चितवन, २२ मङ्सिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले सौराहामा जारी विशेष कार्यकर्ता भेलाले मुलुकले भोगिरहेको वर्तमान समस्याका विषयमा पार्टीले आफ्नो धारणा प्रष्ट पार्दै दुई महिने अभियानको दिशानिर्देश गर्ने बताउनुभएको छ ।
तराई मधेस क्षेत्रमा समस्याहरु देखिएकाले सोही क्षेत्रका प्रतिनिधिहरु मार्फत सुझाव सङ्कलनका लागि कार्यकर्ता भेला आयोजना गरिएको उहाँले बताउनुभयो ।
कार्यकर्ता भेलामा सहभागी भट्टराईले आज सौराहामा संक्षिप्त कुरा गर्दै भेलापछि एमालेले तराईमा २ महिने अभियान चलाउने र उक्त अभियानमा कार्यकर्ताले यही भेलाको निचोड बोकेर हिंड्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार तराईमा कुनै पनि पार्टीको गतिविधि नभएका बेला एमालेले अभियान चलाउँदा भ्रम समाधान हुने अपेक्षा गरिएको छ ।
आज अपरान्ह समूहगत छलफलपछि टोली नेताहरुबाट प्रतिवेदन पेश हुने र त्यसपछि वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल लगायतले उठेका कुराहरु जवाफ दिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
त्यसलगत्तै कार्यपत्र प्रस्तुतकर्ताहरुको टिप्पणी आउने र अन्तिम बुँदामाथि छलफल गरेर करिव ६ बजेसम्ममा भेला सक्ने तयारी भैरहेको छ । भेलाको निष्कर्ष भोलि सार्वजनिक गरिने बताइएको छ ।
अहिले भेलाका सहभागीहरुले ९ समूहमा विभक्त भई चार वटा कार्यपत्र माथि छलफल गरिरहेका छन् । रासस















प्रतिक्रिया