३१ आश्विन २०८३, शनिबार

प्रहरीले लुकाउन खोजेको यो दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Accident Kantipur daily 3काठमाडौं, १ पुस । शनिबार बिहान करिब पौने ५ बजे माइतीघरमण्डलामा बा१२च ६१०० नम्बरको भक्सवागन कम्पनीको सेतो रंगको निजी कार गम्भीर दुर्घटनामा परेको छ ।

चालकले अत्यधिक मदिरा सेवन गरेर गाडी चलाएको कारण अनियन्त्रित भई भएको दुर्घटनामा चार जना घाइते भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार बिहान करिब पौने ४ बजे चार जना व्यक्ति चढेको उक्त सेतो कार थापाथलीको नर्भिक अस्पतालअगाडि केही बेर रोकिएको थियो ।

उक्त स्थानमा आउँदा पनि सो कार अनियन्त्रित भएर आएको थियो । त्यहाँबाट अगाडि बढ्ने क्रममा उक्त कार अनियन्त्रित भई सडकपेटीमा चढेको थियो ।

कार सडकपेटीमा चढेपछि रिक्सामा चिया पसल गर्ने तथा चिया पिइरहेकाहरुको भागदौड भएको थियो । त्यसपछि सो कार नरोकी थापाथलीचोकबाट माइतीघरमण्डलातर्फ गतिमा हुइँकिएको थियो ।

Accident Kantipur daily 4तीव्र कार अनियन्त्रित भएर अगाडि बढ्दा माइतीघरमण्डलामा सडक किनारमा रहेको सोलार प्यानल राखेको पोललाई ठक्कर दिएर सडकपेटीकै सिमेन्टले निर्माण गरिएको पिलरमा ठोकिँदा कार सडकमा तीन बल्ड्याङ भएको थियो । उक्त कारमा चालकसहित दुई पुरुष र दुई महिला रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

दुर्घटनामा परेको कार कान्तिपुर पब्लिकेसन प्रालिका अध्यक्ष कैलाश सिरोहियाका जेठा छोरा सम्भव सिरोहियाको रहेको स्रोतले जानकारी दिएको छ ।

कारमा रहेका अर्का पुरुष व्यक्ति बाफलका सौरभ माली भए पनि सुरक्षा स्रोतले ती दुई युवतीको नाम भने बताउन चाहेन । कार सम्भव आफैँले हाँकेका थिए ।

‘केटीको नाम बताउन मिल्दैन’, सुरक्षा स्रोतले भन्यो, ‘कैलाश सिरोहियाका जेठा छोरा सम्भवले चलाएको कार गम्भीर दुर्घटनामा परेको हो ।’ स्रोतका अनुसार उक्त कार कैलाशले छोरालाई जन्मदिनको उपहारस्वरुप दिएका हुन् ।

Accident Kantipur daily 2थापाथलीको चिया पसलमा ठक्कर दिन खोज्दा भागेको उक्त कारको बारेमा प्रहरी कन्ट्रोल रुममा चिया पसले र बटुवाहरुले खबर गर्ने तयारी गर्दैगर्दा दुुई मिनेटमै माइतीघरमण्डलामा दुर्घटनामा परेको थियो ।

विभत्स तरिकाले दुर्घटना भएको उक्त कार सडकमा उत्तानो परेको देखेपछि मर्निङवाकमा निस्केका सर्वसाधारण र प्रहरीले उक्त कारमा रहेका युवायुवतीलाई उद्धार गरेर नर्भिक अस्पताल पुगाएका थिए ।

अस्पताल पुग्नेबित्तिकै घाइतेहरुलाई प्रहरीले सोधपुछ गर्ने क्रममा सिरोहिया र मालीले दुवै जना केटी आफ्नो ‘गर्लफ्रेन्ड’ रहेको बताएको स्रोतले जानकारी दियो ।

दुर्घटनामा परेका चालकको परिचय तथा उनको हैसियत बुझ्दै अस्पतालको प्रहरीले माथिल्लो निकायमा रिपोर्ट गरेपछि करिब १० मिनेटमा क्रेन र र्‍याकर लिएर प्रहरीको जम्बो टोली घटनास्थलमा पुगेर हतार–हतार उक्त कार हटाएको थियो ।

स्रोतका अनुसार उक्त दुर्घटनाबाट टायर समेत खुस्किएको गाडीलाई क्रेनले उचालेर र्‍याकरमा राख्दा कारभित्रबाट ४–५ वटा मदिरा र बियरका बोत्तल भुइँमा छरपस्ट भएका थिए भने घाइतेहरुको रगत बाटोको भुइँसम्म लतपतिएको थियो ।

कार उठाइसकेपछि प्रहरीको अर्को टोलीले हतार–हतार कुचो लगाएर सडक सफा गर्दै सडकमा लतपतिएको रगत समेत पुछपाछ गरेर घटनास्थललाई पूर्ववत् अवस्थामा ठीकठाक पारेका थिए ।

सम्भव सिरोहिया
सम्भव सिरोहिया

माइतीघरमण्डलाको उक्त विभत्स एवं रहस्यमय कार दुर्घटना सम्बन्धमा प्रहरीले मुख खोल्न चाहेको छैन । उक्त दुर्घटनाको विषयमा जानकारी लिनखोज्दा उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी जय बहादुर चन्दले आफूूलार्ई उक्त घटनाको सम्बन्धमा कार्यालयबाट सामान्य रिपोर्ट गरेको र आफू घरमा भएको कारण विस्तृत विवरण दिन नसक्ने बताए ।

उनले उक्त घटना खासै ठूूलो दुर्घटना नभएको दाबी गरे पनि आर्थिक दैनिकलार्ई प्राप्त उक्त दुर्घटनास्थलको तस्बिरले उक्त दुर्घटना भयानक रहेको प्रष्ट हुन्छ ।

सामान्य दुर्घटनामा मिडियाहरुलाई ‘प्रेस रिलिज’ पठाउने ट्राफिक महाशाखाले उक्त घटना लुकाउनखोज्नु निकै अर्थपूर्ण देखिएको छ । (आर्थिक राष्ट्रिय दैनिकबाट समाचार र तस्बिर साभार)