७ कार्तिक २०८३, शनिबार

अकुत सम्पत्तिमा ६३ उच्च कर्मचारीमाथि छानबिन, सबैको बैंक खाता रोक्का(तीनपुस्तेसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला ६३ उच्च पदस्थ कर्मचारीमाथि छानबिन थालेको छ ।

नेपाल सरकारका ६ सचिवसहित विशिष्ट श्रेणीका १५ जना, सात महानिर्देशकसहित प्रथम श्रेणीका २० जना र द्वितीय श्रेणीका २८ जना उच्च पदस्थ कर्मचारीले अकुत सम्पत्ति कमाएको आरोपमा छानबिन थालिएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

एकैपटक यति ठूलो संख्यामा बहालवाला कर्मचारीमाथि अख्तियारले छानबिन थालेको यो पहिलोपटक हो ।

अख्तियारले छानबिनमा परेका सबै कर्मचारीको बैंक खाता तथा लकर रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार अख्तियारको पत्रपछि देशभरका बैंक, फाइनान्स कम्पनी तथा सहकारीमा रहेका सबै खाता र लकर रोक्का गरिएको र गर्ने क्रम जारी रहेको छ ।

अख्तियारले यी सबै ६३ जना कर्मचारीलाई झन्डै एक महिनाअघि अकुत सम्पत्ति कमाएको आरोपमा छानबिनको निर्णय गरेको थियो । निर्णयसँगै अख्तियारले सबैलाई तीनपुस्ते सम्पत्ति विवरण बुझाउन पत्र पठाएको स्रोतले बतायो । अधिकांश उच्च पदस्थ अधिकारीले विवरण बुझाइसकेको स्रोतको भनाइ छ । अख्तियारको पत्र बुझेका केही उच्च प्रशासकले अकुत सम्पत्तिमा आफूमाथि छानबिन थालिएको भन्दै आफन्त तथा निकटका व्यक्तिलाई आवश्यक परे सहयोग गर्न आग्रह गरिसकेका छन् । तर, अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले उच्च पदस्थ कर्मचारीको अकुत सम्पत्ति छानबिनबारे आफूलाई जानकारी नभएको बताए ।

अकुत सम्पत्तिमा यस्तो हुन्छ छानबिन

कुनै व्यक्तिविशेषविरुद्ध उजुरी परेमा वा पदमा रहेर अकुत सम्पत्ति आर्जन गरेको आशंका लागेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा बहालवाला वा सेवानिवृत्त व्यक्तिमाथि अकुत सम्पत्तिमा छानबिन गर्न सक्छ ।

छानबिन थाल्नुअघि अख्तियारले आफ्ना गुप्तचर प्रयोग गरेर सम्बन्धित व्यक्ति वा पदाधिकारीबारे विस्तृत अनुसन्धान गर्छ । यसक्रममा घरपरिवार, नातागोताको गोप्य रूपमा पहिचान हुन्छ ।

आरोपी व्यक्तिको उठबस, परिवारका सदस्य, आफन्त कति विलासी छन् र कुन–कुन क्षेत्रमा लगानी छ भन्नेबारे गोप्य अनुसन्धान हुन्छ । अनुसन्धानमा अकुत सम्पत्ति कमाएर अस्वाभाविक र विलासी जीवन बिताएको देखिएमा अख्तियारले छानबिन अगाडि बढाउँछ ।

यसक्रममा अख्तियारले सम्बन्धित व्यक्तिको विदेशका बैंकमा खाता भए–नभएको अनुसन्धान गर्छ । अख्तियारले छानबिन थालिएका व्यक्तिलाई पत्र काटेर बोलाएर तीनपुस्ते सम्पत्ति विवरणसम्म भर्न लगाउाछ ।

यस क्रममा बैंक खाता र लकर रोक्का गरेर अनुसन्धान थालिन्छ । सम्पत्ति विवरण भर्दा सबै सम्पतिको स्रोत र खर्च विवरण तथा प्रमाणसहितको कागजात पेस गर्नुपर्छ ।

अनुसन्धानको दायरामा परेका व्यक्तिले बुझाएका सबै विवरणबारे अख्तियारले विषयगत विज्ञबाट प्राविधिक रूपमा सूक्ष्म छानबिन गर्ने गर्छ ।

सबै छानबिनका तथ्य, प्रमाण र परीक्षणमा अकुत सम्पत्ति आर्जन गरेको खुलेपछि अख्तियारले अकुत सम्पत्तिमा भ्रष्टाचार मुद्दा दायर गर्छ ।

Sampati Nepali