काठमाडौं, २५ मंसिर । संसदको गतिरोधसँगै प्रमुख राजनीतिक दलहरूबीच बढेको तिक्तताले आज दिनभरि राजधानीमा राजनीतिक गर्मागर्मी भएको छ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि दुई प्रस्ताव अगाडि बढाउन माग गरेर बिहीबार सदन अबरोध गरेपछि गतिरोध सुरु भएको हो ।
कांग्रेसलाई फकाउन दिनभरि प्रयाससमेत भएको थियो । तर बेलुकासम्म सहमति नभएपछि संसदको बैठक आइतबार ३ बजेसम्मका लागि सूचना टाँस गरी स्थगित गरिएको छ ।
यसअघि संसदको गतिरोध अन्त्य गर्नका लागि प्रधानमन्त्री केपी ओलीले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मधेसी मोर्चा, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरूसँग परामर्श गर्नुभएको थियो ।
बैठकमा मधेसी मोर्चाले आफूहरूले भूकम्पसम्बन्धी पुनःनिर्माण विधेयकमात्रै अगाडि बढाउन दिनेभन्दै अरु विधेयक आए सदन अबरोध गर्ने चेतावनी दिएको थियो ।
मधेसी मोर्चाको चेतावनीपछि एमाले, एमाओवादी, कांग्रेस र मधेसी मोर्चाबीच संसद भवन नयाँबानेश्वरमा वार्ता पनि भएको थियो । सामूहिक र अलग अलग भएका वार्तामा कुनै सहमति हुन नसकेको कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसले समावेशी र समानुपातिक तथा जनसंख्या र भौगोलिक आधारमा निर्वाचन क्षेत्रनिर्धारणसम्बन्धी दुई विधेयक संसदमा अगाडि नबढाउँदासम्म सदन चल्न नदिने अडान राखेको छ ।
तर मधेसी मोर्चाले भने भूकम्पसम्बन्धी बिधेयकमात्रै सदनमा पेश गर्न दिनेभन्दै अरु विधेयक पेश गर्ने प्रयास गरे सदन चल्न नदिने चेतावनीपछि सदन सूचना टाँस गरिएको छ ।













प्रतिक्रिया