काठमाडौँ, १३ पुस । नेपाली काँग्रेस सोलुखुम्बुमा पार्टीको क्रियाशील सदस्यता एकलौटी वितरण गरेको भन्दै केन्द्रीय सदस्य बलबहादुर केसीलगायतले दोस्रो दिन पनि रिले अनशन जारी राखेका छन् ।
सोलुखुम्बुका पार्टी सभापति आङ्गेलु शेर्पाले पार्टीको विधान, नियमावली र केन्द्रीय कार्यसमितिले निर्णय गरेर पठाएको परिपत्रलाई उलङ्घन गरी एकपक्षीय ढङ्गले वितरण गरेको भन्दै अनशन बसेका हुन् ।
केन्द्रीय सदस्य केसीले जिल्लाका केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, गाविसका सभापतिलाई नसोधी कोठामा बसेर क्रियाशील सदस्य वितरण गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीको विधान विपरित आफ्ना भाइभतिज, नातागोता र अरु पार्टीका व्यक्तिलाई क्रियाशील बाँडिएको छ यो हामीलाई मान्य हुँदैन ।”
उहाँले पार्टीको केन्द्रीय सदस्यलाई समेत क्रियाशील सदस्यता नदिएको भन्दै भोलिबाट आमरण अनशन बस्ने बताउनुभयो ।
अनशनमा सोलुखुम्बुका महासमिति सदस्य रामबहादुर बस्नेत, खिला बस्नेत, हुत्तराज बस्नेत, पार्टी जिल्लासचिव भोजराज कार्की, नेपाल महिला सङ्घ पूर्व अध्यक्ष पेमा तामाङ, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य सन्तोष कट्टेललगायत चार दर्जन नेता कार्यकर्ता अनशनमा बस्नुभएको छ ।
सोलुखुम्बुमा १२ औँ महाधिवेशनमा एक हजार ७९१ क्रियाशील सदस्य रहेकामा अहिले शतप्रतिशत थप गरिएको थियो ।
यसैगरी नेपाली काँग्रेस डोल्पाका सभापति टङ्कप्रसाद उपाध्याय विगत चारदिनदेखि आमरण अनशन बस्नुभएको छ ।
उहाँले विधि विधानअनुसार ६२१ जना नयाँ क्रियाशीलसहित केन्द्रमा पठाए पनि केन्द्रले जम्मा १८ जनालाई मात्र सदर गरेर बाँकी ६०३ जनालाई बदर गरेको भनि अनशन बस्नुभएको हो ।
पार्टीको जमानत जफत हुने जिल्ला डोल्पामा नयाँ क्रियाशील बनाउँदा पार्टीले सदर नगरेपछि उहाँ निरास भई अनसन थाल्नुभएको हो । हो । रासस














प्रतिक्रिया