
चितवन, ५ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आफू वैचारिक अभियानमा लागेकोले विचार संयोजन नभए सभापतिमा उम्मेदवारी दिने संकेत गर्नुभएको छ ।
रिपोर्टर्स क्लव नेपाल, चितवन शाखाले आज (बुधबार) नारायणगढमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता केसीले आसन्नन १३ औं महाधिवेशनमा सबैसंग विचार संयोजनगरि महामन्त्री लड्ने र त्यो नभए वैचारिक अभियानलाई नै अघि बढाउँदै नेतृत्व लिन तयार रहेको बताउनुभयो ।
उहाँले आफू सधै पार्टीको संस्थागत विकासका लागि अघि बढ्दै आईरहेको भन्दै अब नेतृत्व लिन अघि बढेको बताउनुभयो । १८ वर्षसम्म सदस्य रहँदै आईरहेको स्मरण गराउँदै नेता केसीले अब आफू लड्ने दुई पद महामन्त्री र सभापति मात्रै भएको जिकिर गर्नुभयो । “१८ वर्षसम्म सदस्य भए, कोषाध्यक्ष पनि भईसकेको छु, फेरी सदस्य भईरहने मेरो चाहना छैन” नेता केसीले भन्नुभयो “अब सभापति या महामन्त्रीमा अघि बढ्छु ।”
नेता केसीले आफू कुनै गुट उपगुटको नभई शतप्रतिशत काँग्रेस मात्रै रहेको स्पष्ट पार्नुभयो । “कोही ६० र कोही ४० काँग्रेस भन्दैछन्, म चाही सय काँग्रेस हुँ, विचार लिएर अघि बढ्छु”–नेता केसीले भन्नुभयो । उहाँले दुवै पक्षमा राम्रा व्यक्तिहरु भएकाले सबैलाई मिलाएर पार्टीलाई संस्थागत रुपमा अघि बढाउन बेला आएको बताउनुभयो ।
उहाँले पार्टीमा वैचारिक विविधता भएपनि निर्वाचनमा मत विभाजन हुन दिनुपर्ने तर मन विभाजन भने हुन दिन नहुने धारणा राख्नुभयो ।
यस्तै महाधिवेशनबाट विधान शंशोधनगरि पदको संख्या बढाउने पर्ने भन्ने विषयमा बोल्दै उहाँले अब अनावश्यक रुपमा पार्टीमा नेतृत्वको बोझ बढाउन नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो–“उपसभापति र सहमहामन्त्रीमा पनि बरु निर्वाचन गराउनुपर्छ, निर्वाचनबाट आएको व्यक्तिबढि जिम्मेवार बोध, पारदर्शी र कार्यकर्तामुखी पनि हुन्छ, भागबण्डा र अंशबण्डाको म पूर्ण विरोधी हुँ त्यो गर्नुहुँदैन ।” साक्षात्कार कार्यक्रम रिपोर्टर्स क्लव चितवनका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा भएको हो ।












प्रतिक्रिया