
‘बधाई छ, अरुणा जी ! वर्षउत्कृष्ट पत्रकार बनेकोमा ।’
अरुणाको एकाग्रता भंग हुन्छ । अगाडि साहित्यकार सरिता योगी थिइन । सरिताले बधाई दिएपछि अरुणाले ‘धन्यवाद’ भनेर प्रतिउत्तर दिन्छिन् ।
‘अरुणाजीको मिजासिलो स्वभाव देखेको थिए । आज रिस पनि देख्न पाइयो ।’
‘माफ गर्नुहोला । हजुरसंँग रिसाएको होइन । मनमा के भयो–भयो, आफ्सेआफ झर्किएँ ।’
‘म कुनै पनि कुरालाई नकारात्मकरुपमा लिदैंन । हरेक कुराबाट शिक्षा लिनुपर्छ भन्ने मान्यता मेरो छ । तपाईको झर्काइबाट पनि धेरै कुरा सिकेको छु । मलाई लाग्छ, आफ्नो गृहजिल्ला दाङ, नायिका नम्रता श्रेष्ठ र लेखक बसन्त मध्ये एकजनासंँग तपाईको गहिरो असन्तुष्टि छ । यस्तै अनुभूति गरे मैले– ‘सरिता मधुर मुस्कान छर्दै बोल्छिन् । उनको कुरा सुनेर अरुणा आफूलाई सम्हाल्दै बोल्न थाल्छिन्–‘त्यस्तो केही होइन । कसैसंँग केही छैन । अन्य कुनै कारणले गर्दा म झर्किएकी हुँ ।’
अरुणाका एक–एक हाउभाउ, अनि बोल्दा मुहारको झलक सरिताले मनमा उतारिरहेकी थिइन् । उनलाई अरुणाको विषयमा धेरै कुरा जान्न मन लागेको थियो । तर अरुणाले आफै सबै कुरा नभन्दासम्म थाहा पाउने सम्भावना पनि थिएन ।
‘अरुणा जी ! नरिसाउनु होला । एउटा कुरा सोधु ?’
‘सोध्नु होस् ।’
‘मलाई लाग्छ, तपाईले आफ्नो मनमा ठूलै रहस्य वर्षौ देखि लुकाउनु भएको छ । साहित्यकार हुँ । मान्छेको मन अलि–अलि पढ्न मलाई पनि आउँछ । कतिपय मनको बोझले मान्छेलाई उठ्नै नसक्ने गरी च्याप्छ । कतिपयलाई त्यही कुराले प्रेरणा पनि दिन्छ । यदि कुनै दिन आफ्नो मनको गहिराईमा मलाई पु¥याउन चाहनु भयो भने निसंकोच भन्नुहोला, मेरो लागि त्यो अति नै खुशीको दिन हुनेछ ।’
‘धन्यवाद हजुरलाई, पीडाको भारी बोकेर हिंड्ने मान्छेसँंग कोसेली दिनका लागि बेदनाका पोकाहरु नै हुन्छन् । त्यसैले हजुरलाई पीडा, बेदना, अनि तड्पनको कोसेली दिएर म तपाईलाई समेत पीडाको भारी बोकाउन चाहन्न’–अरुणाले लामो सुस्केरा छाड्छिन् । सरिताले पनि मलिन अनुहार बनाउँदै ओंठ चलाउँछिन्, ‘मलाई हजुरको सबै कथा–व्यथा थाहा छ । बदेनाको सुनामी पार गर्नुभएको छ, हजुरले । तर मेरो पनि जिन्दगीको व्यथा सुखमय छैन । तपाईको बेदना फरक छ । मेरो फरक । तपाई आफन्तबिहीन भएर पीडाको दलदलमा हुनुहुन्छ, म आफन्तको भीडमा भएर पनि बेदनाको पहाडमा छु । मुटुमा आगो दनदनि बलिरहेको हुन्छ तर मुहारमा प्रशन्नता झल्काएर बनावटी अभिनय गर्नु परिरहेको छ ।’
