
ललितपुर । ललितपुर, एकान्तकुनास्थित राम राउतको घरबाट शुक्रबार दिउँसो साढे तीन बजे बाढीजस्तो गरी पानी निस्कियो ।
राउत के भयो भनी आत्तिँदै हेर्न जाँदा पानी त माथिल्लो तलाको बाथरुमबाट निस्किएको रहेछ जहाँ दक्षिण कोरियाली दुई नागरिक डेरा गरी बस्दै आएका थिए । ढोका खुलै थियो । राउतले ढकढक गरे, कोही निस्किएन । बाथरुममा हेर्दा एक जना महिला बेहोस अवस्थामा भेटिइन् । राउतले तत्काल सोही घरमा बस्ने अर्की महिलालाई फोन गरेर बोलाए । बेहोस अवस्थामा भेटिएकी महिलाको अस्पताल नपुग्दै मृत्यु भइसकेको थियो ।
प्रहरीका अनुसार २७ वर्षे दक्षिण कोरियाली महिला किम सोलीको वाथरुममा निस्सासिएर मृत्यु भएको थियो । बिहान १० बजे नुहाउन बाथरुम छिरेकी सोलीले भित्रै रहेका सबै झ्यालढोका र भेन्टिलेसन थुनेर गिजर खोल्दा उत्पन्न ग्यासले निस्सासिएर प्राण गएको अनुसन्धानमा खुल्यो ।
प्रहरी त्यहाँ पुग्दा बाथरुमको धारा र गिजर खुलै थियो । भेन्टिलेसन र झ्यालढोका भने बन्द थिए । पोस्टमार्टम रिपोर्टमा सोलीको मृत्यु अक्सिजन कमीले श्वासप्रश्वास रोकिएर भएको देखियो ।
ललितपुरकै ठेचोमा पुस २२ गते यस्तै घटना भयो। चुलोमा कोइला बालेर खाना बनाउने क्रममा दार्चुलाका २२ वर्षे दीपक टमाटा, १९ वर्षे ससिता लामा र २६ वर्षे दीपक टमाटा बेहोस भए। स्थानीयले तत्काल प्रहरीलाई खबर गरी पाटन अस्पताल पुर्यासएका तीन जनामध्ये २२ वर्षे दीपकको मृत्यु भयो। प्रहरी मुचुल्कामा साँघुरो र हावा वारपार नहुने स्थानमा धुवाँले निस्सासिएर एक जनाको ज्यान गएको उल्लेख छ।
महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार जिल्लामा कात्तिकदेखि हालसम्म सात जनाको निस्सासिएरै मृत्यु भइसकेको छ। निस्सासिएरै अचेत अवस्थामा अस्पताल पुर्यााइएका पाँच जना उपचारपछि सामान्य भएर फर्केका छन्।
चिसो बढेसँगै झ्यालढोका थुनेर मकल, ग्यास हिटर र कोइला बालेर सुत्नेदेखि हावा वारपार हुने सबै स्थान थुनेर गिजर खोलेर नुहाउने क्रममा उनीहरुको मृत्यु भएको हो।
परिसरप्रमुख एसएसपी पीताम्बर अधिकारी साँघुरो र खोचजस्तो स्थानमा बनाइएका बाथरुम र भेन्टिलेसनसमेत नभएका साँघुरा कोठामा पर्याप्त अक्सिजन नपुग्दा मृत्यु भएका घटना प्रहरीमा आइरहेको बताउँछन्। उनका अनुसार बाथरुममा ग्यास र विद्युतीय गिजर खतराका सूचक हुन्। कोठामा कोइला, दाउरा र ग्यास बालेर सुत्नु झन् खतरनाक देखिएको छ । नागरिक दैनिकमा खबर छ ।















प्रतिक्रिया