२३ कार्तिक २०८३, सोमबार

मधेस समस्याको निकासका लागि तत्कालै निर्णायक वार्ता हुन्छः मन्त्री राई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ser-dhan-raiभक्तपुर, २६ मङ्सिर । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले मधेस समस्याको निकासका लागि सरकारले तत्कालै निर्णायक वार्ता गर्ने बताउनुभएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेसनल प्याब्सन) भक्तपुरको आज आयोजित पाँचौँ साधारणसभामा उहाँले नाकाबन्दी गर्ने, मानवीय सङ्कट पैदा गर्ने, अवरोध पैदा गर्ने कामले समस्याको निकास ननिस्कने बताउँदै उहाँले समस्याको निकासका लागि वार्ता र संवाद एक मात्र विकल्प हो भन्नुुभयो ।

सरकारका प्रवक्ता राईले नेपालको समस्या लिई बाहिर गएर हारगुहार गर्दैमा र अरुको शरणमा पर्दैमा समाधान नहुने बताउँदै आफ्नो देशको समस्याको समाधान पनि यहीँबाट निकाल्नुपर्नेमा जोड दिनुभयो ।

मधेस समस्या समाधान गर्ने कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउँदै उहाँले भन्नुभयो–‘छिमेकी राष्ट्रदेखि मधेसवादी दललाई समेत समस्या निकासका लागि आग्रह गरेका छौ, समस्या छ भने आमनेसामने बसेर वार्ताबाटै छिटो निकास निकालौँ ।’

भूकम्पबाट भन्दा बढी नाकाबन्दीबाट देशलाई नोक्सान भएकाले अब चाँडै स्पष्ट नीतिका साथ निष्कर्षमा पुगेर समस्याको समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सरकारले अगाडि सारेको दुईवर्षीय सुधारको कार्ययोजनालाई सफल बनाएर जनतालाई अनुभूति हुने गरी परिवर्तन गरिने उहाँको भनाइ छ । मन्त्री राईले सबैको भावना समेट्दै नेपालको संविधान सम्झौता र सहमतिको साथ आएकाले कसैले भनेजस्तो एकपक्षीय नभएको बताउँदै भन्नुभयो–“बहुसांँस्कृतिक मुलुक नेपालमा सबै जातजाति, भाषा र धार्मिक समुदायलाई समेटेर संविधानसभाले लोकतान्त्रिक विधिबाट संविधान जारी गर्नु नेपालको सफलता हो ।”

नेपालको विकासका लागि सूचना प्रविधिलाई शिक्षा क्षेत्रसँग जोड्न सके निकै राम्रो हुने औल्याउँदै उहाँले भन्नुभयो–‘अब इ–लाइब्रेरीको व्यवस्था गरेर संसारमा भएका ज्ञान र सूचना घरमै बसेर खोज्ने र प्रतिस्पर्धा गर्न सक्ने शिक्षाको विकास गर्न सरकार तयार छ ।’

पुरानै पाठ्यक्रम र शैक्षिक नीतिलाई सुधार्दै पाठ्यक्रम र शैक्षिक संरचना परिवर्तन गर्दै वैज्ञानिक, जनमुखी र जीवनोपयोगी शिक्षा नीति ल्याउनुपर्ने उहाँले औंल्याउनुभयो ।

सो अवसरमा राष्ट्रियगानका रचनाकार व्याकुल माइला र शिक्षा क्षेत्रमा योगदान दिने महादेव पर्वतेलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष कर्णबहादुर शाही, जिल्ला अध्यक्ष जिबी खड्का, जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठ, सल्लाहकार राजेन्द्र कोजू, अभिभावक सङ्घ नेपालका रामकृष्ण प्रजापति, नेपाल राष्ट्रिय अभिभावक सङ्घका अध्यक्ष वासुदेव खड्कालगायतले भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउनुपर्नेमा जोड दिनुभयो । रासस