२९ आश्विन २०८३, बिहिबार

बाबुरामजी ! कम्युनिष्ट हुँदाको ऋण कहिले तिर्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattrai-stage

अन्ततः डा. बाबुराम भट्टराइले बानेश्वर चौकको सात तले घरको सातौं तलामा उभिएर २२ वर्ष पछाडी आफु कम्युनिष्ट नभएको घोषणा गरे । उनलाई लाग्छ, नेपालमा कम्युनिष्टको युग सकियो, त्यसैले कम्युनिष्टको विकल्प भए । तर, कम्युनिष्टको विकल्पमा उनी न कांग्रेस भएँ भन्छन् न राप्रपा, न शाही शक्ति । उनी के हुन् भन्ने कुरा ओपन सेक्रेट भएपनि कम्युनिष्ट राजनीतिको पृष्ठभूमीको रेखा उनले करिश्मा मानन्धरहरुको उपस्थितिमा मेट्टाएको घोषणा गरे । बाबुराम व्यक्तिगत रुपमा उनको हृदयको यात्रामा दौडन पाउँछन् । तर, उनी कम्युनिष्ट हुँदाका २० वर्षसम्म नेपाली समुदायले तिरेको मुल्य, चुकाएको मान्यता, वगाएको रगतको हिसावकिताब कुन लेजरमा राखेर यस्तो घोषणा गरे, अव त्यसको उत्तर चाहिन्छ । कम्युनिष्ट हुँदा उनले बोकेको ऋणको क्षतिपूर्ति उनी गैरकम्युनिष्ट बनिँदिदा पुरा हुँदैन, उनले संगठन खोल्दा पुरा हुन्छ ? उनी अहिले नयाँ श िक्त अभियानमा सक्रिय छन् । उनलाई लाग्छ कम्युनिष्ट बनेर गरेको काम पुरा भयो, अब मुलुकमा कम्युनिष्टको काम छैन । बाबुरामलाई व्यक्तिगत रुपमा लागेका कारणले त्यो देशले पनि मानिदिनुपर्छ । त्यसकारण उनको नयाँ शक्ति अभियान परिषद् पनि सार्वजनिक भएको छ । हर क्षेत्रका मान्छेहरुको भेला पारी ३५ जनाको नाम पहिलो पटक परषद्का रुपमा सार्वजनिक भएको छ । बाबुरामका हरेक दशकमा आउने नयाँ चटक हो की साँच्चै नयाँ शक्ति हो ? विचरणमा छ । त्यसअघि उनले सुरु गरेको राजनीतिक दर्शनका सुरुआती दिनहरु स्मरण गरौं ।

वेपत्ता र रगतमा लतपतिएका ती हज्जारौं परिवारहरुको मुख कसरी थुन्ने ? पोलिरहेको उनीहरुको आत्मामा जल कसरी छर्किने ? त्यहि समाज जहाँ जनयुद्धका नाममा बाबुरामले छाडेका संगिनहरु अझै दुखिरहेका छन्, त्यो समाजमा कसरी फर्किने ?

शेरबहादुर देउवा सरकारलाई ४३ बुँदा बुझाएर कम्युनिष्ट राजनीतिको हिंस्रक मार्गमा हिँडेका तत्कालिन युवक बाबुरामको रामलिला लामो समयसम्म पनि चलिरह्यो । जीवनका एक दशक त उनको रामलिलाका कतिपय पात्रहरुको सकसपूर्ण व्यवाहारको बन्धक मेरै परिवार पनि भएको थियो । त्यो रगतमार्गी कम्युनिष्ट बाटाले बडो चलाखीपूर्ण ढंगबाट उनको नेतृत्वमा गति लिएको थियो । त्यहाँ सपनाहरुको ठूलो बोट रोपिएको थियो । युवाले रोजगारी, जातीय मुक्ति, क्षेत्रीय मुक्ति, वर्गको अधिकार, सत्तासीनहरु शासनविरुद्धको मोर्चा, संविधानसभा र जनताको सर्वाधिक अधिकारसहित, आत्मनिर्णय गर्नसक्ने सत्ताको परिकल्पना । अनि, त्यसपछि हर घरमा रोजगारी, हर व्यक्तिका सौखिन जीवन, विकासका ठूला ठूला योजनाहरु पनि ती सपनाहरुमा गाँसिएका थिए । जनताका छोरा मर्न र मार्नका लागि तयार भए किनभने त्यहाँ सपनाहरुको ठूलो घार लगाइएको थियो, कतिवेला मिठो रस चुहुन्छ र खाइन्छ भन्ने अल्लारे काँधहरु बन्दुकका कुन्दा ठड्याएर हिँड्न आतुर भए ।

