
एक रमाइलो दिन एमाले उपत्यका समन्वय कमिटीद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो, केपी शर्मा ओली । भूमिका प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैको निभाउनुपर्ने। मञ्चमा ओलीको नाम उदघोष हुने वित्तिकै दर्शकदिर्घामा दर्शकरूपि कार्यकर्ता पीडा लुकाएर हॉस्न तयार भइहाले, तालीको गड्गडाहटले सभाहल गुञ्जायमान भइहाल्यो । ओलीको भाषणसँगै हॉस्यब्यङ्ग्य कार्यक्रम सुरू भयो । देशको चल्तापुर्जाको रूपमा रहेका व्यक्ति प्रधानमन्त्रीको भूमिका पनि देखाउनैपर्यो । जल्दोबल्दो समस्या लोडसेडिङ, ग्यास र पेट्रोल उठान गर्दै जॉदा मञ्चमा नै फुरिहाल्यो, समाधानका उपाय। बोलिहाले बुढाले– सिलिन्डर युगको अन्त्य गर्छु । अब कॉध, मोटरसाइकल र साइकललाई सिलिन्डरको भार पर्नेछैन्, घरघरमा र चुलाचुलामा ग्यासको पाइप पुर्याईदिन्छु, भित्तामा मिटर टॉसिदिने हो जति बाल्नुहुन्छ बाल्नुस् । ताली र हॉसोको फोहरा एकतमास चलिरह्यो, पेट मिचिमिचि हॉसिरहे उपस्थितहरू। बुढाले अझ थप्दै गए– यसअघिका सरकारले नगरेका कारण यस्तो समस्या आएको हो । अब तपॉइहरूले ग्यासको बुलेट आयो, आएन मतलव राख्नुपर्ने छैन । यता हॉसो चलिरह्यो । ओलीले पनि भनिदिए– यो कुरा सुनेर कतिपयले विश्वास गरेकै छैनन्।
पिटिक्क खोल्दा सिलिन्डरवाट आउने ग्यास अब पाइपबाट आॅउछ भन्ने प्रधानमन्त्रीको बोली सुनेर हर्षविभोर अग्रगामी नेपाली जनताले नभन्दै भोलिपल्ट असामान्य तरिकावाट खानेपानीको पाइपबाटै ग्यास आॅउछ कि भनि धारा खोलेर हेर्दा सिॅईईए ग्यासको आवाज आईहाल्यो । ओलीलाई प्रमाणित गर्न त्यसपछि त के चाहियो ? सामाजिक सञ्जालमा थरिथरिका अनुभव र देश बनाउने आइडिया असरल्ल विस्कुन सुकाएसरी फैलिहाल्यो।
यस्तैमा एउटा कार्यकर्ताले अर्कोलाई सोध्यो– हैन ! सॉच्चिकै ओली आउने भनेको त नक्कली पो ! पंगु वनाएछ कि क्या हो आयोजकले ?
यसअघिका प्रम शुशील दा’को त वलिउडमा अभिनेता बन्ने सपना थियो । उनमा त त्यो रूपरङ्ग नै देखिएन । यिनमा त अभिनय क्षमता अपार छ । हिरो बन्ने समय जेलमा विताएछन । नत्र बलिउड छिरेका थिए भने सलमानलाई सायदैले चिन्ने रहेछन्।
यो सुनेर अर्को पनि अकमक्क । त्यस्तैमा प्रश्न सोध्नेले सम्झियो– ओलीको नक्कली भूमिका गर्ने धुर्मुश त यो शहरमा छैनन् हिजोआज । पत्रपत्रिकामा पढ्दा धुर्मुश–सुन्तली देशव्यापी सरसफाई अभियानमा थिए । जाडोमा जनतालाइ न्यानो पार्ने अभियानमा मुसहर बस्तीहरूमा दुःख देखेर गहभरी आॅशु टिल्पिलॉउदै थिए । फेरि अकमक्क । धुर्मुशकै शैलीमा टाउको हल्लायो । अब पत्याउन करै लाग्यो ।
कति राम्रो अभिनय क्षमता ठ्याक्कै ओलीको जस्तै ! – त्यही भिडमा अर्को कसैले भन्दैथियो ।
अर्को कुनाको पनि आवाज आयो । भन्दैथिए– यस्तै हो भने धुर्मुश पनि कलाकारीता जोगाउन राहत वितरण छोडेर दौडिन बेर छैन । भूमिका परिवर्तन भएपछि त गाह्रो पो पर्दोरहेछ त ।

एउटा लक्का जवानले हॅसायो । सबैलाई भन्दियो– कसम कुनै नाट्य प्रतिस्पर्धामा भाग लिएका भए, प्रथम पुरस्कारका भागिदार हुन्थे।
