– अविनाश बुढाथोकी
हामीले मन्दिर, मस्जिद र चर्च जहाँ गएर खोजे पनि र पुजा गरे पनि आखिर ईश्वर एउटै छन् । र्इश्वर मन्दिर, मस्जिद र चर्चमा खोजेर पाइँदैन, र्इश्वर त हरेक ब्यक्तिको मन भित्र हुन्छन् । धर्मको अन्धविश्वास र रूढीवादी परम्परामा अल्झेर महिला र पुरुषबीच भेदभाव राख्ने प्रचलन युगौँदेखि आजसम्म पनि चलिआएको छ । महिलालाई हिन्दूवादी पुरुषले यौन प्यास मेटाउने साधनको रूपमा लिएर र्इश्वरलाई आफ्नो पर्समा बोकेर हिँडेका छन् । तपाईँका र मेरा पुस्ता पनि श्रीमानको मृत्युमा जिउँदै जलेका छन् । १९७७ देखि तत्कालीन अबस्थामा चन्द्रशम्सेर राणाले शति प्रथाको अन्त गरेता पनि हाम्रो हिन्दूवादी समाज कहिल्यै माथि उठेर महिलालाई आफू सरह सोच्न सकेन । महिलाबिना सृष्टि चल्दैन, यदि महिलालाई पशुजन्य ब्यबहार गर्छौँ भने महिलाबिना सृष्टि चलाएर देखाउ । आफू पनि महिलाकै कोखबाट दश धारा दुध खाएर हुर्केको बिर्सेर रूढीबादी परम्परामा अल्झेर आफ्ना जस्तै अरूका आमालाई किन अपमान गर्छौँ ? जहाँ नारीको सम्मान र पुजा हुन्छ त्यहाँ लक्ष्मी, दुर्गा , सरस्वतीको बास हुन्छ भनेर तिम्रा धार्मिक ग्रन्थमा लेखिएका छन् कि छैनन् ?
पुरुषबादी समाज जो आफूलाई मर्द सम्झन्छ र अबोला नारीमाथि हिँसा गर्छ, जातपात छुवाछुतसंगै कमजोर महिलालाई बोक्सीको आरोप लगाइन्छ, पोथी बासेको अशुभ हुन्छ भनेर महिलालाई बोल्न रोक लगाइन्छ, श्रीमान् बित्दा महिलाले १३ दिनसम्म कोरा बसेर रातो लगाउन नहुने, समाजको नजरमा राँडी, फुँडीको उपनामले बाँच्नु पर्ने, बाटोमा कसैसंग भेट हुँदा अलक्षण हुने । होइन यो हिन्दूवादी समाजको चेतनाको बिर्को कहिले खुल्छ ? पुरुष हुनासाथ मर्द हुने, श्रीमती बितेको भोलिपल्टै अर्को भित्राउन हुने, जे जे लगाए पनि खाए पनि छुट् हुने अनि राँडो र अलक्षिणे कहिल्यै नहुने, यो कस्तो संस्कार हो हिन्दूवादीको ?
सम्माननिय राष्ट्रपति एकल र महिला भएकै कारणले पुजाआजा गर्दा अछुत भयो भनेर बिश्व सम्पदा चोख्याउने त्यो समाजले पूर्वराष्ट्रपति पत्नी बियोगमा रहेको देखेन । किनकि उहाँ मर्द अर्थात् पुरुष हुनुहुन्थ्यो र उहाँलाई जहाँसुकै जान छुट थियो ।
बिशेषगरि भन्नैपर्दा हिमाली र पहाडी भन्दा मदेश हरेक कुरामा अगाडि छ । बिकासका पूर्वाधारदेखि कृषि, उद्योग , ब्यबसायमा मधेश अगाडि छ । मधेशले सामान्य साक्षरदेखि शिक्षित जमात जन्माएको छ । यसको मतलब यो होइन कि मधेसमा गरिबी, बेरोजगार र अशिक्षित छैनन् भन्न खोजेको होइन तर सारमा भन्नुपर्दा डकर्मीदेखि भगवानको दोस्रो रूप डाक्टरसम्म, नाली सफा गर्नेदेखि इन्जिनियरसम्म उत्पादन गरेको छ तर शिक्षित र बिवेकशील जमातमा पनि हिन्दूत्वको धार्मिक कुरिति र कूसंस्कारले जरो गाडेको छ । जहाँ चेतना, मानवता, नैतिकता र समानतालाई अँगाल्न दिँदैन ।

आफ्ना छोरी, बुहारीलाई मुल्याङ्कन गरि किनबेच गरिन्छ । दाईजोकै कारण तराईका नारीहरू जिउँदै जलेका छन्, अकालमै मारिएका छन्, घरबारबिहीन भएका छन्, बोक्सीका आरोपमा गाउँ निकालासंगै भन्नै नसकिने क्रुरतापूर्ण ब्यबहार भोग्न बाध्य छन् । गरिबी र अशिक्षाका कारण जमीन्दारको घरमा कम्लरी बस्न बाध्य छन् । नेपाली जनताले राणाशासन तोडेर बहुदल, प्रजातन्त्रसँगै निरङकुस राजतन्त्रको २४० बर्षीय शासन तोडेर लोकतन्त्रको जगमा गणतन्त्र स्थापना गरेको पनि लगभग ९–१० बर्ष भईसकेछ तर खै लैङ्गीक समानता ?