Binod-Dhakal
– विनोद ढकाल

त्यसताका बाबुराम पनि युवा थिए, उमेरले । उनको राजनीतिक मार्गचित्र निक्कै कठोर विकासको महत्वकांक्षी यात्रा थियो भनेर मान्नेहरुले बन्दुकलाई झिनो ठानिदिए र मृत्युलाई काखमा च्यापेर हिँड्न तयार भए । उनको संगठन झाँगिदै जाँदा युवाहरु त्यतैतिर कस्सिए । स्वभाविक थियो, राजनीतिमा उराठ लागिरहेका बेला नयाँ आशा र सपनाका घार जता जता छन्, कलिला र रसीला यौवनहरु त्यतै लम्किन्छन् । जसरी, अहिले जीवन खोज्दै यौवनाहरु खाडी, युरोप र अमेरिकातिर लठ्ठीएका छन् । सहरमा राजनीतिक रुपमा जुन अवस्था थियो, गाउँमा अर्कै थियो । उनको राजनीतिक दलका रुपमा स्थापित तत्कालिन माओवादीले गाउँ कव्जा गरिसकेको थियो । समय वित्दै गए, यीनै बाबुराम वार्ताका लागि पटक पटक काठमाडौंमा देखिए, दिल्लिमा पुगे । नेपाली जनताको आन्दोलनका कारण लोकतन्त्र पुनस्थापित पछि, बाबुरामहरु खुला स्पर्धामा आए । पहिलो संविधानसभाको निर्वाचनमा अत्यधिक मत ल्याउने यीनै बाबुराम बहुत लोकप्रिय थिए । माओवादी सरकारमा आयोग, गयो । यो क्रम चलिरहँदा बाबुरामको पनि प्रधानमन्त्री हुने पालो आयो । उनी ३५ नम्बर प्रधानमन्त्रीमा निर्वाचित भए । मिडियामा खपिनसक्नु प्रचार पाए । तर, सत्ता बडो स्वार्थ भरिएको कुर्सी हो, उनले प्रधानमन्त्री पद छाड्नुपर्छ भनी झन्डै बहुमतमा रहेको पार्टी नै सिध्याउनेगरी संविधानसभा नै विघटन गरीदिए । यसपछिको बाबुरामको कथा दुनियाँलाई थाहा छ । पार्टीभित्रको झगडा, बाहिरको प्रचारात्मक अभियान । मान्छेका जीवनमा धेरै उतारचढाव हुन्छ । बाबुराम पनि मान्छे हुन्, उनका व्यक्तिगत जीवनका उतारचढाव स्वभाविक हुन् । तर, उनको व्यक्तिगत जीवनको व्यवाधानहरुले नेपाली जनता, नेपाली युवा, नेपाली भविष्य बन्दि बन्न हुँदैन । उनको व्यक्तिगत महत्वकांक्षाको बन्दि नेपाली जनता किन बन्ने ? चाहे जे सुकैको नाममा होस् ।

जीन्दगीमा पाउनुपर्ने सवै पाएर पनि जनतालाई गरिब बनाउने यीनै बाबुरामका मार्गमा हिँड्नेहरुलाई मेरो प्रश्न छ, के छ यो अभियानमा ? यसको दिर्घकालिन मार्गचित्र के हो ? कि यो बाबुराममार्गी हुने भ्रमको जालोभित्र जबरजस्त विलापयात्रा हो ? कि स्पेसको खोजी हो ?

