१४ कार्तिक २०८३, शनिबार

राजधानीमा एक दिनमै हट्यो फुटसलको प्रतिबन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footsal-in-kathmandu-660x330

– कुमार चौलागाई
काठमाडौँ, १ माघ । बिहीबारदेखि उपत्यकाका फुटसल खेलमा लगाइएको प्रतिबन्ध १५ बुँदे सहमतिपछि एक दिनपछि आजैदेखि फुकुवा भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा व्यवसायीसहितको छलफलपछि प्रतिबन्ध फुकवा गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

सञ्चालकहरूले १५ दिनभित्र मनोरञ्जन भए घरेलु तथा खेलकुद भए स्थानीय प्रशासनमा विधिवतरुपमा दर्ता गरी नियमानुसार सञ्चालन गर्ने, खेलकुद सञ्चालन गर्दा छिमेकीलाई होहल्ला नगर्ने, विद्यालय÷कलेज ड्रेसमा विद्यार्थी आए अभिभावकको अनुमतिबिना त्यहाँ प्रवेश नदिने, एक महिनाभित्रै सिसी टिभीको व्यवस्था गर्ने, प्राथमिक उपचारको व्यवस्था गर्ने, आचारसंहिता स्पष्टरुपमा सबैले देख्ने गरी राख्ने, खेलको शुल्कसमेत टाँस गर्नुपर्ने, राति ७ बजेभन्दा पछि खेल सञ्चालन गर्न नपाइने, तेस्रो पक्ष बिमा गर्ने, ध्वनि प्रदूषण यन्त्र जडान गर्नेलगायत विषयमा व्यवसायी र प्रशासनबीच सहमतिपछि फुटसल सञ्चालन हुने भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सहमति लागु भए/नभएको अनुगमन हुन्छ, हामीले सहायक प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको संयोजकत्वमा अनुगमन समिति बनाएका छौँ, समितिले अनुगमन गर्छ र मापदण्डअनुसार सञ्चालन भएनभएको यकिन गर्छ । मापदण्डअनुसार सञ्चालनमा नआए पुनः बन्द गछौँ ।”

अनुगमन समितिमा फुटसल व्यवसायी, काठमाडौँ प्रहरी, घरेलु तथा साना उद्योग र जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि रहने सहमति भएको छ ।

सो अवसरमा व्यवसायीले फुटसलका नाममा हुने आपराधिक क्रियाकलाप रोक्न प्रतिबद्धतासमेत जनाएका थिए । छलफलमा फुटसल व्यवसायी राज महर्जनले उपत्यकामा फुटबल मैदानको अभावमा फुटसल खेल लोकप्रिय बन्दै गएको बताउँदै फुटवल विकास नभएको अवस्थामा फुटसल खोलेर निजी संस्थाले खेलकुदको क्षेत्रमा सहयोग गरेको बताउनुभयो ।

छलफलमा सहभागी अधिकांश फुटसल व्यवसायीहरूले आफूहरू कानुनी दायरामा आउन तयार रहेको बताउँदै प्रहरीले बिनासूचना बन्द गराउँदा आफूहरूलाई समस्या भएको गुनासो गरेका थिए ।

काठमाडौँ उपत्यकामा करिब रु एक अर्ब २० करोडको लगानीमा ५० देखि ६० वटा फुटसल कोर्ट सञ्चालनमा रहेका छन् ।

जथाभावी शुल्क लिने तथा होहल्ला बढी हुनेजस्ता कारण देखाउँदै स्थानीय अभिभावक तथा छरछिमेकीले उजुरी गरेपछि बिहीबारदेखि प्रहरीले काठमाडौँमा खुलेका फुटसल कोर्ट सञ्चालनमा प्रतिबन्ध लगाएको थियो ।

पछिल्लो समय युवामाझ निकै लोकप्रिय रहेको फुटसलका कारण फुटसल जुवा बढेको, लागुऔषध प्रयोगस्थल बनेको तथा स्कुल कलेजका विद्यार्थी पढाइ छाडेर त्यतातिर लागेको भन्दै उजुरी आउन थालेपछि प्रहरीले कोर्ट सञ्चालनमा प्रतिबन्ध लगाएको थियो ।

नेपालमा यो खेल सन् २०११ देखि सञ्चालनमा आएको बताइएको छ ।

यसैबीच नेपाल प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत व्यवसायीको सहयोगमा व्यवस्थित तवरले नियमन तथा अनुगमन गर्ने व्यवस्थासहित फुटसल पुनः सञ्चालनमा आउने जनाएको छ । रासस