२९ आश्विन २०८३, बिहिबार

तिमी मेरो ब्वाईफ्रेन्ड जस्तै छौ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prashant Pic– प्रशान्त

‘अहिले सम्म सुतिरहेको ?’

बिहान मलाई फोन गर्न भनेकी उसले म नउठ्दै आफैं फोन गरी ।

‘आफूचै ब्युँझिसेको ?’ मैले पनि प्रतिप्रश्न गरे ।

‘हो, अनि कतिबेला निस्कने । लञ्चसँगै गरौं भन्नलाई फोन गरेकी ।’

‘भै हाल्छ नी ।’

‘ओ के, त्यसो भए छिटो निस्कनु है त,’ उसले फोन राखी ।

मेरो मनमा भने अनेक कुराहरु खेल्न थाले । मेट्रो स्टेशनको अपत्यारिलो भेट, हरिद्वारसम्म उसँगको यात्रा र सँगै लन्च गर्ने उसको निम्तो । मैले पूर्णरुपले पत्याउन नसकिने किसिमका घटना थिए ।

oooooooooooooooooooo

‘कस्तो ढिलो गरेको ?’ भेट्ने भनिएको चन्डीघाट चोकमा पुग्दा उ परबाटै कराउँदै आई । खैरो रंगको पाइन्ट, रातो टिसर्ट, ओठमा सुहाउने गरी रातो लाली र आँखामा गगल्स । एकदम सुहाएको थियो उसलाई त्यो ड्रेसअप ।

म मुस्कुराए मात्र ।

‘तिमी त अल्छी रहेछौं’ हिजोसम्म औपचारिक सम्मान निभाइरहेकी उ आज सिधै तिमीमा आइसकेकी थिई ।

‘होला’ उसले अल्छीभन्दा म नर्भस भएको थिए ।

‘विहान ८ बज्दा पनि ओछ्यान छाड्न नमान्ने ?’ उसले मलाई जिस्काउँदै भनि ।

नेपाली टाइम सेटिङ भएको मेरो घडीमा बिहानको ९ः३० बजेको थियो । ‘अनि यति छिटै खाना खाइहाल्ने हो र ?’ मेलै उसलाई सोधे ।

‘हैन अहिले त अरु नै काम छ,’ उसले आँखाको गगल्स निधारामा सार्दै भनि ।

‘के काम ?’

‘आज एउटा राम्रो ठाउँ घुमाउन लैजान्छु । सायद तिमी गएका छैनौ ।’

‘कुन ठाउँ ?’

‘चन्डीदेवी टेम्पल !’

oooooooooooooooooooo

दुई जनाकै लागि केबलकारको टिकट उसैले काटेर ल्याई ।

‘आप दोनुँ एकी साथ बैठोगे ?’ केबलकार स्टेशनका कर्मचारीले सोधे ।

उसले टाउको हल्लाएर होको संकेत दिई । खासमा उसले मलाई कुनै कुरामा चान्सनै दिएकी थिईन् । सप्पै कुरामा आफैं अगाडि सर्ने । बोल्ने देखि हिँड्नेसम्म ।

‘आउ बस,’ दुई तर्फी बस्न मिल्ने केबलकारको डब्बाको एक साइडमा बसेर उसले आफुसँगै मलाई बस्न भनि । म आज्ञाकारी बच्चा जस्तै उसको छेउमै गएर बसे । त्यो डब्बामा अरु दुई जना महिला र पुरुष थिए । हातमा अगरबत्ती र पूजा सामग्री लिएका । हाम्रो अगाडि तिरको साइडमा । सायद श्रीमान श्रीमती होलान् ।

‘गुँररररररर……’ केबलकार अगाडि बढ्यो । केबलकारको डब्बाले आफ्नो गति बडाउँदै लग्यो । तल हेर्दा जंगल देखिन्थ्यो । बायाँतिर हरिद्वारको दृश्य ।

‘तल नहेर डर लाग्ला’ मैले यताउती हेर्दा उसले सम्झाई ।

‘म पुरुष हुँ । केटीहरुको भन्दा बलियो मुटु हुन्छ ।’ मैले उसँग अलि जिस्किएर भने ।

‘तिमी साह्रै इनोसेन्ट छौ,’ एकछिनको मौनता तोड्दै उसले भनि ।

म केहि बोलिन् । मुस्कुराए मात्र । उसका धेरै जसो कुराको जवाफका लागि म मुस्कुराउँथे मात्र । खासमा केटिसँग कस्तो व्यवहार गर्ने मलाई थाहा नै थिएन् । त्यसैले पनि उसले इनोसेन्ट भनेकी होली ।

‘तिमी काम के गछौं ?’ फेरि पनि उ नै बोली ।

‘पत्रकार’ मैले जे गर्थे त्यहि भने ।

‘होर, त्यसो भएत हाम्रो एउटै फिल्ड पर्यो त,’ उसले मुस्कुराउँदै भनि ।

‘मतलब ?’