नयाँ शक्तिका केही तत्कालिक योजनाबारे बाबुराम भनिरहेका थिए, अब आर्थिक युग सुरु भयो । नयाँ शक्ति अभियानले पार्टीको रुप लिनेछ र आर्थिक एजेन्डालाई प्राथमिकतामा राख्नेछ । कस्तो प्रकारको आर्थिक एजेन्डा हो ? नेपालका हर राजनीतिक दलहरु आर्थिक पारदर्शिताका हिसावले कमजोर छन्, बाबुराम पारदर्शी दलको परिकल्पना गरिरहेका छन् की सरकारी योजनाभन्दा ठूलो उनको लक्ष्य छ ? राजनीतिक दल खोल्ने, राजनीति गर्न पाउने, संगठन बनाउन पाउने अधिकार संविधानले दिएको छ । तर, समाज यस्तो ठूलो मुलुकी ऐन हो की त्यहाँ संविधान भन्दा पनि नैतिकता बलवान हुन्छ । २० हजार जनताका छोराको रगतमाथि कम्युनिष्टका नाममा होली खेल्ने, ५० हजारलाई घरबारविहीन बनाउने र सयौंलाई वेपत्ता बनाउने राजनीतिक पृष्ठभूमी, मुलुकलाई रणसंग्राम बनाएर अहिले म कम्युनिष्ट होइन, म समाजवादी, म नयाँ शक्ति भन्ने आँट कसरी आयो बाबुरामलाई ? जीवनका उर्जाशिल समयमा जनताका छोराको पसिनाको कदर गर्नुको साटो रगतको रंगोली बन्दुकका नालबाट बनाएर, बुढेसकालको पेन्सन आउने बाटो पहिल्याएका त हैनन् बाबुरामले ? सस्तो लोकप्रियतामा हुर्किएको समाज, त्यहि समाजले निर्धारण गरेकोे राजनीति अनि राजनीतिमा कुण्ठित भएपछिको वैकल्पिक दलदल त होइन कथित नयाँ शक्ति अभियान ? जो संविधान बनाउँछ र संविधान जलाउनका लागि देश दौडाहामा हिँड्छ । जो रगतको मुल्य तोक्छ र रगत चुहाउनका लागि अभ्यस्त भएर शक्तिको प्रयोग गर्छ । जो सत्ता टिकाउनका लागि ६० वर्षको योगदानले जन्माएको भविष्यको तिलाञ्जली दिन्छ । जो, पदका लागि भनेर बाह्रैमास लडाई झगडा गरिरहन्छ । त्यसले ल्याएको मुलुक बनाउने रोडम्यापको के अर्थ हुन्छ ? जो प्रधानमन्त्री जस्तो शक्तिशाली पदमा रहेर पनि मुलुकको आर्थिक विकासको सामान्य योजनासम्म ल्याउन सक्तैन, कार्यान्वयनका सवालमा फिटिक्कै पाइलो चाल्दैन, त्यस व्यक्ति र पार्टीले बनाउने आर्थिक योजनाको खाका कति बलियो हुन्छ ? जनतालाई ललीपोप देखाउनेगरी आएका योजनाहरु कार्यान्वयन हुन् शुभकामना छ । तर, वेपत्ता र रगतमा लतपतिएका ती हज्जारौं परिवारहरुको मुख कसरी थुन्ने ? पोलिरहेको उनीहरुको आत्मामा जल कसरी छर्किने ? त्यहि समाज जहाँ जनयुद्धका नाममा बाबुरामले छाडेका संगिनहरु अझै दुखिरहेका छन्, त्यो समाजमा कसरी फर्किने ?
देखियो, बाबुरामको परिषदभित्र केही प्रहरी, केही समाजसेवी र केही उद्योगीहरुको पनि सहभागीता रहेछ । केही कलाकारहरुको पनि भुमीका रहेछ । निमुखा, भोका, नांगा र गरिबहरुको उपस्थिति देखिएन । केही एनजिओ मास्टरहरु, लेखकहरुको जमात पनि त्यहाँ पुगेको नाम पढियो । नयाँ शक्ति अभियान भनेकै यही संभ्रान्त उपल्लो वर्गहरुको घेराभित्रको अपवाद हुने रहेछ भन्ने पनि बुझियो । जे होस् तर बाबुरामले अहिले म कम्युनिष्ट होइन भनिरहँदा कम्युनिष्ट भएर २० वर्षसम्म मुलुकलाई बन्दि बनाएको हर्जाना तिर्नुपर्छ । बानेश्वरको विल्डिंगमा सुकिलामुकिला भेला पारेर भाषण तिर्दा हर्जाना भरिँदैन, बाबुराम कम्युनिष्ट बनेकै कारणले डुवेको मुलुक, भत्किएको समाज, छत हराएको परिवार, छोरो गुमाएका बुढाबुढी आमाबाबुको आँसुको हर्जाना के हुन्छ ? यो उनले तिर्नुपर्छ अन्यथा उनलाई संविधानले दिएको अधिकारका आधारमा दल बनाउने छुट छ, नैतिकताले कुनै अधिकार दिँदैन । इतिहाँसले मुलुक बनाउनका लागि पटक पटक दिएका अवसरमा बाबुराम कमजोर सावित भइसकेका छन् । उनलाई अर्थमन्त्री, प्रधानमन्त्रीदेखि संविधानसभाको संवैधानिक सभापतिसम्मको जिम्मेबारी दियो तर उनी त्यसैमा पनि कमजोर सावित भए । अहिले उनले फरक वर्गको घेराभित्रको नयाँ शक्ति अभियानको फरक हल्ला सुरु गरेका छन्, यसमा पनि उनी नयाँ अरविन्द केजरीवाल हुने सपना बुनिरहेका होलान् तर यो समाज अलिक फरक छ ।