‘मेरो पीडायुक्त कथा त हजुरले पनि थाहा पाउनु भएको छ । कुमारी आमालाई समाजले कस्तो दृष्टिकोणले हेर्छ भन्ने कुरा हजुरलाई राम्रोसँग थाहा छ । कहिलेकाँही त तीखा वचन, अनि अपमानको ज्वालाले यतिसम्म छाती दुख्छ कि सास नै बन्द भए जस्तो लाग्छ । प्राण नै उडे जस्तो लाग्छ । राम्रो साहित्यकार भैदिएको भए सायद उपन्यास, ठूला–ठूला ग्रन्थ तयार बनाउँथे होला आफ्नो जीवनको बारेमा’, – अरुणाले मनको बह पोख्छिन् ।
उनको कुरा सुनेर सरिता बोल्न थाल्छिन्, ‘सबै मान्छेमा साहित्यिक भावना हुन्छ । तर लेख्ने सवालमा सबैले मेसो पाउँदैनन् । मलाई पनि मेरो पीडाले साहित्यिक यात्रामा डोराएको हो । मिल्ने साथी भाइहरु साहित्यिक क्षेत्रमा चर्चित छन् । त्यसैले म पनि उनीहरुको संगतले साहित्यिक यात्राको सहयात्री बन्न पुगेँ । अहिले अरु केही नगरे पनि पीडाले भरिएको जीवनको गुजारा यसैका कारण उत्पादन भएका शव्दहरुको मूल्यले गर्न सकेको छु ।’
‘हजुरको धेरै कुरा मेरो दिमागले नै बुझ्न सक्दैन । त्यसैले सोझो भाषामा आफन्तको भीडमा बेदनाको सागर बनाउनुपर्ने कारण बुझ्न र जान्न सक्छु ?’
‘मेरो तपाईको जस्तो लभ–सभको कथा छैन । म मेरो बाबुका कारण पीडित भएको छु । हाम्रो घर स्याङजा हो । हामी काठमाडौं आएको दश वर्ष हुन लागि सक्यो । मेरै बाउको कारण सानै देखि काममा लागेको हुँ । अनेक किसिमको काम गरेकी छु । गर्न हुने गर्न नहुने सबै कामको अनुभव छ मसँग । अनुभव यस्तासम्म संगालेको छु कि भनेरै साध्य छैन ।’
‘बुबाले काम गर्नु हुन्न ?’ अरुणाले प्रश्न गर्दछिन् । लामो सुस्केरा छाड्दै सरिताले रोदनले भरिएका शव्दहरु ओकल्छिन्–‘त्यसले काम गर्ने भएको भए, किन यस्तो हुन्थ्यो । पापको कुण्डमा नुहाएर आनन्द लिन चाहन्छ मेरो बाउ । घरपरिवारका सदस्यहरु बेदनामा छटपटाउँदा खुशी हुन्छ मेरो बाउ । आमा रोगी हुनुहुन्छ, औषधी नखाएपछि उहाँको शरिरले काम नै गर्दैन । तर मेरो बाउलाई श्रीमतीको औषधी किन्ने पैशाले मदिराको प्याला किन्नुपर्छ । भाइबहिनीहरु भर्खर ७÷८ मा पर्दछन् । तर उनीहरुको पढ्ने पसाले मेरो बाउलाई डिस्कोबारहरुमा धाउनुपर्छ । अनि राती कोठामा आएर बिरामी आमा, भाईबैनी सबैलाई जे पायो त्यहीले हानेर आनन्द उठाउँछ मेरो बाउ ।’
सरिता बोल्दा बोल्दै रुन थाल्दछिन् । उनको आँखाबाट आँशुहरु बग्न थाल्दछन् । उनलाई देखेर अरुणाको मन पनि अमिलो बन्छ । त्यसैले मलिन अनुहार बनाएर सरिता बोल्न थाल्छिन्, ‘कुनै–कुनै बाबुहरु खराब हुन्छन् भन्ने सुनेको थिएँ । यति तल्लो स्तरसम्म गिरेको पहिलो पटक सुने । हजुरहरु छुट्टै बसे पनि त हुन्छ ।’
