
लापिलाङ (दोलखा), ३ माघ । रणभीम गण दोलखाले अति दुर्गम लापिलाङ गाविसमा तीन दिनदेखि राहत वितरणका साथै स्वास्थ्य परीक्षण गरेर भूकम्पपीडित स्थानीयवासीलाई सघाएको छ ।
शनिबार नेपाली सेनाका सहायक रथी प्रदीपकुमार अधिकारीको हातबाट लापिलाङ – ५, ६ र ७ का ५९४ जना भूकम्पपीडितलाई प्रति परिवार कम्बल एक थान, मण्डी दुई थान, सुकुल एक थान, बिस्कुट, ननभेज ड्राइफुड लगायतका सामग्री वितरण गर्नुभएको थियो । यी सामग्री बाँड्न सैनिक टोलीले कुपन वितरण गरेको थियो ।
भौतिक सहयोगसँगै चिसोका बिरामीको स्वास्थ्य परीक्षण गरिएपछि यहाँका स्थानीयवासी खुसी छन् । चिसोले स्थानीयवासीको जनजीवन कष्टकर भइरहेको बेला सेनाबाट सहयोग र स्याहार पाएर सन्तोष लागेको स्थानीवासीय बलबहादुर थामी बताउनुभयो । चिसोका कारण दोलखामा भूकम्पपीडितको अवस्था दयनीय भएको सञ्चारमाध्यममा आएसँगै सेनाले सहयोग गरेको हो ।

स्वास्थ्य शिविरमा बालबालिका, महिला र वृद्धवृद्धाको गरी करिब ३०० जनाको स्वास्थ्य परीक्षण गरिएको सेनानी मनोज थापामगरले बताउनुभयो ।
सहसेनानी डा विजय भूषण दत्त, डा कृष्णप्रसाद देशेमरुलगायतले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । यो गाविसमा भूकम्पबाट ११ जनाको मृत्यु भएको थियो । रासस












प्रतिक्रिया