‘म पनि जर्नालिज्ममा मास्टर्स गर्दै छु । दिल्ली युनिभर्सिटीबाट ।’

‘अनि काम नि ?’

‘काम त गरेको छैन । ब्याचलरमा इन्टर्न गरेकी थिएँ । बस्, त्यत्ति हो ।’

‘ए हो’

मेरो चाहाना उसँगको कुरा भन्दा पनि वरपरको वातावरण हेरेर सकेजति आनन्द लिने थियो ।

‘तर, तिम्रो अनुहार हेर्दा काम गर्छौ जस्तो लाग्दैन त,’ उसले मेरो मुखमा हेर्दै भनि ।

‘किन काम गर्नेको अनुहार बेग्लै हुन्छ र ?’ मैले सोधे ।

‘मतलब तिमी वाउको सम्पतिमा मोज गर्ने जस्तो देखिन्छौं ।’

उसको कुराले मेरो पारो तातेको थियो । तर सम्हालिँदै भने, ‘कसैको अनुहार हेरेर मुल्याङ्कन गर्नु न्यासँगत हुँदैन । वास्तविक कुरो फरक पनि हुन सक्छ ।’

‘क्या बात,’ उ खितखिताई ।

oooooooooooooooooooo

मन्दिर पुगेपछि उ ढोकाका अगाडि दुई हात जोडर पार्थना गर्न लागि । उसलाई साथ दिन मैले पनि एक छिन हात जोडेर उभिदिए ।

तर, उसको पार्थना लामो हुँदै गयो । मुख मुखै के के भन्दै थिई । बाहिर आवाज सुनिए मरिजानु । उसले चाल नपाउने गरि म पार्थना छाडेर निस्किए । मन्दिर वरपरको वातावरण हेर्न ।

‘कता गएको मलाई छोडेर,’ मन्दिर पछाडी टहलिरहेको मैले झस्किने गरि हात समातेर उसले भनि ।

‘हैन यसो मन्दिर हेर्न आएको ।’

‘मन्दिरको पछाडि पनि हेर्छन ? अगाडि पो हेर्ने त,’ उसले मेरो हात तानी र मन्दिरको अगाडी लगि ।

‘देवी माँका आशीर्वाद सदा तुम्हारा साथ रहेगा,’ मन्दिरको पूजारीले निधारमा टिका लगाईदिँदै भन्यो ।

उसले पूजारीको थालमा भारु. ५० को नोट राखि । अनि दान बक्समा पनि पैसा हाली । कति हाली मलाई थाहा भएन ।

‘आज म धेरै खुसी छु’ मन्दिरको सीँढीबाट ओर्लिदा उसले भनी ।

‘विशेष ?’

‘यो मन्दिरमा पूजा गर्ने मेरो चाहाना आज पुरा भएको छ । म यहीँ पूजा गर्न आएकी हुँ खासमा ।’ आफ्नो हरिद्वार आउनुको रहश्य खोली उसले ।

oooooooooooooooooooo

‘तिमी साह्रौ लजाउँछौं पनि !’ खाना खाएर रेष्टुरेन्टबाट निस्कदा उसले भनि ।

‘त्यस्तो केहि हैन,’ मैले उसको कुराको प्रतिकार गर्न खोजे ।

‘अनि खाना किन कम खाएको त ?’

‘धेरै खाने बानी छैन ।’

‘मसँग लाज मानेर भन न,’ उ मुस्कुराई ।

‘हेलो,’ ह्यान्ड ब्यागको खल्तीबाट मोवाईल निकालेर कसैसँग कुरा गर्न लागि ।

म भने सोच्दै अचम्मित हुँदै थिए । उसको व्यवहार र कुरा गर्ने स्टाइल । अनि एक दिनमै बाल्यकालका साथी जस्तै व्यवहार गर्ने उसको शैली । वास्तवमै यी सहजै बुझ्न सकिने खालका घटना थिएनन् । दिल्लीको मेट्रो स्टेशनमा भेटीएकी यो इन्डीयन नेपाली केटी मलाई अझ बढी रहस्यमयी लाग्दै थिई ।

‘के सोच्दै बसेको ?’ उसको आवाजले मेरो ध्यान भंग भयो ।

‘त्यत्तिकै ।’

‘थकाई लाग्यो । एकछिन् रेष्ट गरौं है ।’

उसले रेष्ट गर्न गंगा नदीको किनार लगी । नदी किनारमा भेटीमा चढाईएका सिक्का टिप्ने साना बालकहरु थिए । डोरीमा बाँधेको चुम्वक नदीमा फालेर उनीहरु सिक्का टिप्दै थिए । सानै भएपनि उनीहरुको सिक्का टिप्ने कला भने गजबको थियो ।

‘मैले मेट्रो स्टेशनमा किन तिम्रो हात समातेको था छ ?’ साउती स्वरमा मेरो कान नजिकै मुख ल्याएर उसले भनि ।

‘थाहा छैन, किन हो ?’ उत्सुक भएर मैले सोधे ।

‘किनकी तिमी मेरो ब्वाईफ्रेन्ड जस्तै देखिन्छौ !’

