
धनगढी, १६ पुस । कैलालीको भजनी त्रिशक्ति नगरपालिका–१२ भुरुवाकी तीन सन्तान हुर्काउने जिम्मेवारी वोकेकी विसा राजी विहीवार एक जोडी वाख्रा पाउँदा निक्कै खुसी भएकी छन् ।
वर्षको अधिकांश समय सीमापारी भारतको वेलापर्सवा, दीपनगर गएर ज्यालादारी काम गर्ने विसाले जीवन निर्वाह गर्नका लागि वाख्रा पालनले सहजता ल्याउने आशा गरेकी छन् ।
दिनभर भारतीय गाउँमा गएर ज्यालादारी गरेर तीन वच्चालाई हुर्काउँदै पढाइरहेकी विसाले साँझ विहान नजिकैको जंगलबाट घाँस ल्याएर वाख्रालाई दिन्छु अनि आफू आफू काम गर्न जाने योजना वनाइएकी छन । स्कुल वन्द हुँदा वच्चावच्चीले वाख्रालाई जंगल लगेर चराउलान उनले सुनाइन ।

श्रीमानले अर्की श्रीमति ल्याएर छुट्टिएपछि विसाको काँधमा घर धान्ने जिम्मेवारी छ । छ कट्टा ऐलानी जग्गा भएकी उनले अनेक दुःख गरेर वच्चालाई स्कुल पढाएकी छन । उनका छोरा र छोरी क्रमश संजय, सुनिल र कष्णमती ७, ३ र ८ कक्षामा पढ्छन ।
भुरुवाकै रुपी राजीको श्रीमान वितेको तीन वर्ष भयो । उनलाई पनि घर चलाउन कम्ती कठिनाई छैन । पाँच कट्टा ऐलानी जग्गा भएकी उनले पनि मजदूरी गरेरै घर चलाएकी छन । उनका पनि दुई सन्तान स्कुल जान्छन भने कान्छो छोरा पनि स्कुल पठाउने वेला भएको छ ।
रुपीले पनि अव वाख्रा पालनले घर व्यवहार चलाउन सजिलो हुने विश्वास गरेकी छन । फाया नेपालले वाढी प्रभावित समूदायको जिविको पार्जनमा सहयोग कार्यक्रम अन्र्तगत ११ राजी परिवारलाई वाख्रा दिएपछि उनीहरुले अव वाख्रा पालनले सहज हुने विश्वास गरेका हुन ।
भजनी वजारको खानेपानी ट्यांकीको हातामा वाख्रा लिन आउनेमा प्राय सवै महिलाले आफूहरुको परिवार भुरुवाको छेउको भारतिय गाउँमा गएर ज्यालादारी गर्ने गरेको वताएका थिए ।

२० वर्षिया पिंकी राजीका अनुसार झण्डै एक सय राजी महिला दिनहुँ भारत भएर काम गर्छन । हामी भारत गएर मंसिरदेखि वैशाखसम्म उख्खु काट्छौ, वैशाखदेखि असारसम्म गोड्छौ, असार, साउनमा खेत रोप्छौ भदौ असोजमा मम्फली गोडछौ उनले भनिन । काम गरे वाफत उनीहरुले दैनिक ज्याला (२४० भारु) दुई सय ४० रुपैयाँ नेपाली पाउछन ।
वाख्रा लिने सवैले अव वाख्रापालनमा ध्यान दिने वताएका छन । फायाले जमुनापारी जातका वाख्रा राजीहरुलाई दिएको छ । राजी परिवारलाई भजनी त्रिशक्ति नगरपालिकाका कार्यकारी अधिकृत विष्णुदत्त भट्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाह, पशु केन्द्रका रामवहादुर सार्की, कृषि सेवा केन्द्रका प्रमुख राधिका पौडेल, महिला पैरवी मञ्चकी अनिता साउद लगायतले वाख्रा हस्तान्तरण गरेका थिए ।
फायाका सचिव लोकराज भट्टको अध्यक्षतमा भएको कार्यक्रममा सो परियोजनाका प्रमख नित्यानन्द जोशी र छाया देवकोटाले वाख्रा वितरण कार्यक्रम वारे जानकारी दिएका थिए । सो परियोजनाका प्रमुख जोशीका अनुसार ११ परिवारलाई २२ वाख्रा दिंदा एक वोका साझा रुपमा प्रदान गरिएको वताए । वाख्रा छ महिनामा व्याउने गर्छन भने केहीले चार पाठापाठी समेत जन्माउने गर्छन ।












प्रतिक्रिया