७ कार्तिक २०८३, शनिबार

बबरमहलमा थन्किएका गुन्डानाइके गोप्य गतिविधिमा सक्रिय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 दीपक मनाङ्गे
दीपक मनाङ्गे

काठमाडौं, ७ माघ । कथित ‘डन’ अर्थात गुन्डा नाइके दीपक मनाङ्गे र अभिषेक गिरीका विषयमा तपाईलाई चासो लाग्न सक्छ, उनीहरू कता हराएका छन् भनेर । चिन्ता गर्नु पर्दैन उनीहरूलाई आजकाल काठमाडौंको बबरमहलस्थित विशेष अदालततिर बाक्लै भेट्न पाइन्छ ।

कुनै समय राजधानीमा ‘डन’ अर्थात गुन्डा नाइकेको नामले चर्चित मनाङ्गे विशेष अदालतमा तारिख लिंदालिंदै हत्तु भएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

अबैध रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा पक्राउ परेर मुद्दा खेप्दै आएका मनाङ्गेले सोही अभियोगमा मुद्दा झेलिरहेका छन् । उनी प्रत्येक महिना विशेष अदालत धाउने गर्छन् ।

मनाङ्गेले सम्पत्ति सुद्दीकरण मुद्दामा माघ ४ गते विशेष अदालतमा तारिख बुझेका छन् । उनको मुद्दा विशेष अदालतका न्यायाधीश महेशप्रसाद पुडासैनीको इजलासमा परेको थियो ।

अकुत सम्पत्ति कमाएको अभियोग लागेका मनाङ्गेविरुद्ध सम्पत्ति सुद्दीकरण विभागले २०७० जेठ ५ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

धरौटीमा रिहा भएका मनाङ्गेले आफ्नो सम्पत्ति आफू खुसी चलाउन पाउँदैनन् । धम्काएर, चन्दा असुलेर, टेन्डरका नाममा रकम लिएर, अपहरण, फिरौती आदिबाट मनाङ्गेले अकुत सम्पत्ति कमाएको आरोप छ ।

करोडौंको सम्पत्तिको स्रोत देखाउन नसकेपछि मनाङ्गेविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । उनको केही अवैध सम्पत्ति भने उमेश लामाको नाममा रहेको छ ।

अभिषेक गिरी
अभिषेक गिरी

यसैबीच, विराटनगरतिरका गुन्डा नाइके अभिषेक गिरी पनि सोही मुद्दामा आजकाल विशेष अदालततिरै भेटिने गर्छन् ।

माघ ५ गते अभिषेक गिरीले पनि अकुत सम्पत्ति कमाएको अभियोगमा सम्पत्ति सुद्दीकरण विभागले दर्ता गराएको मुद्दाको तारिख लिएका छन् ।

उनको मुद्दा न्यायाधीश पवनकुमार शर्माको इजलाशमा परेको थियो । विराटनगरमा अभिषेशले आतंक मच्चाएको आरोप छ ।

उनले राजधानीमा पनि आफ्ना क्रियाकलापलाई जारी राखेको प्रहरीको भनाइ छ ।मनाङ्गे र गिरीले आफ्ना गतिविधिहरूलाई जारी राख्ने गरेको प्रहरीसँग सूचना छ ।

उनीहरूले आफ्ना गतिविधिलाई सकेसम्म आफू संलग्न नभइ नेटवर्कमार्फत काम गर्दै आइरहेका छन् । मुद्दा खेपिरहेका कारण अन्य अभियोग लागेर असर पर्ने डरर्ले उनीहरूले गोप्य रुपमा आफ्ना अवैध क्रियाकलाप गर्दै आइरहेका छन् ।