकालाई पनि सम्बोधन गर्ने प्रावधान रहेको बताउनुभयो ।
सो अवसरमा स्थानीय विकास सहायक मन्त्री विराटबहादुर विष्टले स्थानीय निकायको पुनःसंरचनाका बारेमा बोल्नुभएको थियो ।
गोष्ठीमा मध्यमाञ्चलको १९ जिल्लाका स्थानीय विकास अधिकारी, नगरपालिकाका कार्यकारी अधिकृतको सहभागिता छ । रासस















प्रतिक्रिया