१४ कार्तिक २०८३, शनिबार

भुइँमै बसेर पढ्छन बालबालिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baglung-schoolबागलुङ, १ माघ । जिल्लाको धम्जा–३ स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयमा सञ्चालित बाल विकास केन्द्र पूर्वाधार अभावमा गुज्रेको छ ।

जीर्ण कोठामा चलाइएको केन्द्रमा बालबालिका बस्ने थलोको समेत सही व्यवस्थापन छैन । कक्षा कोठामा फर्निचर अभाव छ । जाडोयाममा भुइँमा बस्न नसकेर बालबालिकालाई खुल्ला चउरमा राख्ने गरिएको छ ।

बाल विकास केन्द्रकी सहजकर्ता शान्ति पुनले बालबालिका पढाउन आवश्यक भौतिक/शैक्षिक पूर्वाधारको अभाव रहेको बताउनुभयो । केन्द्रमा पाँचजना बालबालिका छन् । जबकि केन्द्र चलाउन २० जना बालबालिका हुनुपर्ने प्रावधान छ । विद्यालय जाने उमेरपूर्वका बालबालिकाका लागि बाल विकास केन्द्र खोलिएको हो ।

बाल विकास केन्द्रले व्यवस्थापन सुधार, गुणस्तर वृद्धि, पूर्वाधार निर्माण, समुदाय परिचालन तथा सशक्तीकरणको अभाव झेलिरहेको छ । “भौतिक पूर्वाधार र शैक्षिक सामग्री उपलब्ध छैनन्”, सहजकर्ता पुनले भन्नुभयो, “बालबालिकालाई रमाइलो वातावरणमा पढाउन, खेलाउन, सिकाउन सकिएको छैन ।”

उच्च माविका प्राचार्य गोविन्द भण्डारी जिल्ला शिक्षा कार्यालयले सहजकर्ता व्यवस्थापन गरे पनि अन्य कुनै सहयोग नगरेको बताउनुहुन्छ । बसाइँसराइ, सेवा क्षेत्र साँघुरिनु जस्ता कारणले केन्द्रमा बालबालिको सङ्ख्यामा कमी आएको उहाँको भनाइ छ ।

जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत खेम आचार्यले मापदण्ड नपुगेका बाल विकास केन्द्रलाई हटाएर नजिकको केन्द्रमा गाभिने बताउनुभयो । बीस भन्दा कम बालबालिका रहेका केन्द्रलाई सञ्चालन अनुमति दिन नसकिने उहाँको भनाइ छ । अव्यवस्थित अवस्थामा रहेका बाल विकास केन्द्रको संस्थागत विकास, सहजकर्ता र व्यवस्थापन समितिको क्षमता विकास र गुणस्तर सुधार आवश्यक रहेको छ । “विद्यालयको बेवास्ताका कारण कतिपय बाल विकास केन्द्र अस्तव्यस्त र प्रभावहीन रहेका छन्” आचार्यले भन्नुभयो । रासस