१ कार्तिक २०८३, शनिबार

तलब नपाएपछि नेपाली कामदारले साउदीको श्रम अदालतमा मुद्दा हाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nar-bhadur-– भरत प्रधान
साउदी अरब, २५ मङ्सिर । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिएपछि यहाँ कार्यरत एक नेपाली दुई महिनादेखि साउदी अरबको श्रम अदालत धाउन बाध्य भएका छन् ।

आठ महिनादेखि काम गरेको तलब नदिएको भन्दै इलाम, मङ्गलबारे–१ का ४० वर्षीय नरबहादुर लिम्बू न्याय खोज्दै श्रम अदालत धाउन बाध्य भएका हुन् । काम गरेको तलब नपाएको, करार अवधि सकिए पनि स्वदेश फिर्ता जान नदिएको र आवास अनुमति (अकमा) नवीकरण नगरिदिएको भन्दै आफू कार्यरत अल समख अल शरकी कम्पनीविरुद्ध पीडित लिम्बूले यहाँको श्रम अदालतमा मुद्दा हालेका हुन् । उनले मासिक बाह्र सय साउदी रियलका दरले आठ महिनाको पारिश्रमिक पाउन नसकेका हुन् ।

काम गरेको पारिश्रमिक पटकपटक माग्दा पनि रोजगारदाताले आफूलाई पारिश्रमिक उपलब्ध नगराएपछि बाध्य भएर अदालत गएको पीडित लिम्बूले बताउनुभयो । अहिले श्रम अदालतमा उनको मुद्दा चलिरहेको छ । रोजगारदाता कम्पनीले पासपोर्ट र स्वदेश फर्कनका लागि हवाई टिकट उपलब्ध गराउन तयार भए पनि काम गरेको पारिश्रमिक दिन तयार नहुँदा मुद्दा नमिलेको पीडित लिम्बूले बताउनुभयो ।

रोजगारीको सिलसिलामा ३० म्हिनाअघि काठमाडौँको मसारिक ओभरसिजमार्फत ८० हजार रुपैयाँ तिरेर दुईवर्षे करारमा उनी साउदी आएका हुन् । लामो समयदेखि काम गरेको तलब पाउन नसक्दा उनी महिनौँदेखि नेपालीको आश्रयमा बस्दै आएका छन् । मेसन कामका लागि उक्त कम्पनीमा आएका लिम्बूले मुस्किलले १८ महिनाको तलब पाए पनि पटकपटक गरी आठ महिनाको तलब पाउन नसकेका हुन् । ६ महिनाअगाडि नै करार अवधि सकिए पनि रोजगारदाता कम्पनीले घर जान नदिएको पीडित लिम्बूले बताए ।

यसअघि आफ्नो समस्यालाई लिएर नेपाली दूतावासको सम्पर्क कार्यालय दमाममा तीन महिनासम्म निरन्तर धाए पनि दूतावासले चासो नदिएको लिम्बूले बताए । दूतावासका प्रतिनिधि हरि घिमिरेलाई पटकपटक आग्रह गरे पनि आफ्नो समस्याको सुनुवाइ नभएपछि बाध्य भएर श्रम अदालत जानु परेको लिम्बूको गुनासो छ ।

साथीहरुको सहयोगमा दुई महिनादेखि श्रम अदालत धाइरहेको छु, लिम्बूले भन्छन्–“अहिलेसम्म केही भएको छैन, म त बिचल्लीमा परेको छु ।” दूतावास प्रतिनिधि घिमिरेलाई टेलिफोन सम्पर्क गर्दा भने यो विषयमा अनभिज्ञता प्रकट गर्नुभयो । रासस