लमजुङ, २४ पुस । भूकम्प र तराई आन्दोलनका कारण जलविद्युत् आयोजना निर्माण कार्य ठप्प हुँदासमेत सरकारले चासो नदेखाएको भन्दै जलविद्युत् लगानीकर्ताहरु आक्रोशित बनेका छन् ।
इन्धन अभावका कारण आयोजनाको निर्माण कार्य बन्द रहेको छ । बैंकबाट ऋण लिएर अरबौँ लगानी गरेको तर आयोजना सम्पन्न गर्ने समायवधि पर धकेलिँदा मारमा परेको लमजुङ उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्ष एवम् सुपर दोर्दी जलविद्युत् आयोजनाका प्रवद्र्धक भेषबहादुर पौडेलले बताउनुभयो । “दुई वर्षमा २७ मेगावाट विद्युत् उत्पादनको लक्षसहित काम थालेका थियौँ, तर नौ महिनादेखि निर्माण कार्य ठप्प छ” उहाँले भन्नुभयो ।
दुई हजार ५०० मेगावाट विद्युत् उत्पादन क्षमता भएको जिल्लामा हाल एक हजार ५०० मेगावाट विद्युत् उत्पादनको चरणमा छ । चारवटा आयोजनाले उत्पादन सुरु गरिसकेका छन् भने छवटा आयोजना निर्माणाधीन अवस्थामा छन् । इन्धन अभावका कारण ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य तीन महिनादेखि ठप्प छ ।
झन्डै ९५ प्रतिशत काम सम्पन्न भइसकेको सो आयोजना सन् २०१५ मै सम्पन्न भइसक्नुपर्ने थियो । निर्माणको अन्तिम चरणमा इन्धन अभाव भएपछि उक्त आयोजना निर्माण कार्य ठप्प छ । सरकारले तत्काल इन्धन उपलब्ध नगराए आफूहरुको लगानी खेर जाने भन्दै लगानीकर्ताहरु चिन्तित बनेका छन् । रासस















प्रतिक्रिया