६ कार्तिक २०८३, शुक्रबार

तितो सत्य सुटिङ गर्दाका दीपाका ती घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepa-660x330१२ वर्षअघि १३ ‘इपिसोड’को अनुमति पाएर सुरु भएको हास्य टेलिशृंखला ‘तितो सत्य’को प्रसारण अहिले बन्द भइसकेको छ । तर, ‘तितो सत्य’ ‘सुटिङ’ गर्दाका क्षण अभिनेत्री दीपाश्री निरौलाका सम्झनामा ताजै छन् । ‘तितो सत्य’ सुटिङताका हिन्दी टेलिसिरियलसँग प्रतिस्पर्धा गर्नुपरेको र तितो सत्य प्रसारण समयमा आफूहरूले अरूका घरमा कुन टिभी हेर्दै गरेका छन् भनेर झ्यालबाट चियाएको समेत सम्झिन्छिन् निरौला । आइतबार अभिनेत्री निरौलाले नयाँ  पत्रिकासँग तितो सत्य सुटिङका घटना सम्झिइन् :

मासु खाँदा क्यामेरा रोकियो

दीपकजी सोमबार कहिल्यै पनि मासु खानुुहुन्न । तर, एकपटक सुटिङका लागि उहाँले मासु खानुपर्ने भयो । हामीले प्राय: तितो सत्यको सुटिङ सोमबार गथ्र्यौँ । बर्डफ्लुसँग सम्बन्धित ‘इपिसोड’ थियो । तितो सत्यका लागि भनेपछि दीपकजी सोमबार पनि मासु खान तयार हुनुभयो । सुटिङ सुरु भयो । दीपकजीले मासु खानुभयो । तर, उहाँको मुखमा मासु पर्नेबित्तिकै क्यामेरा आफैँ रोकियो । बारम्बार यस्तो भयो । हामीले जिस्क्याएर भन्यौँ– दीपकले मासु खाएर होला यस्तो भएको, आज सोमबार । दीपकजीले पनि त्यसलाई गम्भीर भएर लिनुभयो । उहाँले भन्नुभयो, ‘ल, म भगवान्लाई प्रार्थना गरेर आउँछु है त ।’ दीपकजीले साँच्चिकै भगवान्लाई ‘प्रे’ गर्नुभयो । कस्तो अचम्म † उहाँले प्रार्थना गरेर फर्किएपछि क्यामेरा चल्यो, हामीले सुटिङ गर्‍यौँ । पूरै ‘युनिट’ त्यतिवेला छक्क पर्‍यो । अनि दीपकजीले सोमबार मासु खाएको सिन प्रसारण भयो ।

गैँडादेखि ‘गैँडा’ डराउँदा

दुलर्भ हुँदै गएको जनावर गैँडा मारिने क्रम अत्यन्त बढेको थियो । गैँडालाई जोगाउनुपर्छ भन्ने विषयमा कार्यक्रम बनाउन हामीलाई अनुरोध आयो । चितवनमा गएर हामीले त्यसबारे सुटिङ गर्ने भयौँ । गैँडाबारेको शृंखलामा ‘रियल’ गैँडा देखाउनुपर्छ भन्ने हामीलाई लागेको थियो । हामी सुटिङका लागि तयार भएर जंगलमा पस्यौँ । तर, लामो समयसम्म पनि गैँडा देखिएन । स्थानीय बासिन्दाहरू हाम्रो प्रतीक्षा निरर्थक हुने बताउनुहुन्थ्यो । हामी पनि निराश भएर ‘प्याकिङ’ गर्ने सुरसारमा थियौँ । तर अचम्म भयो, ६ वटा गैँडा एकैपटक देखिए । हामीसँग पनि ‘गैँडा’ हुनुहुन्थ्यो । निर्मल दाइ ६ वटा गैँडा देखेपछि डराउनुभयो । तर जेहोस्, सुटिङमा हामीले गैँडालाई खिच्यौँ । सुटिङ सकिएको केही मिनेट पनि भएको थिएन, ती गैँडा हराए । त्यहाँका स्थानीय बासिन्दाले गर्नुभएको हाम्रो प्रशंसा अविष्मरणीय रहनेछ ।

