
नयाँ दिल्ली, ९ माघ । भारतमा यही जनवरी २६ मा आयोजना गरिने गणतन्त्र दिवसको विशेष कार्यक्रममा आक्रमण हुनसक्ने आशङ्कामा सुरक्षा व्यवस्था कडा पारिएको समाचार छ ।
भारतमा जनवरी २६ मा पर्ने गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने गरिन्छ । सोही समारोहलाई लक्ष्यगरी सुरक्षामा कडाई गरिएको हो ।
सो समारोहमा सहभागी हुन आउने विदेशी व्यक्तित्व एवम् देशका प्रमुख व्यक्तिहरुको सहभागितालाई मध्यनजर गरी विशेष सुरक्षा व्यवस्था अपनाउने गरिन्छ ।
सोही कारणले पनि नयाँ दिल्लीलगायत विभिन्न प्रमुख सहरमा सुरक्षा व्यवस्था कडा पारिएको बताइएको समाचारमा उल्लेख छ ।
राष्ट्रिय अनुसन्धान निकाय, नेसनल इन्भेस्टिगेसन एजेन्सीले देशव्यापी रुपमा सुरक्षाको कडा प्रबन्ध गरेको जनाएको हो ।
देशमा प्रजातान्त्रिक संविधान जारी भएपछि सन् १९५० देखि भारतले गणतन्त्र दिवस मनाउन थालेको हो ।
उक्त निकायका प्रवक्ता एसके सिंहले भन्नुभयो– हाम्रो कारबाही अभियान सशक्त रुपमा अघि बढिरहेको छ र यस अनुसन्धानका क्रममा देशव्यापी रुपमा कैयौँ सङ्कास्पद व्यक्ति पक्राउ परेका छन् ।
फ्रान्सेली राष्ट्रपतिको भारत भ्रमण
यसैबीच फ्रान्सका राष्ट्रपति फासाँ अल्याण्ड भारतको तीनदिने भ्रमणका लागि आउँदै हुनुहुन्छ । उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा फ्रान्सका राष्ट्रपति फासाँ अल्याण्ड हुनुहुन्छ ।
उहाँको भ्रमणको अन्तिम दिन सो दिवसको कार्यक्रम आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा उहाँलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । सो निकायले आईएसका करिब १४ जना सङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ ।
फ्रान्सको राजधानी पेरिसमा दुई महिनामात्र अघि भएको यस्तै आत्मघाती आक्रमणमा परी दर्जनौँ व्यक्तिको ज्यान गएको थियो । रासस/एएफपी















प्रतिक्रिया