
– सोम खनाल
प्रधानमन्त्री केपी शर्मा ओली स्पष्ट बक्ता हुन् भन्ने कुरामा दुईमत छैन । यद्यपि उनका प्रष्ट सुनिने र बुझिने बोलीहरू कतिलाई मन पर्छन्, कतिलाई मन पर्दैनन् । आफू स्वयम् आशावादी ब्यक्ति भएको कारण प्रधानमन्त्रीका महत्वाकांक्षी तर मुर्त बिकासे आवाजहरूले यो पंक्तिकारको मनमा भने आशाको संचार गरिदिन्छन् ।
केही महिना अगाडि संबिधान बन्दै थियो, तर त्यो संबिधानलाई रद्दीको टोकरीमा पुर्याएरै छाड्ने कसम खाएका केही देशी बिदेशी शक्तिहरूको नग्नताको सिमा पनि नाघ्दै थियो । जनताको मनमा अनिश्चितताको कालो बादल मडारिएको त्यो बेलामा हुनेवाला प्रधानमन्त्री ओलीले दक्षिण तर्फ फर्केर बोलिदिए– “हाम्रो देश सानो होला, तर हाम्रो सार्बभौमिकता सानो छैन, संबिधान बनाउने हाम्रो सार्बभौम अधिकारमा हस्तक्षेप नगर ।’
अघोषित नाकाबन्दीको बिरोधमा प्रधानमन्त्रीको कुर्सीमा बसेरै उनले फेरि बोले– ‘हामीप्रति युद्दको बेला शत्रुलाई गर्ने भन्दा पनि खराब ब्यबहार भइरहेको छ ।’ उनका ती बोलीहरूले जनतालाई उर्जा दिए, परिस्थितिलाई प्रष्ट पारे । जसलाई इंगित गरेर उनले ती कुराहरू बोलेका थिए, उनीहरुकै संसदभित्र उनका बोलीको चर्चा भयो । जवाफ दिनेहरूले झुटको सहारा लिनु प¥यो । हरेक कुरामा दक्षिणको छिमेकीको मात्र भर पर्नाले बलात् आइपरेको समस्याको दिगो निकासको निम्ति प्रधानमन्त्रीले उत्तरको छिमेकीसंग केही प्रारम्भिक सहमति गरेर बोलिदिए – ‘अब उत्तरतिरका सबै सम्भाब्य नाकाहरू खोलिनेछ र दक्षिणतर्फको एकोहोरो परनिर्भरतालाई सँधैका निम्ति तोडिने छ ।’ प्रधानमन्त्रीका बोलीमा क्षणिक मनोरञ्जन लिनेहरूलाई यो बोलीको खासै कुनै अर्थ थिएन होला, तर उनका यीनै बोलीले नेपाललाई समय समयमा नाकाबन्दीको ब्लाकमेल गरेर आफ्ना सम्पूर्ण एकतर्फी स्वार्थहरू संचालन गर्न बानी परेका दक्षिणी गुरुयोजनाकारहरूका आँखाबाट निन्द्रा भने खोसिदिएको छ । उत्तरतिरका सम्भावनाहरू खोल्ने प्रयास भित्रभित्रै परिपक्व भइरहेको बिश्वास गर्ने आधारहरू देखिइरहेका छन् । निकट भबिष्यमा जब ती प्रयासहरूले मुर्त रूप लिनेछन्, त्यतिबेला ओलीको बोली ब्यबहारमा देखिने छ ।
कुनै बिद्वानले भनेका छन् – ‘सपनाहरू ती होइनन् जुन निदाएको बेला देखिन्छन्, सपना त ती हुन् जसले निदाउन दिँदैनन् ।‘ प्रधानमन्त्री केपी शर्मा ओलीले जे सपनाहरू जनताको सामु बाँडिरहेका छन्, आशा गरौ ति सपनाहरु उनले मस्त निदाएको बेलामा देखेका हावा सपनाहरू होइनन् । बरू ती यस्ता सपनाहरू हुन्, जसले तिनीहरूको पछि पछि कुँदिरहन र तीनलाई मुर्तरूप दिन स्वयं प्रधानमन्त्रीलाई बाध्य पार्नेछन् र उनलाई कहिलै निदाउन दिने छैनन् ।