‘के भनेको ?’ उसको कुराले म आश्चर्यमा परे । उसको ब्वाईफ्रेन्ड हुनुमा मेरो अपत्ती थिएन् । तर म उसको ब्वाईफ्रेन्ड जस्तो देखिन्छु !

उसको कुरा बुझिसक्नु थिएन् ।

‘मतलब, तिमी र मेरो ब्वाईफ्रेन्डको अनुहार, गेटअप, फिगर सेम देखिन्छ भनेको ।’

प्राय उसका कुराको जवाफ स्वरुप म मुस्कुराइ दिन्थे । तर उसको यो कुराले मैले मुस्कुराउन पनि सकिन् ।

‘तर, उसँग मेरो ब्रेकअफ भैसक्यो । दुवैजनाको सल्लाहमै ब्रेकअफ भएको ।’ निधार अगाडिको कपाल साइड लगाउँदै उसले भनी ।
‘अनी मेट्रो स्टेशनमा मेरो हात समात्नुको कारण चै ?’

‘पछाडीबाट हेर्दा तिमी प्रभाश जस्तै देखियौ । मतलब मेरो भूपु ब्वाईफ्रेन्ड जस्तै,’ उसले मेरो अनुहारमा हेरेर भनी, ‘ब्रेकअफ भएपनि हामी एकअर्काको असल साथी जस्तै छौं । ऊ नै सोचेर मैले तिम्रो हात समोतेको । अनुहारमा हेर्दा तिम्रो दाह्री देखेपछि मात्र ऊ हैन भन्ने लाग्यो ।’

उसको कुराले म अप्ठेरोमा परे जस्तो फिल भइरहेको थियो । ‘अनि ब्रेकअफ चै किन भयो नि ?’ के सोध्ने के नसोध्नेकाबीच मैले सोधे ।

‘उसको बानी मन नपरेर नी,’ उसले मेरो मुखबाट नजर हटाएर भनि, ‘रक्सी खाएर मलाई धेरै गाली गर्ने । कतिदिन त मेरो कोठामै आएर पिट्यो पनि ।’

oooooooooooooooooooo

‘भोलीको प्लान के छ ?’ साँझ छुट्टीने बेला उसले सोधी ।

‘अलिकति काम छ बिहान तिर । दिउँसो फ्रि हो,’ उसको मुखमा हेर्दै मैले भने ।

‘ओ के फ्रि भएपछि कल गर है,’ उसले पनि मेरो मुखमा हेर्दै भनी ।

छुट्टिनका लागि पनि हामी बिहान भेटिएकै ठाउँ चन्डिघाट चोकमा पुगेका थियौं । उसले होटल लिएकी थिई सायद । म मेरो भाईले बस्ने होस्टेल बस्थे । होस्टेल रहेको स्यामपुर पुग्न अटोमा तीन किलोमिटरको यात्रा गर्नु पथ्र्यो मैले । उसँग विदा मागेर म अटो लिन अगाडी बढे ।

‘प्रशान्त……….’

उसले पछाडिबाट मेरो हात तानी र गल्र्याम्म अंगालो हाली ।

यो के गरेकी !

रिक्सावालाहरु रोकिएर हामीलाई हेरिहेका थिए । भीडभाड भएको चोकमै उसले अंगालो हाल्दा मलाई लाज बढी लाग्यो । अरु अनुभव गर्न नै सकिएन् ।

एकछिन पछि उ सम्हालिदै अंगालोबाट छुटि र ‘बाई……….’ भनेर आफ्नो बाटो लागि ।

छुट्टिएर जाँदा उसलाई रोक्न मन लागेको थियो । तर हिम्मत आएन् ।

के के गुमाएर जस्तो । एक्लो एक्लो भए जस्तो । एक प्रकारको छटपटी भयो उसले जाँदा । एकछिन पछि उ देखिन पनि छाडि ।

नजिकैको खोकाबाट किनेको गोल्डफ्लेक्स चुरोट सल्काएर म श्यामपुरका लागि अटो चढे । सडक छेउका युवती देख्दा झस्किन्थे ।

भर्खरै छुट्टिएकी आशया जस्तै लाग्ने उनीहरु सबै ।

कतिबेला ‘प्रशान्त……..’ भनेर बोलाउँदै अटो रोकाउँछन् र गल्र्याम्म अँगालो हाल्छन् …………………….

प्रशान्तको मेट्रोस्टेशनकी केटी को दोस्रो भाग ।