काठमाडौँ, २४ पुस । पश्चिम सेती, अरुण तेस्रो, माथिल्लो तामाकोसी, माथिल्लो कर्णालीजस्ता ठूला जलविद्युत् परियोजनालाई निर्धारित समयमै सम्पन्न गराउन लगानी बोर्डले द्रुत रुपमा काम गरिरहेको जनाएको छ ।
ऊर्जाको वर्तमान सङ्कटलाई समाधान गर्न ती परियोजना कोसेढुङ्गाका रुपमा काम गर्ने हुँदा निर्धारित समयमा सम्पन्न गर्न आवश्यक पर्ने समन्वय गर्ने बोर्डद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सम्पन्न बोर्डको बैठकले ऊर्जा सङ्टक समाधान गर्न ठूला जलविद्युत् परियोजनालाई समयमै सम्पन्न गर्ने निर्णय गरेको थियो । सोही बैठकमा बोर्डका तर्फबाट ती परियोजना सम्पन्न गर्न भएगरेका कामका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी दिइएको थियो ।
पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले अरुण तेस्रो (नौसय मेगावाट) प्रवेश मार्गका लागि ५५ किलोमिटर सडक निर्माण गर्न सम्झौता भइसकेको, पश्चिम सेती (७५० मेगावाट) सेयर बाँडफाँडको समस्या समाधानतर्फ उन्मुख भएको र तामाकोसी तेस्रो (६५० मेगावाट)को काम भइराखेको जानकारी दिनुभयो । ती परियोजनाका जग्गाको मुआब्जा वितरण, वन समस्या, ठेक्कापट्टा र इन्धनजस्ता समस्या देखिए पनि समाधान गर्न पहल भएको उहाँको भनाइ छ ।
कार्यकारी अधिकृत पन्तले वायु ऊर्जाका लागि बोर्डले सम्भाव्यता अध्ययन सुरु गरेको, हाल सो क्षेत्रमा काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायका बीचमा समन्वय भइराखेको जानकारी दिनुभयो । रासस















प्रतिक्रिया