संबिधान सम्बन्धी प्रसंग बिस्तारै सेलाउँदै गएको र बिबादहरू समाधान उन्मुख भएपछि पछिल्ला दिनहरुमा प्रधानमन्त्रीका बोलीहरू बिकासप्रति लक्षित देखिन थालेका छन् । यतिबेला देशले इन्धनको चरम अभाव खेप्दैछ । एकातिर हिउँदमा सुकेका नदीहरूबाट थोरै मात्र बिजुली निस्किनाले लोडसेडिङको चर्को मार परेको छ भने अर्कातिर दक्षिणतिरको मूख्य नाका अझै पनि बन्द रहनाले डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको चरम अभाब छ । यस्तो बेलामा उनी चूप लाग्न सक्दैनथे । बोलिहाले– ‘‘एक बर्ष भित्रमा लोडसेडिङ नहुने गरि बिजुलीको ब्यबस्था गरिने छ, चाहे हावाबाटै बिजुली निकालेर किन नहोस्, लोडसेडिङ्को अन्त्य गरेरै छाडिने छ ।’ प्रधानमन्त्रीकै शब्दमा ‘करिब सय बर्षमा जम्मा सातसय मेगावाट मात्र बिजुली देखेका’ आम मानिसहरूलाई एकबर्षमा लोडसेडिङ हटाउने कुरामा संदेह हुनु स्वाभाबिक नै हो । तर कतिपय शिक्षित ब्यक्तिहरूले समेत उनलाई यतिबेला ‘हावाबाट बिजुली निकाल्छ रे’ भनेर हावामा उडाइरहनु चाही बिडम्बना हो । हावाबाट बिजुली निकाल्न छिटो, सजिलो, भरपर्दो र पर्याबरणिय हिसाबले समेत उपयुक्त हुने कारणले नै बर्तमान बिश्वमा साढे तीनलाख मेगावाट भन्दा बढी बिजुली हावाबाट निकालिसकिएको छ । छिमेकी चीनले मात्र थप बीस हजार मेगावाट बिजुली हावाबाट निकाल्ने गरि काम गर्दैछ । हावा बिजुलीका सम्पूर्ण प्रबिधी र उपकरण अहिले चीनमा निर्माण भएर बांकी विश्वमा निकासी हुने गर्छन् । हावा बिजुलीको क्षेत्रमा यत्रो फड्को मारिसकेको चीनको छेवैमा बसेर पनि हामीले त्यो प्रबिधिलाई अपनाउने चाहना नराख्ने हो भने हामी जस्ता हावादारी को हुन्छ ? त्यसैले शीघ्र बिद्युत बिकासको लागि हावाबाट भएपनि बिजुली निकालिने छ भनेर प्रधानमन्त्रीले जे बोले त्यो ठीक बोलेका हुन् । जे बोलेका छन्, त्यसलाई सार्थक बनाउने उनका प्रयासहरूलाई अझ गति दिऊन् ।
नेपालको हरेक उद्योगीले बिद्युतमा लगानी गर्ने धोको पालेको हुन्छ । पोखरामा सेती नदीबाट निकालिएको एउटा नहर छ । सेती वारीका फांटहरूमा सिंचाई गर्ने निर्माण गरिएको त्यो नहरको पानीबाट कुडहरमा स्थानिय एक उद्योगीले एक मेगावाट क्षमताको बिजुली निकालेर प्राधिकरणलाई बेचेका छन् । सुनिए अनुसार करिब २० करोडको लागतमा सो बिजुली निकालिएको हो । स–साना जलबिद्युत आयोजनाका लागि चाहिने पेनस्टक पाइप, टर्वाइन (पंखा) लगायतका अनेकन उपकरण उत्पादन गर्न ती उद्योगीको