
पाँचथर, ७ । ओयाम–१ फाक्लुङका चौधमहिने बालकलाई बोक्सी लागेको भन्दै झाँक्रीले तेह्र दिनअघि फाली र ढुङ्गा तताएर डामेपछि बालकको उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ ।
घाइते बालकको अवस्था गम्भीर भएपछि उपचारका लागि आज जिल्ला अस्पताल ल्याइएको उनकी आमा उर्मिला राईले बताउनुभयो ।
झाँक्री सुकबहादुर राईलाई पनि प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल पाँचथरका डा मनोज नेपालीले बच्चाको अवस्था गम्भीर रहेको बताउँदै अझै एक हप्तासम्म अस्पतालमै राखेर उपचार गराउनुपर्ने बताउनुभयो ।
बच्चाको जिल्ला अस्पताल पाँचथरमा रहेको एकद्वार सङ्कट ब्यवस्थापन केन्द्रले निःशुल्क उपचार गर्ने जनाएको छ । अस्पतालमा उपचार सम्भव नभएर अन्यन्त्र जाँदा समेत भाडा खर्चको व्यवस्था गरिदिने केन्द्रले जनाएको छ ।
झाडापखाला लागेर बिरामी भएका बालकलाई बिझुवा लागेको भन्दै झाँक्रीले डामेका थिए । स्थानीयवासी सुकबहादर र तिलबहादुर राईले बच्चालाई निको पार्ने भन्दै झारफुक गरी फलामको फाली र ढुङ्गा तताएर डामेका थिए । रासस












प्रतिक्रिया