राष्ट्रको उच्च अहोदामा रहेका ब्यक्ति कुनै दल, कुनै समुदायका मात्र नभएर देशको गरिमा र सम्मानिय ब्यक्ति हुन्छन् । केही दिन अगाडि सम्मानिय राष्ट्रपति जनकपुरको रामजानकी मन्दिरमा पुग्दा त्यहाँ घटेका घटना देख्दा र सरकारको निकम्पपन देख्दा मलाई मात्र होइन्, सिंगो नेपाली र नेपाली महिलालाई अवश्य उदेक लागेको छ । मुलुकको सम्माननिय राष्ट्रपति माथि त यस्तो ब्यबहार र घटना घट्छन् भने दलित र सामान्य परिवारकी बिधुवा महिलाको हालत के होला तराईमा ? सम्माननिय राष्ट्रपति एकल र महिला भएकै कारणले पुजाआजा गर्दा अछुत भयो भनेर बिश्व सम्पदा चोख्याउने त्यो समाजले पूर्वराष्ट्रपति पत्नी बियोगमा रहेको देखेन किनकि उहाँ मर्द अर्थात् पुरुष हुनुहुन्थ्यो र उहाँलाई जहाँसुकै जान छुट थियो ।
तर,
धार्मिक अन्धविश्वास र रूढीवादी परम्परामा अल्झिएको त्यो पुरुषबादी समाज भएता पनि जनकपुर काण्डलाई हिन्दूत्वको अन्धविश्वास र रूढीबादीको रूपमा हामीले लिन सक्दैनौँ । एउटा सामान्य भारतीय कर्मचारीलाई फुलमाला लगाएर स्वागत गरिन्छ, भारतीय प्रधानमन्त्री आएनन् भनेर तोडफोड गरिन्छ तर आफ्नै देशको गरिमा तथा सम्मानिय प्रधानमन्त्री जाँदा बम र डुँगामुढा बर्साइन्छ । पूर्वशिक्षा मन्त्री रेणुकुमारी यादव पनि एकल महिला हुन् तर त्यही उदण्डकारीहरूले उनलाई नेता र सर्वश्रेष्ठ मानेर उनको संलग्नतामा तराई आन्दोलन भएको छ र उनीमाथि कुनै खालको हिंसात्मक गतिविधि त्यो पुरुषबादी समाजले गर्न सकेको छैन भने यहीँबाट हामीलाई प्रष्ट हुन्छ कि यस्ता अराजक, उद्दण्डसंगै जबरजस्त लादिएका आतङ्क हुन् जुन भारतबाट संञ्चालित तत्वले गरेका छन् तर तराईमा अबस्थित जनताले होइन । तसर्थ मन्दिर चोख्याउने नाममा जे जस्तो क्रियाकलाप गरियो यो सरासर राष्ट्रपतिको अपमानसंगै सिंगो राष्ट्र र नेपाली महिलामाथिको अपमान र दुर्ब्यबहारसंगै राजद्रोह हो । जुन घटनाको हामीले जति नै भत्र्सना पनि कमै हुन्छ । यस्ता उदण्ड धार्मिक अन्धविश्वास नभएर मात्र आतङ्क हो । यो बिषयमा हदैसम्म राज्य संवेदनशील बनेर दोषी उपर कडाभन्दा कडा कार्वाही गर्दै यस्ता उदण्डिय आतङ्कलाई नियन्त्रणमा लिन आफ्ना सुरक्षा संयन्त्रलाई सक्रिय परिचालन गर्नतर्फ राज्य लागोस् ।
















प्रतिक्रिया