आफ्नै उध्योग समेत छ । एउटा हावा मीलको टर्वाइनबाट उस्तै परे डेढ मेगावाट बिध्युत निकाल्न सकिँदो रहेछ । बिजुलीको लागि एउटा नहरमा समेत सम्भावना देखेर लगानी गर्ने त्यस्ता अनुभवी उद्यमीहरूले एउटै टर्वाइनबाट डेढ मेगावाट उत्पादन हुने हावा बिजुलीमा लगानी नगर्ने कुरै हुदैन । त्यस्ता उद्यमीहरूलाई उत्साहित गरेर बाताबरण मिलाईदिने हो भने पोखरा आसपासका साराङ्कोट, पञ्चासे र काहुं डाँडाहरूका टुप्पामा उनीहरुले त्यस्ता पचासौं टर्वाइन खडा गरेर बिद्युत उत्पादन गर्न सक्छन् । प्रधानमन्त्रीले बोलेको हावाबाट बिजुली निकाल्ने त्यो प्रसंगले बिद्युत उत्पादनको क्षेत्रमा लगानी गर्न लालायित कयौं उद्यमीहरुलाई पक्कै पनि झकझक्याएको हुनुपर्छ ।
बिकसित देशहरूमा ग्यासका सिलिण्डरहरू जनताका चूलाबाट बाहिरिएको कति भो होला ?, कम्तीमा ३०–४० बर्ष त भयो नै । “नेपालमा पनि हरेक भान्साहरूबाट ग्यासका सिलिण्डरलाई निस्कासित गर्नु पर्छ, केही समय पाएँ भने म त्यो काम गर्छु” भनेर प्रधानमन्त्रीले भर्खरै अर्को दृष्टिकोण सुनाए । आधा सिलिण्डर ग्यासका लागि लाइनमा बस्दा बस्दा वाक्क भएका मानिसहरूका लागि उनका कुराले एकैछिन झनक्क रिस उठ्नु उति अस्वाभाबिक होइन । तर नेपालका हरेक भान्साहरूबाट ग्यासका आयातित सिलिण्डर हटाउने प्रतिबध्दता राख्नु आफैमा एउटा आंटिलो कदम पनि हो । नेपालका चूलाहरूबाट ग्यासका सिलिण्डर त हटाउनै पर्छ, चाहे त्यो बायोग्यासका पाइप जोडेर होस, वा बिजुलीको अधिक आपूर्ति गरेर होस् । कसैले खटाईखटाई दिएको इन्धनमा भर परेर आफूले चाहेको बेलामा खानेकुरा पकाउने र खान पाउने आशा गर्दा आफैमा हीनताबोध मात्र हुन्छ । कमसेकम कसैले त्यो हीनताबोधलाई निमिट्यान्न पार्ने सपना त देख्यो ! अब त्यो सपनालाई पछ्याउँदै कार्यान्वयनमा लागून् भन्नु त कता हो कता ? देश बिदेश घुमेर फर्केका नेपाली बिद्वानहरूले समेत “प्रधानमन्त्रीको दिमाग सड्क्यो, चुकुल खुस्क्यो” भन्दै उनलाई पुनः हावामा उडाउनु उदेक लाग्दो कुरा हो ।
हाम्रा पूर्बबर्ती नेताहरूले नेपाललाई कहिले सिंगापूर त कहिले स्वीजर्ल्याण्ड बनाइदिन्छौं भने । न सिंगापूर न स्वीजर्ल्याण्ड देखेका हामी नेपालीले उनीहरूले निर्माण गरिदिने नेपालको अमुर्त चित्रको छेउ टुप्पो बुझ्न सकेनौ । ‘हाम्रा नेताहरू बिदेश गएको गएकै गर्छन तर कहिलै बिकासका नयाँ अबधारणा ल्याउदैनन्’ भनेर पनि हामीले जहिलै गुनासो गरिराख्यौं । तर अहिले प्रधानमन्त्रीले जे कुराहरू गरिरहेका छन्, ती मुर्त कुराहरु छन् । देश बिदेशमा देखेका र