‘बाउको राक्षशीरुपको भक्त हुनुहुन्छ आमा । हामीले जति भने पनि उहाँले श्रीमान्को यातनालाई शिरोधार्य गर्नु भएको छ । म मरिहाल्छु, त्यसपछि छुट्टै बस्नु भन्नुहुन्छ । आमाले यस्तो भनेपछि बाउले बनाएको बेदनाको साम्राज्यमा यातना र अपमानको घुट पिउँदै बाध्य भएर बाँचिरहेका छौं । रक्सी धोकेको बेलामा बाउ यति हदसम्म तल गिर्छ कि अश्लिल शव्दहरु बातैपिच्छे भन्छ । हामीलाई समेत सम्वेदनशील अंगमा समाएर पिट्छ । आफ्नै बाउको क्रूरताले भरिएको व्यबहार देख्दा उ एक्लै हुँदा हामीहरु कोठामा बस्दैनौं । भाईबैनीहरु साना छन् । त्यसैले पनि जे–जसरी हुन्छ, जस्तो अवस्थामा हुन्छ काम गर्नुपरेको छ । मान्छेलाई मारेर कुनै पनि कानून नलाग्ने भए मैले सुरुमा आफ्नै बाबुको हत्या गर्ने थिएँ ।’
‘संसारमा म सबै भन्दा दुःखी हुला जस्तो लाग्थ्यो । तर म भन्दा पनि तपाईँको पीडा दर्दनाक रहेछ । उमेर भइसक्यो अब बिबाह गरेर घरजम गर्नुहोस् । सायद जिन्दगीको मोड सुख तिर डोरिन्छ कि ?’, अरुणाले सल्लाह दिन्छिन् । उनको कुरा सुनेर सरिताले आँखाबाट बगि रहेको आँशु पुछ्दै बोल्न थाल्छिन्– ‘बिबाह गरेर सबै खुशी हुन्छन् भन्ने छैन । कर्मले हारेकाहरुलाई कहिल्यै सुख हुँदैन । श्रीमान् पनि बाउ जस्तै प¥यो भने के होला ? त्यसैले जानिजानि दुःखको पोखरीमा हाम फाल्ने मन छैन । अनि फेरि मैले बिबाह गरे भने आमा, भाईबहिनीहरुलाई कसले पाल्छ ?’
‘त्यो पनि हो । बुबालाई सम्झाएर विदेश पठाएपनि त हुन्थ्यो नी !’
‘कुरा ग¥यो कुरैको दुःख । बिदेश जान्छु, अब सुधरिन्छु भनेर ६ महिना अगाडि पासपोर्ट बनाइदिए, एकलाख रुपैयाँ खोजिदिएँ । तर दुःखको कुरा त्यतिबेला लिएको ऋण अहिलेसम्म तिरेको छैन । बिदेश जान्छु भनेको मान्छे, कहाँ हो कहाँ १ महिना लापत्ता भयो । आउँदा एक रुपैयाँ पनि नबचाएर आएको थियो । हैरान भइसकेँ । साँझ घरमा ढिला जाँदा को सँग बसेर आइस भन्छ । कसैको फोन आउँदा कुन नाठोको आयो भन्छ । पिर मात्रै लाग्छ । त्यसैले कोठामा कोही पनि साथीहरुलाई लग्दैन । केटा लगौं भने मसँंंग जोड्छ, केटी लगौ भने केही गर्ला भन्ने डर । यस्ता बाउ हुनु भन्दा अनाथ भएको बेस ।’
सरिताले बेदनाले भरिएको मन्तव्य सुनाउँछिन् । उनको हरेक शव्दहरुले दर्दनाक बेदनाको प्रतिनिधित्व गरिरहेका थिए ।
(अप्रकाशित उपन्यास : कुमारी आमाबाट)















प्रतिक्रिया