१४ कार्तिक २०८३, शनिबार

भारतको छत्तिसगढका माओवादीसँग भिडेका लमजुङका चन्द्रबहादुर १९ वर्षपछि फर्किदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chandra-Dhitalलमजुङ, ३ माघ । भारतको छत्तिसगढ राज्यलाई माओवादीको बोलियो पकड भएको आधार इलाका मानिन्छ ।

जहाँ विद्रोह गरिरहेका माओवादीले सुरक्षाकर्मीदेखि लिएर बेला बेला नेतासम्मलाई आक्रमण गरिरहन्छन् । त्यहाँको सुरक्षाका लागि नेपालका ‘बहादुर’ गोर्खाली सैनिक पनि खटिएका छन् तिनैमध्येका एक हुन् लमजुङका चन्द्रबहादुर धिताल । जो झण्डै दुई दशकपछि घर फर्किएका छन् ।

बेसीशहर ५, भकुण्डे तालफाँटका चन्द्रबहादुर उमेरले अहिले ५१ पुगे । छत्तिसगढको भिलाईमा प्रहरी सेवाबाटै हराएका चन्द्रबहादुर १९ वर्षपछि पुस दोस्रो सातातिर घर फर्केका हुन् । यसअघि २०५४ सालमा २ महिनाको छुट्टीमा घर आएका उनी फर्केपछि बटालियनमा हाजिर भए । त्यसपछि परिवार र कार्यालयले समेत सुइँको नपाउने गरी बेपत्ता भएका थिए । उनले भारतीय प्रहरीमा १४ वर्ष सेवा गरेका थिए । त्यसपछि उनी बटालियन छोडेर हिँडे, सम्पर्कबिहिन भए ।

चन्द्रबहादुर फर्किएपछि धिताल परिवारमा खुसी छाएको छ । ६९ वर्षीया आमा रामकुमारी सबैभन्दा खुसी छिन् । उनी भन्छिन्– ‘छोरो हराएपछि धेरै खोजियो । ज्योतिषलाई धेरै हेराइयो । मेरो छोरो फर्किन्छ भन्ने विश्वास थियो, नभन्दै घाम झुल्केसरि भयो ।’ चन्द्रबहादुरकी पत्नी मैयापनि पति फर्केर आउँदा सपनाजस्तो लागेको बताउछिन् ।

घर फर्केका चन्द्रबहादुर अहिले बुवा मनबहादुरको किरिया बसिरहेका छन् । मध्यप्रदेशको प्रहरीबाट लेफ्टिनेन्टमा अवकाश प्राप्त मनबहादुरले जेठो छोरा चन्द्रबहादुरलाई आफूले जागिर खाएको ठाउँमा भर्ती गराएका थिए । उनको १० वर्षअघि निधन भएको थियो

चन्द्रबहादुरका जेठो छोरा राजकुमार नेपाली सेनामा छन् । राजकुमार ६ महिनाको हुँदा चन्द्रबहादुर भारतीय प्रहरीमा भर्ती भएका थिए । बुवा घर आएको खबर सुनेपछि उनी बिदामा घर आइपुगेका छन् । चन्द्रबहादुर आफैँ घर आएका भने होइनन् । उदिपुर नयाँगाउँका लेखबहादुर गुरुङ छत्तिसगढमा प्रहरी थिए । गत मंसिरमा चन्द्रबहादुर अझै घर नफर्केको जानकारी गाउँलेबाट पाएपछि लेखबहादुरले खोजेका हुन् । चन्द्रबहादुर भेटिएपछि उनलाई घर ल्याउन छोरा सुमन छत्तिसगढ पुगेका थिए ।

१९ वर्षपछि घर फर्किएका चन्द्रबहादुरले आफूले प्रहरीमा कुनै नराम्रो काम नगरेको तर, भित्र बस्न मन नलागेर बाहिरिएको जवाफ परिवार र गाउँलेलाई दिने गरेका छन् । उनी भन्छन्- ‘प्रहरीमा बस्न मन लागेन । घर पनि फर्किन मन लागेन ।’

१९ वर्ष कसरी विताउनुभयो भन्ने प्रश्नमा उनले त्यसपछि विभिन्न होटल, पसल तथा कारखानामा मजदुरी गरेको बताए । उनलाई भेट्न अहिले गाउँलेहरुको भीड लाग्ने गरेको छ ।