नुवाकोट, २९ पुस । सामाजिक क्षेत्रमा क्रियाशिल ओमकार युनेस्को संघले यहाँस्थित दुई सय भूकम्प पीडित परिवारलाई न्यानो कम्बल वितरण गरेको छ ।
नुवाकोट दरबार डबलीमा आयोजित एक कार्यक्रममा बिदुर नगरपालिकाका वडा नं १र २ तथा छिमेकी गाँऊ खानीगाँऊ गाविसका वडा नं ७,८र ९का भुकम्प पीडित परिवारलाई न्यानो कम्बल वितरण गरिएको हो ।
स्थानीय जेष्ठ नागरिक सेवा समाज समितिको समन्वयमा आयोजित न्यानो कम्बल वितरण कार्यक्रममा प्रमुख अतिथि डा. द्धारिकानाथ ढुंगेलले सामाजिक सेवा भावनामा प्रेरित कार्यका लागि समाजका प्रत्येक नागरिक जागरुक भए पीडाको महषुसमा कमी आउने बताउनुभयो ।
स्थानीय प्रशासनका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा स्थानीयहरुको सहभागिता रहेको सो कार्यक्रममा समाज कल्याण परिषदका सदस्य बिदुर प्रसाद घिमिरेले भूकम्प पीडित परिवारलाई राज्यले प्रदान गर्ने राहत सामाग्री सन्तोषजनक रुपमा प्राप्त हुन नसकेको अवस्थामा ओमकार युनेस्को संघले गरेको प्रयत्नलाई प्रशंसनिय कार्यको संज्ञा दिनुभयो ।
ओमकार युनेस्को संघका अध्यक्ष सनिश मिश्रले भूकम्पबाट पीडित परिवारका लागि आफूले गरेको सहयोग मलमपट्टी सरह भएपनि आगामी दिनमा समेत निरन्तरता दिइने बताउनुभयो ।
सो अवसरमा ओमकार ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुषिम पौडेलले समाजका हरेक समुदायमा आपतका बेला एक अर्कामा सहयोगी भावनाको विकास गराउन आफनो अग्रसरता कायम रहने उल्लेख गर्नुभयो । जेष्ठ नागरिक, सुत्केरी महिला, अशक्त, दलित तथा अति विपन्न समुदायमा राहत वितरण गर्ने कार्यक्रम अनुसार नुवाकोट जिल्ला छनौट गरिएको ओमकार युनेस्को संघका व्यवस्थापक विद्याज्योति घिमिरेले बताउनुभयो ।












प्रतिक्रिया