फलेवास (पर्वत), १२ पुस । नेपाली कांँग्रेसका नेता डिल्ली लामिछानेको आज बिहान ४७ वर्षको उमेरमा निधन भएको छ । ‘ब्रेन ट्युमर’बाट पीडित लामिछानेको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।
गत वैशाखमा भारतको मेदान्त अस्पतालमा ब्रेनट्युमरको शल्यक्रिया गरेका लामिछानेले शुक्रबार अकस्मात् बेहोस भएपछि उपचारका लागि पोखरा लगिएको थियो ।
नेवि सङ्घका पूर्व केन्द्रीय सदस्य र हाल काँग्रेसको महधिवेशन प्रतिनिधिसमेत रहेका लामिछाने १३औँ महाधिवेशनमा जिल्ला सभापतिको लाइनमा रहुनभएको थियो ।
लामिछानेको शव आज दिउँसो जिल्ला पार्टी कार्यालय पु¥याएर नेता तथा कार्यकर्ताले अन्तिम श्रद्धाञ्जलि दिए ।
काँग्रेस केन्द्रीय सदस्य एवम् सांसद अर्जुन जोशी, सांसद रेशम बनियाँ, सांसद कल्पना चापागार्इं, जिल्ला सभापति लालकाजी गुरुङले उहाँको शवमा पार्टीको झन्डा ओडाएका थिए । काँग्रेस केन्द्रीय सदस्य जोशीले लामिछानेको निधनले पार्टीलाई सबैभन्दा ठूलो क्षति पुगेको बताउनुभयो । लामिछाने नेता, कार्यकर्तामाझ लोकप्रिय रहनुभएको थियो ।
कुस्मा नगरपालिका–१३ कटुवाचौपारी घर भएका लामिछानेको एक छोरा, एक छोरी, श्रीमती र आमा रहेका छन् । लामिछानेको आजै मोदीबेणी घाटमा दाहसंस्कार गरिएको छ । रासस














प्रतिक्रिया