बेइमान हटाउन दरबारबाट फोन

त्यतिवेला देशमा राजाको प्रत्यक्ष शासन थियो । हाम्रो कार्यक्रममा रवि डंगोल ‘बेइमान’को पात्रमा हुनुहुन्थ्यो । उहाँ ‘बेइमान’ यसरी भन्नुहुन्थ्यो कि त्यसले छिट्टै लोकप्रियता पायो । कतिसम्म भने यही शब्द दरबारमा पनि प्रयोग भएछ । नाति हृदयन्द्रले तत्कालीन राजा ज्ञानेन्द्रलाई ‘बेइमान’ भनेछन् । त्यसपछि हामीलाई दरबारबाट फोन आयो– बेइमान भन्नेले समाजमा नराम्रो सन्देश फैलाएको छ, त्यसलाई रोक्नू । तर, हामीले मानेनौँ । हामीले समाजका कुरा पस्केका थियौँ भन्ने थियो, दरबारबाट आएको फोनले हामीलाई रोक्न सकेन ।

म नहाँस्दा ‘स्क्रिप्ट चेन्ज्ड’

‘तीतो सत्य’को पहिलो दर्शक म थिएँ । दीपकजीले स्टोरी लेख्नुहुन्थ्यो । अनि मलाई सुनाउनुहुन्थ्यो । म हाँसेँ भने त्यो स्टोरी राम्रो हुन्छ, नहाँसे राम्रो हुँदैन भन्ने थियो । हामीले सोमबार सुटिङ गर्ने भएकाले दीपकजीले प्राय: आइतबार मलाई कथा सुनाउनुहुन्थ्यो । मलाई दीपकजीले लेखेको कथामा पूर्ण विश्वास थियो, म अधिकांश समय उहाँको कथा सुनेर हाँस्थेँ । तर, एकपटक त्यस्तो भएन । म हाँसिनँ । त्यसपछि लामो समय हाम्रो विवाद भयो । त्यो दिन दीपकजीले सुनाएको ‘स्टोरी’ दमदार छैन भन्ने मलाई लागेको थियो । मैले त्यो स्टोरीमा काम नगर्ने अडान लिएँ । यसले दीपकलाई पनि तनावमा पारेछ । उहाँले रातभरमा अर्को स्टोरी बनाउनुभयो । सुटिङकै दिन बिहान मैले सुनेँ । त्यतिवेला दीपकजीले मलाई भन्नुभयो, ‘बजैले गर्दा दु:ख पाएँ ।’

आमाको टाउको फुट्यो बुबा करेन्ट लागेर बेहोस

हामीले ‘तितो सत्य’मा एउटा फिल्मको सुटिङ देखाउने भयौँ । त्यो शृंखलामा भावु दिदी (राधा लम्साल) मेरी आमा बन्नुभएको थियो । अत्यन्त हतार–हतारमा सुटिङ गरिरहेका थियौँ । साँझ लोडसेडिङ हुने भएकाले हतारमा सुटिङ गर्नुपरेको थियो । सुटिङ गरिरहेकै समय केही पर ‘मरेँ नि आमा’ भनेको सुनियो । हामी आवाज आएतिर गयौँ । भावु दिदी पो लड्नुभएको रहेछ । उहाँको टाउकोमा चोट लागेछ । हामीले अस्पताल पुर्‍यायौँ । उहाँको टाउकोमा टाँका लगाउनुपर्ने भयो । तर, भावु दिदीले केही समय आराम गरेपछि भन्नुभयो, ‘म दिन्छु त्यो टेक ।’ उहाँले दिनु पनि भयो । टाउकोमा चोट लाग्दा पनि उहाँले तितो सत्यका लागि सुटिङ रोक्नुभएन । त्यस्तै अर्कोपटक मेरो बुबा बन्नुभएको थियो भीमबहादुर । हामीले सुटिङ सुरु गरिसकेका थियौँ । सुटिङमा प्रकाशका लागि वरपरबाट विद्युत् ‘सप्लाई’ गर्न तारहरू टाँगिएको थियो । बुबाले त्यही तारमा छुनुभएछ । उहाँलाई करेन्ट लाग्यो । त्यहाँ तनाव बढ्यो । कस्सो, ठूलो दुर्घटना भएन । पछि यी दुवै कार्यक्रम ‘हिट’ भए । हामीलाई लाग्यो– जहिले–जहिले अप्ठ्यारो हुन्छ, त्यही–त्यही शृंखला हिट पनि हुन्छ ।

एक्टिङ नजान्नेले धम्की दिए

एकपटक हाम्रो सुटिङस्थलमा अपरिचित एकजना आएर भने– म तितो सत्यमा सुटिङ गर्न सक्छु, मलाई रोल दिनुहोस् । त्यसरी चिन्दै नचिनेको मान्छेलाई हामीले रोल दिने गरेका थिएनौँ । तर, ती मान्छेले अति कर गरेपछि हामीले उनलाई रोल दिने भयौँ । त्यतिवेला पेट्रोलको ‘सर्टेज’ थियो । ती मान्छेको रोल पेट्रोलपम्पमा कुरा गर्नुपर्ने थियो । तर, उनले जति प्रयास गर्दा पनि ‘डायलग’ भन्न सकेनन् । पछि दीपकजीले उनलाई हटाइदिनुभयो । ती मान्छेले त हामीलाई भने– पख, म तिमीहरूलाई देखाइदिन्छु, तिमीहरूले कलाकार हेप्ने ?

