
काठमाडौं, २५ मंसिर । दलहरूले मधेस आन्दोलनका विषयमा आज पनि वार्ता प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
राजधानीमा हुने भनिएको वार्ताको समय र स्थानका विषयमा केही बताइएको छैन । तर मधेसी मोर्चासँग आजै बेलुकासम्म वार्ताको तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ । वार्ताका लागि आन्तरिक तयारी भइरहेको बुझिएको छ ।
चार महिनादेखि सडक आन्दोलनमा रहेको मधेसी मोर्चाले आफ्नो आन्दोलन र नाकाबन्दीलाई खुकुलो बनाउँदै लगेको छ । यही समयमा वार्तालाई ठोस निर्णयमा पुगाउन दलहरूले आन्तरिक गृहकार्य गर्दै आएका छन् ।
प्याकेजमा सहमति खोज्नुपर्ने माग गर्दै आएको मधेसी मोर्चाले संविधान संशोधन गरेर सीमाङ्कनको विषय टुङ्गो लागउनुपर्ने अडानमा छ ।
मधेसी मोर्चाले झापादेखि कञ्चनपुरसम्मको समथल भूभागलाई दुई वटा संघीय प्रदेश बनाउन माग गर्दै आएको छ । यो माग राष्ट्रहितमा नरहेको भन्दै कांग्रेस, एमाले र एमाओवादीलगायतका दलहरूले मानेका छैन ।
त्यसै गरी विदेशी नागरिकलाई नागरिकता दिने र अंगिकृत नागरिकता लिएकालाई कति अधिकार दिने भन्ने विषयमा पनि दलहरूका बीच विवाद छ ।












प्रतिक्रिया