यसर्थ, यो अभियानमा समाहित भएकाहरुसँग कुनै गुनासो गर्नुपर्ने ठाउँ छैन । हात उठाएर म पनि अभियानमा लागें भन्न सहज छ तर त्यसले निम्त्याउने सकसहरु, त्यसमा गर्नुपर्ने योगदानहरु र इतिहाँसले मुल्यांकन गर्ने आधारहरुको विश्लेषण गर्नसक्ने क्षमतावानहरुको पनि परिक्षा होला एक पटक । जीवनको एक तिहाई समय दुनियाँलाई गाली गरेर विताउँदाका क्षणहरु विद्वानहरुले सम्झन सकुन् । दुनियाँको गाली र ताली पाएर जीवनको फरक समय विताएका कलाकारहरुले गहन रुपमा सोचुन् । राजनीति र परिवर्तन सामान्य चीज होइन । बाबुरामले खनेको खाल्डोको आकार अहिले मुलुकले भोगीरहेको छ । उनले स्थापित गरेको दलदलभित्र मुलुकको वर्तमान हामी भोगीरहेका छौं, भविष्य कस्तो हुने हो, कल्पनासाध्य छैन । अनुमानमात्र गर्दापनि अहिलेको समयमा मुलुक वेरोजगारहरुको कारखाना, युवा उत्पादन गर्ने कारखाना, विकासशुन्य, भ्रष्टाचारयुक्त र मानवतामुक्त हुँदा भविष्य कस्तो होला ? अहिलेको मानव सकस बाबुरामले निम्त्याएको सकस हो, भोलीका दिनमा उनले मुलुकको हितका लागि काम गर्ने भनेर नाममात्रको नयाँ शक्ति अभियान भनेका हुन् की जीवनभर व्याज खाने नयाँ कम्पनी खोलेका हुन् ? जीन्दगीमा पाउनुपर्ने सवै पाएर पनि जनतालाई गरिब बनाउने यीनै बाबुरामका मार्गमा हिँड्नेहरुलाई मेरो प्रश्न छ, के छ यो अभियानमा ? यसको दिर्घकालिन मार्गचित्र के हो ? कि यो बाबुराममार्गी हुने भ्रमको जालोभित्र जबरजस्त विलापयात्रा हो ? कि स्पेसको खोजी हो ? युवारज घिमिरे दाइको एउटा लेखको शिर्षकबाट विट मार्छु, नेपालका राजनीतिक दलहरु प्राइभेट लिमिटेड जस्ता छन् । यसर्थ, नयाँ शक्ति अभियान प्रालि बन्ने हो की सामाजिक उत्तरदायित्वको भण्डार ? यो जवाफका लागि होइन, व्यवाहारिक रुपमा प्रष्टिनुपर्छ ।