
काठमाडौं । नेपाल प्रहरीमा यस्ता पनि अफिसर छन् जसको १८ वर्षदेखि सरुवा बढुवा भएको छैन् ।
करिअर प्लानिङ नहुँदा समस्या
आफूभन्दा पछि भर्ना भएकाहरू बढुवा भएर डिएसपी भइसक्दा पनि नेपाल प्रहरीका केही सइ जहाँको तहीँ छन् । भर्ना भएको १८ वर्ष बितिसक्दा पनि कम्प्युटर सेवामा कार्यरत सइहरूको बढुवा हुन सकेको छैन । बढुवाका लागि उनीहरूले २० वर्ष कुर्नुपर्ने अवस्था छ । प्रहरी सेवामा कर्मचारीहरूको करिअर प्लानिङ नहुँदा यस्तो समस्या देखिएको हो । माथिल्ला पदको दरबन्दी थोरै हुने, तर तल्लो तहमा धेरै दरबन्दी हुने हुँदा यस्तो समस्या आएको प्रहरी अधिकारीहरूले बताए । ०५२ मा कम्प्युटर सेवामा भर्ना भएका सइहरूको दुई वर्षअघि मात्र इन्स्पेक्टरमा बढुवा भयो । तर, ०५४ मा भर्ना भएका एक दर्जन सइ भने एउटै पदमा काम गर्न बाध्य छन् ।
जागिर छाड्ने क्रम बढ्दो
प्राविधिक मात्र होइन, प्रशासनतर्फ पनि करिअर प्लानिङकै अभावमा जागिर छाड्ने क्रम बढ्दो छ । कम्प्युटर इन्जिनियरद्वय लालबहादुर साउद र निरञ्जन श्रेष्ठले केही महिनाअघि जागिर छाडे । राम्रा प्रहरी अन्यत्र लाग्दा संगठनलाई घाटा हुने एक अधिकारीले बताए ।
बढुवा नहुँदा यस्तो गुनासो
प्रहरीकै अन्य प्राविधिक सेवातर्फ ०५४ भन्दा पछि सइमा भर्ना भएकाहरू बढुवा भएर डिएसपी भइसकेका छन् । ‘आफूलाई १० वर्ष स्यालुट गरेकाहरूलाई अहिले ८ वर्षदेखि हामीले स्यालुट गर्नुपरेको छ,’ एक सइले गुनासो गरे । प्रहरीमा कम्प्युटर सेवाअन्तर्गत करिब ६० जनाको दरबन्दी छ । तर, त्यसभन्दा माथिल्लो पदमा २० जनाको मात्र दरबन्दी छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।















प्रतिक्रिया