के हो सी माला ?
काठमाडौं, २ माघ । सी माला एक जीवको अस्थिपञ्चरबाट बनाइने माला हो । पुरातत्त्व ऐनअनुसार सी मालाको कारोबार अवैध छ ।
बौद्ध धर्मावलम्बीमा यस्तो माला लगाएमा सधैँ राम्रो हुने र जे चाह्यो त्यही पुग्ने विश्वास छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सोही कारण एउटै मालाको करोडौँमा कारोबार हुने गरेको छ । काठमाडौंको बौद्ध क्षेत्रमा अवैध रूपमा सी मालाको कारोबार हुँदै आएको छ । कारोबारमा तिब्बतीयन, भुटानी तथा भारतीयसमेत संलग्न छन् ।
चक्कुले घाँटी रेटेर हत्या
सी माला लुट्न बिहीबार साँझ चक्कुले घाँटी रेटेर बौद्ध टुसालका ६० वर्षीय थेपाङ शेर्पाको हत्या भएको छ ।
हत्यापछि उनले घाँटीमा लगाएको एक करोडभन्दा धेरै पर्ने सी माला लुटपाट भएको प्रहरीले जनाएको छ । सेफको सी माला र पैसा भने चोरिएको छैन ।
शंकास्पद केही व्यक्ति पक्राउ परेको हत्यामा संलग्नको पहिचान भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नरहरी रेग्मीले बताए ।
सी मालाले बढायो अपराध
डेरामा एक्लै रहेको वेला थेपाङको हत्या भएको हो । प्रहरीका अनुसार बिहीबार साँझ उनकी श्रीमती गुम्बामा गएका वेला हत्या भएको थियो ।
फर्किंदा श्रीमान्लाई मृत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । मृतक शेर्पा सी मालाको कारोबारमा संलग्न रहेको खुलेको छ ।
बौद्ध धर्मावलम्बीमा बहुमूल्य र पवित्र मानिने सी मालाको कारोबारले बौद्ध क्षेत्रमा अपराध बढाएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सी मालालगायत प्राचीन बहुमूल्य पदार्थको बौद्धमा ठूलो मात्रामा अवैध कारोबार हुने गरेको छ ।
एउटै सी मालाको करोडौँमा कारोबार हुने भएकाले लुटपाट र हत्याका घटना बढेका हुन् । अवैध कारोबार भएकाले कतिपय घटनाबारे प्रहरीकोमा खबर हुँदैन ।
तीन महिनामा पनि खुलेन
निमादोर्जे हत्याको रहस्य सिन्धुपाल्चोक हेलम्बु घर घई बौद्धको तिनचुली बस्ने ८५ वर्षीय निमादोर्जे शेर्पाको २६ कात्तिकमा घाँटी र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।
तिहारमा घरमा कोही नभएको अवस्थामा दोर्जेको हत्या भएको थियो । उनको पनि सी मालालगायतको सम्पत्ति लुट्न हत्या भएको अनुसन्धानमा खुलेको थियो । तर, हत्या गर्नेहरू पक्राउ परेका छैनन् ।
माला लुटेर भाग्दाभाग्दै पाँच पक्राउ
बौद्धमा २५ भदौमा पनि करोडौँको सी माला लुटपाट भएको थियो । लुटेर भाग्दाभाग्दै प्रहरीले मकवानपुरको भिमफेदीबाट पाँचजनालाई पक्राउ गरेको थियो ।
बौद्धस्तुपानजिकै छेर्तेन होटेलमा सी माला किन्न भन्दै भेट्न पुगेका उनीहरूले होटेलमा रहेका उपेन्द्र लामिछानेलाई हातखुट्टा बाँधेर करिब दुई करोड पर्ने सी माला लुटपाट गरेका थिए ।
लुटपाटमा संलग्न भुटानका डी दोर्जे लामा, छिरिङ लामा, भारतीय नागरिक आसित सैबो, नहिर अली र सरोज गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो ।















प्रतिक्रिया