१४ कार्तिक २०८३, शनिबार

हिंसाको डर छ ? निःशुल्क लिनुस् आत्मरक्षा तालिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Women-pathegharकाठमाडौं, ३ माघ । नेपाली समाजमा महिला सुरक्षाको सवाल निकै संवेदनशील बन्दैछ ।

बाहिरी दुनियाँमा पुरुषसरह स्वतन्त्रपूर्वक महिलाहरुले काम गर्न नसक्ने अवस्था त छँदैछ, आफ्नै कार्यालयमा समेत सहकर्मी, हाकिम वा यस्तै दुर्नियत भएकाहरुबाट जुनसुकै बेला दुव्र्यवहार भोग्नुपर्ने तीतो अवस्था छ । महिला भन्ने बित्तिकै गलत नजरबाट हेर्ने र महिलालाई शोषण गर्न खोज्नेहरुको जमात नेपाली समाजमा बढ्दै गइरहेको र महिलाहरुको सुरक्षाको सवाल समेत महत्वपूर्ण बन्दै गइरहेको अवस्थामा संभावित दुर्घटनाबाट बच्न के गर्नुपर्ला ? कसैले दुव्र्यवहार गर्न खोजे, बलात्कारको प्रयास गरे, गलत नियत राखेर हातपात गर्न खोजे कसरी जोगिने ? यस्ता जिज्ञासाका सामाधान नेपाली महिलाका लागि निकै उपयोगी बन्न सक्छन । यही कुरालाई मनन् गरेर एक संस्थाले विगत केही समयदेखि विभिन्न क्षेत्रका महिलाहरुलाई आत्मरक्षाको तालिम दिइरहेको छ । विज्ञ र विशेषज्ञहरुलाई समेत उपस्थित गराएर महिलाहरुलाई संभावित दुव्र्यवहार वा हिंसाबाट कसरी बच्ने भन्ने बिषयमा प्रयोगात्मक तालिम दिइने गरिएको हो ।

यस्तो नौलो किसिमको तालिम ‘ग्लोबल विङ्स’ नामक संस्थाले दिन थालेको हो । संस्थाले केही समयअघि काठमाडौका पत्रकार महिलाहरुलाई धूलिखेलमा सैद्धान्तिक कक्षा दिएको थियो । त्यहाँ सैद्धान्तिक ज्ञान हासिल गरेकाहरुलाई शनिवार काठमाण्डौमा एकदिने प्रयोगात्मक तालिम दिइयो ।

नेपाली सेनाको विशेषज्ञ प्रशिक्षक भीमबहादुर बिष्टले पत्रकार महिला तथा अन्य क्षेत्रका महिलाहरुलाई संभावित दुव्र्यवहारबाट आफूलाई कसरी बचाउने भन्ने बिषयमा तालिम दिए । ग्लोबल विङ्ग्सले आयोजना गर्ने आत्मरक्षा सम्बन्धी तालिममा उनलाई प्रमुख प्रशिक्षकको रुपमा प्रस्तुत गर्ने गरिएको छ । उनले समेत प्रयोगात्मक रुपमै कसरी प्रतिकार गर्ने, आफूलाई कसरी जोगाउने लगायतका बिषयमा उपयोगी टिप्स सिकाउने एक सहभागीले बताइन । शनिवार आयोजित प्रयोगात्मक तालिममा पत्रकार महिला मात्र नभई विभिन्न क्षेत्रका १ सय ५० महिला लाभान्वित भएका आयोजक संस्थाले जनाएको छ ।

शनिवारको कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल थिए । उनी समेत ग्लोबल विङ्ग्ससँगै महिलाहरुलाई आत्मरक्षाका लागि योग्य बनाउने अभियानमा धूलिखेलबाटै जोडिइदै आएका छन् । प्रयोगात्मक तालिम कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डा. रिजालले अत्यन्त उपयोगी आत्मरक्षा तालिम काठमाण्डौ र आसपासका शहरमा मात्र नभई देशव्यापी बनाउनुपर्नेमा जोड दिए । ‘महिलाहरुमा आफ्ना लागि आफै लड्नसक्ने आत्मविश्वास जगाउन समेत यो तालिम विस्तार गर्नुपर्ने देखिन्छ ।’ उनले भने–‘संभावित दुव्र्यवहारबाट कसरी बच्ने भन्ने बिषयलाई सरकारले विद्यालयस्तरको पाठ्यक्रममै राखेर बालिका अवस्थादेखि नै महिलालाई आत्मारक्षाका लागि सक्षम बनाउन जरुरी छ ।’ डा. रिजालले एउटा क्षेत्रका लागि मात्र नभई सबै क्षेत्रका महिलालाई यस्तो तालिम आवश्यक रहेको प्रष्ट्याए ।

global wingsग्लोबल विङ्ग्सका निर्देशक मोहित बडूले संस्थाले यसअघि एयर होस्टेजका ४५ विद्यार्थीहरुलाई आत्मरक्षाको पूर्ण प्रयोगात्मक तालिम दिएको जानकारी दिए । उनका अनुसार धुलिखेल र काठमाण्डौबाट अब तालिम विस्तार गरी चाँडै पोखरा लगिनेछ । ‘हामी विभिन्न क्षेत्रका महिलाका मागअनुसार तालिम आयोजना गर्दै जान्छौ ।’ उनले थपे–‘यो अत्यन्त व्यवहारिक तालिम हो, हरेक नेपाली महिलाले लिनैपर्ने हुन्छ ।’

आयोजक संस्थाका अन्य अधिकारीहरुका अनुसार यो तालिमलाई भविष्यमा देशव्यापी बनाइनेछ । ‘वैदेशिक रोजगार, होटल, घरदेखि सबैतिर महिलामाथि कुनै न कुनै रुपमा हिंसा हुने गरेको छ ।’ एक अधिकारीले भने–‘संभावित दुर्घटनाबाट आफूलाई जोगाउन आत्मरक्षा तालिम अनिवार्य छ ।’ उनका अनुसार पहिला सेना र प्रहरीका महिलाहरुलाई मात्र आत्मरक्षाको तालिम दिइन्थ्यो । तर अब त्यही किसिमको तालिम विभिन्न क्षेत्रका महिलाहरुलाई पनि दिन थालिएको हो । ‘सक्रिय भएर हिँडिरहनुपर्ने महिलाहरुलाई यो तालिम झनै आवश्यक देखिन्छ ।’ ती अधिकारीले भने ।

ग्लोबल विङ्ग्सको यो अभियानमा पुनम इन्टरटेनमेन्ट, एनबी बैंक, हाइड एण्ड सिक स्कूल, फेमिलियर फाउण्डेसन, सुफर लेस, जिवा स्लिमिङ सेन्टर लगायतका संघसंस्थाहरुको सहकार्य छ ।