
मुगु, ६ माघ । गएराति ९ बजेबाट मात्र जिल्ला सदरमुकाम गमगढीमा पनि हिउँपर्न थालेपछि यहाँको जनजीवन प्रभावित भएको छ । जिल्लाका उच्च बस्तीमा भने हिजो साँझ ५ बजेबाट हिउँ पर्न थालेको थियो ।
सदरमुकाम गमगढीमा बिहान–८ बजेसम्म ७ इञ्च बराबरको हिउँ परेको गमगढी हावापानी केन्द्रले जनाएको छ । हिउँ लगातार परिरहेकाले बजार सेताम्य भएको छ । सदरमुकाममा सात इञ्च हिउँ परे पनि उच्च बस्ती डोल्फु, मुगु, किमी्र, पुलु, रारा, मुर्माटप, खमाले, सोरुकोट, डुमाना, ताल्च, रारा विमानस्थत, मन्दु, तल्लेख, शोभालगायतका बस्तीमा तीन फिटभन्दा बढी हिउँ जमेको बताइएको छ ।
डोल्फु गाउँका कार्मा लामाले फोन गरेर बताएअनुसार गाउँमा तीन फिटभन्दा बढी हिउँ परेकाले घरबाट निस्कन सकिएको छैन । वस्तुभाउलाई घरभित्रबाट प्वाल पारेर दाना घाँस दिइएको छ भने मानिसले घरको ढोकाको मध्यसम्म परेको हिउँ तताएर पानी बनाई खाना पकाउने गरेका छन् ।
यो बस्ती जिल्ला सदरमुकामबाट दुई दिन पूर्वमा रहेको छ । रारा मुर्मागाउँका शिक्षक नन्द रोकायाका अनुसार रारा ताल आसपास क्षेत्रमा पनि दुईदेखि चार फिटसम्म हिउँ परेको छ । उता सोरुकोटका स्थानीय पद्म साहीले बताएअनुसार त्यहाँ पनि बाक्लो हिउँ परेको छ भने किमी्र गाउँमा तीन फिट हिउँ परेर जनजीवन पनि कष्टकर बन्दै गएको स्थानीयवासी गुरु सन्ग्याव कार्मारोङले बताउनुभयो ।
हिमपात हुने क्रम अहिले पनि जारी रहेको छ । गाउँघरमा हिउँ परेर जनजीवन कष्टकर बन्दै गए पनि सदरमुकाममा आएका कर्मचारी र अन्य पर्यटक भने हिउँसँगै रमाइरहेका देखिन्छन् ।
हिमपातले जिल्लामा यातायात, विमानस्थल बन्द भएका छन् । कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्ड कच्ची भएकाले हिउँले सडक हिलाम्य हुँदा र घुच्चीलेकमा चार फिटभन्दा बढी हिउँ परेकाले मुगु भित्रने एक दर्जन मालबाहक गाडी बाटोमै रोकिएका छन् ।
यता रारा विमानस्थलमा एक फिटभन्दा बढी हिउँ जमेकाले केही दिन हवाई सेवा बन्द रहने रारा नागरिक उडड्यन कार्यालय मुगुले जनाएको छ । रासस












प्रतिक्रिया