१ कार्तिक २०८३, शनिबार

हामीलाई मिडियामा कसले दिन्छ स्थान ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उत्तम अधिकारी, सह–निर्देशक
उत्तम अधिकारी, सह–निर्देशक

काठमाडौं । एउटा फिल्म बनाउन थुप्रै विषयको संयोजन आवश्यक पर्छ । त्यसमा प्राविधिक, आर्थिक, जनशक्ति आदि थुप्रै विषय छन् । ती सबैको संयोजन गर्नका लागि फिल्म निर्देशक वा प्राविधिकले मात्रै सक्दैन । यसलाई फिल्म निर्देशकलाई सहयोग गर्नका लागि पनि सहयोगीको आवश्यक्ता पर्छ ।

यस्तैमा सहयोग र फिल्म निर्माणमा संयोजनको भूमिका गर्दै आएका एक जना युवक हुन्, उत्तम अधिकारी । काभ्रे जिल्ला स्थायी घर भएका उत्तम आजकाल भक्तपुरको बालकोटमा बस्छन् । भरखरैका कलकलाउँदा उत्तमले थुप्रै फिल्महरूमा असिष्टेन्ट अर्थात सह–निर्देशक भएर काम गरिसकेका छन् । यो अनुभव उनले ०६१/६२ सालदेखि लिएका हुन् ।

कला क्षेत्र उत्तमलाई असाध्यै मनपर्ने क्षेत्र हो । पछिसम्म पनि यसैलाई निरन्तरता दिने उनी बताउँछन् । उनी प्रत्येक दिन अनामनगर वा फिल्मका काम हुने स्थानहरूमा भेटिन्छन् । ‘आफ्नो कामलाई इमान्दारिताका साथ लिन्छु’, उनले भने, ‘फिल्मसम्बन्धी काम थुप्रै गरेको छु । मिडियामा आउन सकेको छैन । हामीलाई मिडियामा कसले दिन्छ स्थान ?’

पछिल्लो समय उत्तमले ‘आरोप’ फिल्ममा सहनिर्देशन गरेका छन् । निर्देशक अमर ओलीको असिष्टेन्ट भएर उनले सहनिर्देशन गरेको बताए । सो फिल्मबाट आफ्नो कामको मूल्यांकन हुने उनले आशा लिएका छन् । ‘आरोपमा राम्रो काम गरेको छु’, उनले भने, ‘मिहिनेतअनुसारको फल पाइन्छ । आशावादी छु । फिल्मको टिमले राम्रो काम गरेको छ ।’

एउटा सहनिर्देशक अर्थात असिष्टेन्ट डाइरेक्टरले कलाकारलाई समयमा उपस्थिति गराउनेदेखि क्ल्याप बोर्डको तालमेल मिलाउनेसम्मको काम गर्नुपर्छ । यी सबै कामबाट उत्तम पोख्त छन् । ‘काम सानो वा ठूलो हुँदैन’, उनले भने, ‘आफूले जानको कुरा गर्न लजाउनु हुँदैन ।’
सहनिर्देशक भएरै नेपाली फिल्ममा केही निर्देशकहरू अहिले नाम चलेका ठूला निर्देशक बनेको प्रसस्त उदाहरण रहेको बताउने उत्तम भन्छन्, ‘म पनि सहनिर्देशक भएर मात्रै बस्दैन । राम्रो प्राजेक्टको अफर आयो भने निर्देशक भएर काम गर्छु । मसँग आँट छ । फिल्मसँग नराम्रो गर्दिन ।’

फिल्मको सबै प्राविधिक ज्ञान आफूसँग रहेको सहनिर्देशक उत्तमको भनाइ छ । ‘फिल्मका लागि आवश्यक पर्ने ज्ञानको कमी मसँग छैन’, उनले भने, ‘काम गर्न म पछि पर्दैन ।’

नेपाली कलाकारहरूमा भुव केसी, शिव श्रेष्ठ, गौरी मल्ल आदि मनपर्ने उत्तमको भनाइ छ । यी कलाकारको फिल्म हेरेर यो क्षेत्रमा प्रवेश गर्न प्रेरणा मिलेको उत्तमले आफ्नो राज खुलाए । कुनै दिन राम्रो प्राजेक्ट पाएर कलाकार चयन गर्ने जिम्मा पाउँदा आफूले उनीहरूलाई खेलाउन सक्दो प्रयास गर्ने उत्तमको इच्छा छ ।

अभिनेता राजेश हमाल र धिरेन शाक्य अभिनित चलचित्र ‘भीष्मप्रतिज्ञा’ हेरेका उत्तमलाई सो फिल्मले अत्यन्तै प्रभावित बनाएको थियो । सोही फिल्मको प्रभावले उनले निर्देशनको पाटो अंगालेको उल्लेख गरे ।

अहिले बनेका फिल्म र त्यसमा प्रयोग भएको प्रविधिबाट उत्तम खुसी छन् । नयाँ प्रविधिले फिल्म बनाउन र निर्देशन गर्न सजिलो हुने उनको भनाइ र बुझाइ छ ।