राजमा बढेको ‘गर्लफ्रेन्ड क्रेज’

मेरो छोरोको क्यारेक्टरमा थियो, राज । त्यतिवेला ऊ त्यस्तै १०–११ वर्षको हुँदो हो । ऊ पढ्नमा सौखिन थियो, चतुर पनि थियो । धेरै पढ्ने भएकाले मैले जिस्क्याउँदै उसलाई भनेँ, ‘पख, अब म तँलाई एउटी गर्लफ्रेन्ड ल्याइदिन्छु ।’ मैले यति भनेर जिस्क्याएकी मात्र के थिएँ, राज रुन थाल्यो । हामी सबैसँग ठुस्कियो । उसले सुटिङमा काम गर्न पनि मानेन । हाम्रो सुटिङ नै दुई घन्टा रोकियो । मलाई बेकारमा जिस्क्याएछुजस्तो पनि भयो । पछि राज १६–१७ वर्षको भयो । ‘स्टोरी’ले उसको ‘गर्लफ्रेन्ड’ ‘डिमान्ड’ गर्‍यो । सानो वेलाको त्यो घटना मैले सम्झिएँ । हामीले उसलाई यसबारे भन्यौँ । ओहो, केही वर्षमै राजमा धेरै परिवर्तन आएको रहेछ । त्यो शृंखलामा उसले ‘गर्लफ्रेन्ड’ पाउने भनेपछि मलाई बारम्बार फोन गर्‍यो, सुटिङ कतिवेला हुन्छ भनेर मात्र सोधेन, कुन ‘ड्रेस’ लगाऊँ आन्टी भन्दै तीन–चारपटकसम्म फोन गर्‍यो ।

वास्तविकता देखाउँदा गाली नै गाली

हामीले अमेरिका र बेलायतमा पनि तितो सत्यका लागि सुटिङ गर्‍यौँ । त्यहाँका वास्तविकता देखाउने प्रयास गर्‍यौँ । अमेरिकामा नेपालीले पाएका दु:ख देखाएका थियौँ । बेलायतमा विद्यार्थी कोचिएर एउटै कोठामा सुतेको दृश्यदेखि लिएर ब्रिटिस आर्मीमा नेपालीले पाएका दु:खलाई कार्यक्रममा समेटेका थियौँ । तर, कस्तो अचम्म सही दृश्य देखाइयो भनेर हामीले गाली खायौँ । फेसबुकबाट, फोनमा र मेसेजमा हामीलाई गाली गर्नेको संख्या देखेर म अचम्ममा परेँ ।

अम्बा खाँदा ‘सुटिङस्थल’ चैट

हामीले तितो सत्यको एउटा शृंखलामा हाकिमको चाकडी गर्ने परम्परालाई व्यंग्य गर्ने भयौँ । बानेश्वरको घरमा सुटिङ गर्ने भयौँ । हाकिमको बिरालो मर्दा पनि अरूले गरेको चाकडी त्यो शृंखलामा देखायौँ । दुर्भाग्य † त्यो शृंखला प्रसारण भएको एक सातापछि त्यो घरका बुढा बाको मृत्यु भएछ । अर्को सुटिङ गर्न हामी त्यो घर पुग्दा गाली खायौँ । ‘तपाईंहरूले मरेको सिन देखाउँदा यस्तो भयो,’ त्यहाँ हामीमाथि आक्रोश थियो । त्यसपछि हामीले त्यो घरमा सुटिङ गर्न पाएनौँ । त्यस्तै, अर्को एउटा घर थियो, जहाँ हामी तितो सत्य सुटिङ गथ्र्यौँ । घर राम्रो थियो, वरपर बगैँचा थियो । एक दिन सुटिङ गर्न जाँदा मैले अम्बा पाकेको देखेँ । दुई–चारवटा टिपेर खाएँ, युनिटका अरू साथीभाइलाई पनि दिएँ । त्यो कुरा त्यहाँका घरबेटीले थाहा पाए । उनले गाली गरे– तिमीहरू यहाँ अम्बा खान पो आएका ? उनले हामीलाई त्यहाँ सुटिङ गर्न पनि दिएनन् । पाकेको अम्बा खाँदा हामीले सुटिङ गर्दै आएको घरमा सुटिङ गर्न नपाउने भयौँ ।