प्रमाणित भएका बिकासका मुर्त अबधारणाहरूलाई जनताको जीबनस्तर सम्म पुर्याउछु भनेर प्रधानमन्त्रीले अठोट गर्दा पनि हामीचाही त्यसलाई हासोको बिषय बनाइरहेका छौं । उनलाई साथ दिने त कुरै छाडौँ, पत्याउन समेत हामी तयार छैनौ । तैपनि खुशीको कुरा चाँहि के छ भने केपी शर्मा ओली निरुत्साहित देखिएका छैनन् । उनले सरकारको नेतृत्व गरेको १०० दिनबाट केहीमात्र बढी भयो । यो अबधि भिजन सुनाउने अबधि नै हो, उनले अझै धेरै भिजन सुनाउन् । यस्ता भिजन सुनाउन् कि ति भिजनले उनी आफैलाई दिनदिनै तिनलाई पूरा गर्नैपर्ने चुनौती दिऊन् । तब मात्र केही हुन्छ । जसले सपना देख्छ, अठोट गर्छ र आफैलाई चुनौती दिन अघि सर्छ– उसले मात्र केही गर्छ ।
प्रधानमन्त्रीले बोलेका कुरा आकासका तारा झार्ने जस्ता असम्भब कुरा होइनन् । अन्यत्र उहिलै भइसकेका र अलिकति अठोट, र इमान्दार प्रयास हुने हो भने नेपालमा पनि सजिलै सम्भब हुने कुराहरू हुन् । उनले बोलेका कुराले उनैलाई सबैभन्दा बढी चूनौती दिनेछन्, पिरोल्ने छन् । एउटा नेताले बिकासको तिर्सनाले दिन दिनै पिरोलिनु जरुरी छ, केही गर्नै पर्ने बाध्यता महसुस गर्नु जरूरी छ । जनताको बीचमा प्रतिबध्दता गर्नु भनेको आफूलाई केही गर्न बाध्य पार्नु हो । कुनै बिद्वानले भनेका छन् – ‘सपनाहरू ती होइनन् जुन निदाएको बेला देखिन्छन्, सपना त ती हुन् जसले निदाउन दिँदैनन् ।‘ प्रधानमन्त्री केपी शर्मा ओलीले जे सपनाहरू जनताको सामु बाँडिरहेका छन्, आशा गरौ ति सपनाहरु उनले मस्त निदाएको बेलामा देखेका हावा सपनाहरू होइनन् । बरू ती यस्ता सपनाहरू हुन्, जसले तिनीहरूको पछि पछि कुँदिरहन र तीनलाई मुर्तरूप दिन स्वयं प्रधानमन्त्रीलाई बाध्य पार्नेछन् र उनलाई कहिलै निदाउन दिने छैनन् । देश भित्र उपलब्ध साधन श्रोतलाई सकेसम्म उपयोग गरेर देशलाई राहत हुने काम गर्छु भन्नु कुनै अपराध होइने् ।
प्रधानमन्त्रीले आफ्ना योजनाहरू सुनाउँदा हासोमा उडाउनेहरूमध्ये अधिकांश सिरक भित्र गुटुमुटु भएर सामाजिक सञ्जालमा गुड्डी हाँक्ने उपबुज्रुकहरू छन् । त्यस्ता ब्यक्तिहरूले उडाउँदैमा प्रधानमन्त्रीले हतोत्साहित हुन जरूरी छैन । उनले मुर्त बिकासका कल्पना गर्न पर्छ, ती कल्पना जनतासंग बाड्न पनि पर्छ र कार्यान्वयनमा पाइला चाल्न पनि पर्छ । आफूले बोलेका र जनतासंग बाडेका कुराहरूलाई ब्यबहारमा उतार्ने काममा प्रधानमन्त्रीलाई थकाई नलागोस, शुभकामना ।
सुनसरीका खनाल अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा पीएचडी गर्दैछन् ।















प्रतिक्रिया