७ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री ओली चीन जाने तयारी गर्दा भारतले गर्‍यो ‘स्वागत’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli-1काठमाडौं । चीन सरकारको उच्च तहबाट निमन्त्रणा प्राप्त भई तत्काल त्यसतर्फ जाने मिति निर्धारण गर्ने तयारी भइरहेका बेला भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिला दिल्ली नै बोलाउने तयारी गरेको संकेत प्राप्त भएको छ ।

भारतीय राजदूत रन्जित रेले प्रधानमन्त्री ओलीलाई मंगलबार भेटी भारत उनलाई स्वागत गर्न इच्छुक रहेको संकेत दिएका हुन् । प्रधानमन्त्री निर्वाचित भएपछि उनका भारतीय समकक्षी नरेन्द्र मोदीले फोन गरी अनुकुल समयमा भारत भ्रमण गर्ने निम्तो दिए पनि त्यसपछि त्यो विषयलाई भारत सरकारले बुझिने गरी थाँती राखेको थियो ।

राजदूत रेले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको आग्रह त्यसबेलामात्र गरे जुनबेला उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको हालैको चीन भ्रमणमा यथासम्भव छिटो प्रधानमन्त्री ओलीलाई चीन भ्रमणका लागि आमन्त्रण गर्‍यो ।

ओलीलाई तत्काल चीन भ्रमण गर्नुपर्ने वाध्यात्मक परिस्थिति किन पनि छ भने चीनले सन् २०१६ को प्रारम्भमै आफ्नो उच्च तहको भ्रमण नेपालमा हुने जानकारी पनि परराष्ट्रमन्त्री थापामार्फत सार्वजानिक गरेको छ ।

यही सेरोफेरोमा सोधिएको एक प्रश्नमा भारतीय राजदूत रेले भने,ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत बधाईसँगै भारत भ्रमणको निम्तो दिएका हुन् ।

ओलीलाई भारतमा स्वागत छ । रिपोर्ट्र्स क्लबले राजधानीमा बुधबार आयोजना गरेको साक्षात्कारमा उनले भने, प्रधानमन्त्रीको भ्रमणका लागि अन्य कुरा पनि हुनुपर्छ । त्यो भएको छैन । आवश्यक गृहकार्य हुनुपर्छ, हुन सकेको छैन ।

राजदूतले रेले नेपाल सरकार, प्रमुख विपक्षी दल र आन्दोलनकारीबीच भइरहेको सहमतिको प्रयासलाई भारतले समर्थन गरेको बताएका छन् । उनले भने, मन्त्रिपरिषद्को पुस ५ गते बसेको बैठकले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गर्दै गरेको तीनबुँदे निर्णयलाई भारत सरकारले स्वागत गरिसकेको छ ।

उनले भने, मधेसको समस्या राजनीतिक समस्या हो । सरकार, प्रमुख विपक्षी दल र आन्दोलनकारीबीच भइरहेको सहमतिको प्रयासको हामी समर्थन गर्छौं । यो सार्थक र परिणाममुखी होस् भन्ने हाम्रो अपेक्षा छ ।

राजदूत रेले समाधानको फ्रेम वर्क बनिसकेकाले गम्भीर संवाद भए समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरे । मधेस आन्दोलनको माग धेरै ठूलो नभएकाले समाधान पनि गाह्रो नभएको तर्क उनले गरे ।

उनले नेपालमा शान्ति र स्थायित्व भएर विकासको बाटोमा अघि बढ्नुपर्ने बताएका थिए । उनले भारतसँग सीमा जोडिएको तराईमा समस्या हुँदा भारतलाई पनि असर पर्ने दाबी गर्दै छिमेकीमा अस्थिरता हुँदा आफ्नो विकासक्रममा पनि असर पर्ने बताए ।

उनले भने, हाम्रो एउटै स्वार्थ छ स्थायित्व र विकास । भारत दोहोरो अकंको आर्थिक वृद्धिका साथ अघि बढ्न चाहन्छ । यसलाई प्राप्त गर्न यो क्षेत्रमै शान्ति र स्थायित्व हुन जरुरी छ । अस्थिरता भए हामी पनि अल्मलिन्छौं । त्यसैले हामी नेपालमा अस्थिरता चाहँदैनौं ।

राजदूत रेले कसैले बिगार्न चाहे पनि नसक्ने खालको प्रगाढ सम्बन्ध नेपाल र भारतबीच रहेको भन्दै नजिक हुँदा कहिलेकाहीं चिसोपन आउनु स्वाभाविक भएकाले त्यसलाई बातचित गरेर सुधार्ने बताए । म आशावादी छु, यो अस्थायी समस्या हो । अब सम्बन्ध अझै प्रगाढ हुन्छ । त्यसको विकल्प छैन, राजदूत रेले भने ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकै वर्ष गरेको दुईपटकको भ्रमणले भारतले नेपाललाई कति महत्व दिन्छ भन्ने प्रस्ट भएको बताउँदै भने, हामी नेपाल–भारत सम्बन्धलाई प्राथमिकता दिन्छौं । हामी दुई देशको साझा विकास चाहन्छौं ।

राजदूत रेले भने, एउटा राम्रो प्रोजेक्ट कार्यान्वयन भए राम्रो सन्देश जान्छ । कमसे कम एक प्रोजेक्ट वास्तविकतामा बन्न पर्छ । यसले सम्बन्ध अझै राम्रो बनाउँछ । पञ्चेश्वर लामो समयपछि कार्यान्वयनमा गएको छ । अहिले म यसैमा लागेको छु ।

नेपाल र भारतबीचको अबको सम्बन्ध विकासको सम्बन्ध हुनुपर्ने धारणा राख्दै विकासमा राजनीति मिसाउँदा असर पर्ने रेले बताए । उनले भने,विकासमा राजनीति गरे त्यो कार्यान्वयन हुँदैन ।

राजदूत रेले नेपालमा भारत विरोध भावना बढेको विषयले पीडा भइरहेको भन्दै यो दुवै मुलुकको हितमा नरहेको स्पष्ट पारे । उनले भने, नेपालको विकासमा भारतको सहयोग आवश्यक छ । यहाँ भारतविरोधी भावना बढे नेपालको हित हुँदैन । भारतविरोधी गतिविधि रोक्नुपर्छ । यसलाई हामी गम्भीर रूपमा लिन्छौं ।

उनले भने, नेपालको आन्तरिक समस्या समाधान भए सबै समस्या समाधान हुन्छ । नेपाल र भारतले यसलाई कसरी हेर्छन्, त्यो एकअर्काले देख्नुपर्छ । यो विषयमा ट्र्याक वान र ट्र्याक टुबाट संवाद गर्ने बेला आइसकेको छ ।

नेपालले इन्धनलगायतका सम्झौता चीनसँग गर्न लागेको विषयमा उनले नेपाल सार्वभौम मुलुक भएकाले भारत, चीन वा अरू कुनै मुलुकसँग पनि सम्बन्ध राख्न स्वतन्त्र रहेको प्रतिक्रिया दिए । अन्नपूर्ण पोष्टमा समाचार छ ।