दाङ, १ माघ । दाङको त्रिपुर नगरपालिकाको सौरीकुलामा फेरि पनि ट्रक र बस ठोक्किएका छन् ।
गएराति तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको ना४ख ७५६० नंको ट्रक र घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ख ७८९ नंको बस एक आपसमा ठोक्किँदा तीनजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, दाङले दिएको जानकारीअनुसार यसरी गम्भीर घाइते हुनेहरुमा बसमा सवार त्रिपुर नगरपालिका–१० का ४० वर्षीय लीलाबहादुर बुढाथोकी, त्रिपुर–१ निवासी ३२ वर्षीय पलबहादुर नेपाली र भारत बहराइज घर भई दाङमा बस्दै आएकी ७० वर्षीया शान्तिदेवी चौहान रहेका छन् ।
घाइतेहरुलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा पठाइएको छ । बस चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
केही दिन अगाडि पनि त्यस स्थानमा स्कुल बस र किया गाडी ठोक्किँदा आठजनाको मृत्यु भएको थियो भने २१ जना गम्भीर घाइते भएका थिए । रासस












प्रतिक्रिया