
काठमाडौं, २८ मंसिर । आपूर्ति व्यवस्था र दैनिक जीवनयापनलाई लिएर कठिन परिस्थितिबाट गुज्रिएका प्रधानमन्त्री केपी ओलीको आलोचना सुरु गरेको छ । सरकारले यो गरेन वा त्यो गरेन भनेर विशेष गरेर विपक्षमा रहेका दलहरूले ओलीको आलोचना थालेका हुन् ।
आलोचना हुनु पनि स्वभाविक हो । यसले सरकारलाई काम गर्न र असल मार्गमा डोराउन सहयोग पुग्छ । तर के प्रधानमन्त्री ओली मुलुकको समस्या समाधानका लागि पहलै नगरी बसेका छन् त ? या कुनै प्रयास नै गरेका छैनन त ? त्यस्तो कदापि होइन भन्छन्, एमालेका नेताहरू ।
एमालेका नेताहरु भन्छन्, प्रधानमन्त्रीले भित्रभित्रै आफू निकटका नेताहरूलाई सरोकारवाला निकाय, दल र नेताहरूसँग वार्ता र सम्वाद गरिरहेका छन् । कुनै सम्वाद देखिने छन्, कुनै नदेखिने गरी भएका छन् ।
एमाले स्थायी समिति सदस्य शंकर पोखरेलका अनुसार, प्रधानमन्त्री ओलीले सम्वादहरू गरिरहेका छन् । पोखरेलले सार्वजनिक कार्यक्रममा बताइरहे अनुसार प्रधानमन्त्री ओली मुलुकका लागि अत्यन्तै चिन्तित छन् । समस्याको छिटो समाधान गरी अभावबाट गुज्रिरहेका जनतालाई सहजता दिने पक्षमा प्रधानमन्त्री ओली रहेको पोखरेलको भनाइ छ ।
विभिन्न पक्ष र स्रोतहरूका बीच भएका वार्ताले ठोस निकास नदिए पनि छिट्टै सहमति हुने बुझइ एमालेका नेताहरूको छ । मधेसी मोर्चासँगको वार्तालाई निरन्तरता दिएका ओली छिमेकी राष्ट्र भारतको सम्बन्धसँग पनि नबिर्गाने पक्षमा छन् । चीनसँगको सम्बन्धका विषयमा पनि उनी उत्तिकै चिन्तित छन् ।
भारतको अघोषित नाकाबन्दीले मुलुकको अर्थतन्त्र धेरै पछाडि धकेलिएको छ । यसबाट कसरी माथि उठ्न सकिन्छ भन्ने चिन्तामा रहेको सरकारका मन्त्रीहरुले बताइरहेका छन् ।















प्रतिक्रिया