शहरमा नभएका धुर्मुशको भूमिका पनि ओलीलाई नै परेछ। एकदिन एउटा फिल्मको कार्यक्रममा फुलै फुलको मौसम तिमीलाइ भन्दै आफ्नै धर्मपत्नीलाई गुलाफ फुल दिनुपर्ने टेक पनि एकैचोटिमा ओके । कलाकार छक्क।
बुढाले अर्को क्षमता पनि देखाउन भ्याए –फिल्म सिटी बारे दोलखाको डॉडामा २ दिन पनि घाम नलाग्ने, हिरोइनलाई हिरोसँग रिस उठेका बेला माइत जान्छु भनेर भाग्ने ठॉउ पनि छैन। हिरोइनलाई गर्मी हुॅदा पौडी खेल्ने ठाउँ पनि मिल्दैन । मैले चलचित्र उद्योगको लागि आवश्यक सबथोक रहेको ठाउँ खोजिसकेको छु । चलचित्रका लागी आवश्यक ज्ञान सब छ। नामी कलाकार र विज्ञ तीनछक। आज शहरभर ओलीको देशका नेता भन्दा अभिनेताको रूपको व्यापक चर्चा छ।
उता नाकामा धर्नाकारी छैनन् नाकाबन्दी कायमै । ओलीलाई सोध्यो । जबाफ आउँछ– म प्रम हुनुअघिनै सब सुरू भयो म प्रम भएपछि सवै खुल्छ भन्ने थियो । के भो के ? खुलेन।
अब अर्को समस्या लोडसेडिङ । एक वर्षमा खत्तमै पार्छु हावावाट, सोलरबाट विजुली निकाल्ने । हावा योजना विश्वास नलागे आॅखा च्यातेर पनि देखाउने उनको योजना त छॅदैछ।
टॉक खुस्किएर हाल्नुपर्दा नेपाली नामको धागो छैन भन्ने सुक्ष्म आर्थिक ज्ञानसमेत उनीसँग छ।लण्डनले उत्कृष्ट ठहर्याएको अर्थमन्त्रीले गर्दा मुलुकले आर्थिक प्रगति हुन नसकेको कुरा थाहा नहुने कुरै भएन । त्यै भएर अर्थशास्त्रमा कम ज्ञान भएकालाई अर्थमन्त्री बनाइदिए ।
उपप्रधानमन्त्री त मन्त्रीको अगाडि थपिने ट्याग न हो, ठूलो के नै छ र ? उपप्रधानमन्त्री र मन्त्री जो जति नै भएनि के नै भो र ? प्रधानमन्त्री को र कस्तो छ हेरे पुगिहाल्यो। यस्ता बहुमुखी प्रतिभाका धनी ओलीलाई प्रम भएपछि उखान भन्ने प्रतिभा नियन्त्रणमा कम्ती गार्हो भा’छैन । तैपनि नानीदेखिको बानी कहिलेकॉही खुस्किहाल्ने। यसअघिका प्रम शुशील दा’को त वलिउडमा अभिनेता बन्ने सपना थियो । उनमा त त्यो रूपरङ्ग नै देखिएन । यिनमा त अभिनय क्षमता अपार छ । हिरो बन्ने समय जेलमा विताएछन । नत्र बलिउड छिरेका थिए भने सलमानलाई सायदैले चिन्ने रहेछन्।
ओलीको गोलीरूपि बोलीले यता उर्जामन्त्री टोपवहादुर रायमाझी र विद्युत प्राधिकरण प्रमुख मुकेशराज काफ्लेको टाउको दुखाएको छ । मन्त्री भन्छन् – मैले सकिन अठार घन्टा भन्दा बढी नै लोडसेडिङ हुनेभयो ।
प्राधिकरण प्रमुख भन्छन्– एक वर्षमा त सम्भवै छैन् । भलै खानी तथा भु-गर्भ विभागले ओलीको बोलिपछि वाध्य भएर घरघरमा ग्यासका पाईप पुर्याउन यसअघि पटकपटक भएका असफल वोलपत्र आव्हानलाई फेरि ब्युँताएको छ । हेरौॅ के हुने हो ? भएत राम्रै हुन्थ्यो। जे भएपनि जाडोमा कठ्यांग्रिने, भूकम्प, नाकाबन्दी सवै पीडितलाई प्रधानमन्त्रीको बराबर हॉसो राहत । आखिर जति राहत र सुविधा दिएपनि अन्तिम लक्ष्य जनताको मुहारमा हॉसो नै हो क्यार ! यति अग्रगामी व्यक्ति राष्ट«को प्रमुख कार्यकारी पदमा रहेपछि के को चिन्ता ? आजकाल मन नलागी नलागी नि हॉसेरै चलेको छ दिनचर्या । ।यी सब देख्दा लाग्छ– प्रधानमन्त्रीज्यू, तपाई सो पदको अभिनय गरेको भ्रममा त पर्नुभएन ?















प्रतिक्रिया