
एउटी नारीले नै नारीको लाजको ब्यापार किन गर्दछिन ? पैसा र बैंसको रंगमंचमा कुनै-कुनै कलाकारहरु जे मन लाग्यो त्यही गर्न किन रुचाउँछन् ? यस्तै जे मन लाग्छ त्यही गर्ने कलाकार शुभेच्छा थापाले हंगामा गरिन् । आफ्नो लाज बेच्न खादाको प्रयोग गरेर गल्ती गरिन् । नेपाली रंगमंच कलामा मैलो लगाइन । नेपाली कलाकारहरुको चरित्रमा चोट पुराइन् । नेपाली दिदिबहिनीहरुको प्रतिष्ठामा घाउ बनाइन् । बौद्धमार्गीहरुको बिश्वासलाई पनि अपमान गरिन । शुभेच्छा थापाले माफी मागिन् । माफ माग्नु स्वागतयोग्य छ, अझ त्यो भन्दा पनि ठूलो पाठ उनले सिकिन, त्यो झनै स्वागतयोग्य छ ।
शुभेच्छा थापाले आफ्नो लाज ढाक्न खादाको प्रयोग गरेको गल्ती भन्दा ठूलो गल्तीहरु नेपालमा भैरहेका छन् । तानाशाही राजाहरु, राष्ट्रद्रोही, भ्रष्टचारी नेता, हाकिमहरु, गुण्डाहरु, तस्करहरु, चोर, हत्याराहरु, बलात्कारीहरू सबैले पनि खादा लाएकै छन् । आफ्नो परेकाहरु दुष्ट दानवहरुनै भएता पनि सबैले खादा लगाइदिएकै छन् । के यस्ता खराब मान्छेहरुलाई खादालाई दिनु अथवा उनीहरुले खादा लगाउनु शुभेच्छा थापाले गरेको गल्ती भन्दा सानो अपराध हो र ?
‘नबुझ्नेलाई रिसाउनु भन्दा बुझाउनु जाति’ भन्नुभएको थियो मेमा धर्म गुरु महाकरुणाका चक्ष्यु स्वर्गीय ठुशिक रिम्पोचेज्युले । मान्छेको लजास्पद चरित्रको कारणले खादाको पवित्रता हराउँदैन् । यहि अर्थमा, मैले अनुसन्धान गरेर जानेका कुराहरु खादाको छोटो इतिहास, खादाको सामाजिक महत्व र प्रयोग संस्कार मान्यताहरु बारे बुझाउने सानो प्रयास गरेको छु ।

पहिलेपहिले भिक्षुहरु, सरकारी कर्मचारीहरु र अन्य कोही पनि नागरिकहरुले राज्यमा कुनै पनि राम्रो र प्रगतिशिल कार्यहरु गर्दा, खुशी ब्यक्त गर्न र सम्मान दिन महाराज सोङ्गचेन गोन्पोको राज्यकालमा बाघ,, हिमचितुवा, फ्याउरो जस्ता जन्तुहरुको छालाहरु पुरस्कृत गरिन्थ्यो । त्यही बेला, नालन्दा विश्व बिद्यालयका भिक्षु महान भारतीय पण्डित संत्रकसिता (खेम्पो बोधिसत्व) ले जनावरहरु मारेर छाला प्रयोग गर्ने प्रथालई हटाउन, आर्यन भारतीय सामजिक संस्कारमा गुरुलाई एक थान नयाँ लुगा चढाउने चलनलाई बौध धार्मिक समाजमा परिचय गराइएको थियो । फलतः भौगोलिक अनुकुल अनुसार महंगो र रंगीचंगी नयाँ रेशमको कपडा अर्पण गरेर कुनै पनि शुभकार्य सम्पन्न, कुनै पनि सामाजिक र धार्मिक चाडपर्ब अभ्यास गरिने चलनको साथै खादाको परम्परा बिकसित हुँदै आएको छ ।
समय र संस्कारको परिबर्तन साथै खादाको प्रयोग बिशेषगरि हिमाली बौद्धमार्गीहरुको जीवनकालमा जन्म, बिच र मृत्युसम्मको सामाजिक आवश्यक बस्तुको रुपमा उपयोग हुँदै आयो । खादाको अर्पण (प्रयोग) गर्दा सफा मन, सत्कार सोच, आत्मिक सम्मान, माया, करुणा र शुभकामनाको मनस्थिति सृजना हुनुपर्ने बौद्धधार्मिक मान्यता रह्यो ।
खादा बिभिन्न रंगमा पाइन्छन् । हरेक रंगको बेग्लाबेग्लै प्राकृतिक अर्थहरु र बौद्धिक तथा धार्मिक अर्थहरू रहेका छन् । निलो रंगको खाताको अर्थ आकाश, ज्ञान, सेतोको रंगको खाताको अर्थ पानी रशान्ति, रातो रंगको खाताको अर्थ आगो र शक्ति, हरियो रंगको खाताको अर्थ बतास, आत्मबिश्वास र पहेलो रंगको खाताको अर्थ धर्ती र खुशी रहेको बर्णन गरिएको छ ।
खादा लगाइदिँदा अथवा चढाउँदा ध्यान दिनुपर्ने सामजिक मानमर्यादार मान्यताहरु पनि छन् । सबैभन्दा पहिले खादा सफा हुनुपर्दछ । फोहर खादा दिनु र चढाउनु अपमान मानिने छ । त्यसपछि, खातालाई लम्बाईमा आधा पट्याउने र आधा पट्याउनुको अर्थ दिने र लिने दुवै एकअर्कामा निर्भर रहेको हुन्छ भन्ने जनाउँछ । त्यसपछि, खाता चढाउँदा पट्याएको भाग आफु तिर र खुला भाग जसलाई दिइन्छ त्यतातिर हुन जरुरी छ । यसबाट चढाउनेको मन सफा रहेको र चढाउनमा उसको कुनै नकरात्मक सोच नरहेको बुझिन्छ ।
धार्मिक स्थान, देवीदेउता, भगवान, भिक्षु, पण्डित, गुरुहरु, प्रमुख मान्यवारहरु र उमेरमा मान्यवरहरु जस्तालाई खाता चढाउँदा घाँटीमा लगाइदिनु अपमान मानिन्छ । यस्ता ठाउँ ,बस्तु र व्यक्तित्वहरुलाई खाता चढाउँदा, खातालाई बन्द हातले (नमस्कार गरिने तरिकाले( समाएर आफ्नो सिर नजिकै पुराएर झुकेर चढाउनु पर्दछ ।
मान्छेको सबैभन्दा महान गुरु नै आफ्नो गल्ती हुन्छ भन्छन् । बाल्यकालमा मैले पनि एउटा गल्ती गरेको थिएँ, नबुझेर । एकजना असल मित्र ‘अर्याल’ले मलाई ‘पशुपतिको दर्शन’ गर्न जाउँ भनेको थियो । ‘म जान्न, गोरुको पनि कोही दर्शन गर्न गइन्छ र ?’ मैले जवाफ फर्काएँ । मैले मेरो मित्रको मन दुखाएँ । जानी या नजानी सबैले जीवनमा गल्ती त गर्छन् । गल्ती हुँदैमा त्यो मान्छे नराम्रो हुन्न । गल्ती सच्याउनेहरु राम्रो मान्छे पनि भन्दछन् ।














प्रतिक्रिया