६ कार्तिक २०८३, शुक्रबार

शीर्ष नेता आउनै छाडेपछि नाकामा मधेसका आन्दोलनकारी घट्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

वीरगन्ज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा रक्सोल नाका ठप्प पार्दै ७० दिनदेखि जारी धर्नामा आन्दोलनकारीको संख्या घट्दै गएको छ। भारत, रक्सोलस्थित ‘मेस’ मा थुप्रिने गरेका कारण नेपाल–भारत सीमाको मितेरी पुलमा जारी धर्नामा आन्दोलनकारीको संख्या घटेको हो।

धर्नास्थलभन्दा सय मिटर पश्चिम रक्सोल कस्टमपछाडि सार्वजनिक स्थानमा सञ्चालित मेसमा बिहानैदेखि मधेसी मोर्चाका नेता–कार्यकर्ताको भीड लाग्ने गर्छ।

धर्नास्थलमा मुस्किलले ३५–४० जना आन्दोलनकारी भेटिए पनि रक्सोलस्थित मेसमा भने त्यसको तेब्बर संख्यामा भेटिन थालेका छन्। यद्यपि संघीय समाजवादीका केन्द्रीय सदस्य बच्चाप्रसाद यादव भने छठ पर्वपछाडि धर्नामा आन्दोलनकारीको संख्या बढ्दै गएको बताउँछन्।

रक्सोलस्थित मेसमा खाना पकाउँदै आएका सोनालाल साहले छठअघि दैनिक पाँच हजारभन्दा बढी व्यक्तिले खाना खाने गरे पनि अहिले दुई हजार हाराहारी आन्दोलनकारी आउने गरेको जानकारी दिए। अहिले मेस सञ्चालनका लागि दैनिक दुई लाखसम्म खर्च हुने गरेको उनले बताए।

धर्नामा सहभागी आन्दोलनकारी भने धुवाँ–धुलो र दुर्गन्धका कारण बढीमा दुई घन्टाभन्दा बस्नै नसक्ने अवस्था रहेको बताउँछन्। संघीय समाजवादीका केन्द्रीय सदस्य यादवले वीरगन्ज उपमहानगरपालिकाले सिर्सिया खोलामा फालेको फोहर र खोलाकिनारमा जलाइने शवको दुर्गन्ध तथा पुल हुँदै गुड्ने व्यक्तिगत सवारीसाधनले उडाउने धुवाँ–धुलोका कारणले धर्नाकारीलाई सास्ती भइरहेको बताए।

मोर्चाको धर्नाका कारण ठूला सवारीसाधन सञ्चालन नभए पनि पछिल्ला दिन टेम्पो र मोटरसाइकल निर्वाध आवत–जावत गरिरहेको उषा श्रीवास्तवले जानकारी दिइन्। धुवाँ–धुलोले दिनहुँ सास फेर्नसमेत अप्ठ्यारो पर्न थालेको उनले बताइन्।

सुरुका दिन मोर्चाका शीर्ष नेताको नेतृत्वमा धर्ना बसे पनि पछिल्ला दिन शीर्ष नेता आउन छाडेको आन्दोलनकारीको गुनासो छ। वीरगन्ज नाका ठप्प पार्न धर्नाकारीलाई नेतृत्व गर्दै आएका सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतो हिजोआज कहिलेकाहिँ मात्रै मितेरी पुलमा देखा पर्छन्।

सुरुमा दिनरातै पुलमा बसेर आवतजावत ठप्प पारेका महतो अहिले दिउँसो पनि आउन छाडेको मोर्चाकै नेता–कार्यकर्ता बताउँछन्। महतो मात्रै होइन, अन्य ठूला नेता पनि मुस्किलले दिउँसो एक घन्टा मितेरी पुल आउने गरेका छन्। ‘अधिकांश शीर्ष नेता दिउँसो एकाध घन्टाका लागि धर्नामा बस्ने गरे पनि राति रक्सोल र वीरगन्जका होटलमा बास बस्नुहुन्छ,’ एक आन्दोलनकारीले बताए। रातिको धर्नामा बारा र पर्साका ग्रामीण भेगबाट आएका व्यक्ति मात्रै बस्ने गरेको उनले जानकारी दिए।

मितेरी पुलमा बिहान–बेलुकीभन्दा दिउँसो आन्दोलनकारीको संख्या केही बढ्ने गरेको संघीय समाजवादीका नेता यादवले जानकारी दिए। बिहान ३५–४० को संख्यामा भेटिने आन्दोलनकारी रक्सोलस्थित मेस बन्द भएसँगै विस्तारै पुलमा थपिँदै जाने उनी बताउँछन्। राति धर्नामा बसेकाहरू बिहान नित्यकर्मका लागि निस्कने भएकाले पुलमा आन्दोलनकारीको संख्या घट्ने गरेको उनको भनाइ छ।

यादवसँगै धर्नामा बसेकी संघीय समाजवादी फोरमकी केन्द्रीय सदस्य करिमा बेगमले गाउँ–गाउँमा धान भित्र्याउने र खाली भएको खेतमा गहुँ, मकैलगायत बाली लगाउने बेला भएकाले मितेरी पुलमा आन्दोलनकारी घटेको बताइन् । उपेन्द्र यादवले नागरिक दैनिकमा समाचार लेखेका छन् ।