६ कार्तिक २०८३, शुक्रबार

चिनियाँ इन्धन महँगो, प्रतिलिटर १७० रुपियाँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chin Bata Oil Nepaliकाठमाडौं, २१ मंसिर । चाइना नेसनल युनाइटेड आयल कर्पोरेसन (पेट्रो चाइना) ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची उपलब्ध गराएको छ।

पेट्रो चाइनाले ल्हासामा आफूले बिक्री गर्ने करसहितको खुद्रा मूल्य निगमलाई उपलब्ध गराएको हो।ल्हासाको मूल्यसूचीअनुसार काठमाडौंमा आइपुग्दा करसहित प्रतिलिटर पेट्रोल मूल्य एक सय ८० रुपैयाँ र डिजेल एक सय ५५ रुपैयाँ पर्छ ।

करबाहेक भने केरुङमा पेट्रोल ८८ रुपैयाँ प्रतिलिटर पर्ने निगमले जनाएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । यसैगरी करबाहेक डिजेल ८४ रुपैयाँसम्ममा केरुङमा उपलब्ध हुन सक्छ।

व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले आइतबार डाकेको इन्धन आपूर्तिसम्बन्धी बैठकमा निगमका निमित्त निर्देशक दीपक बरालले यस्तो जानकारी दिएका हुन् ।

केही दिनअघि मूल्य, कर र अन्य प्राविधिक विषयबारे निगमको दुई सदस्यीय प्राविधिक टोली चीन गएको थियो । टोलीमा बराल पनि सहभागी थिए ।

पेट्रो चाइनाले प्रतिकिलोलिटर पेट्रोल एक लाख १८ हजार चार सय ५५ रुपैयाँ र डिजेल प्रतिकिलोलिटर एक लाख १५ हजार चार सय २९ रुपैयाँ तोकेको छ ।

बरालका अनुसार निगमले इन्धनको अन्तर्राष्ट्रिय मूल्यसूची, कर छुट र कर छुटको ब्रेड डाउन सूची उपलब्ध गराउन चीनसँग आग्रह गरेको थियो । तर चिनियाँ पक्षले त्यस्तो सूचीबारे तयारी नगरेको र उपलब्ध पनि गराउन नसक्ने जानकारी नेपाली टोलीलाई दिएको थियो ।

बरालले भने, ‘कर छुट गरेर अन्तर्राष्ट्रिय मूल्यमा कारोबार गरौं भनेर हामीले दुईपटकसम्म चिनियाँ पक्षसँग छलफल गर्‍यौं । अन्तर्राष्ट्रिय मूल्य, कर छुट र कर छुटको ब्रेड डाउन सूचीका बारेमा नेपाल सरकार र चीन सरकार बसेर उच्चस्तरमा कुराकानी गरेपछि मात्रै विकल्प आउन सक्ने पेट्रो चाइनाका अधिकारीले जानकारी दिए।’

उनका अनुसार चीनमा पेट्रो चाइनाले नेपाल आयल निगमले जस्तो इन्धनको मूल्य तय गर्दैन । चीनको नेसनल डेभलपमेन्ट प्लानिङ एन्ड रिफर्म कमिसनले मूल्य निर्धारण गरेपछि सोही मूल्यअनुसार पेट्रो चाइनासहित अन्य व्यवसायीले इन्धन बिक्री गर्न पाउँछन्।

नेपाल आयल निगमले अहिले भारतसँग रक्सौलको मूल्यअनुसार कर छुटमा प्रतिलिटर पेट्रोल ४५ रुपैयाँ ४७ पैसामा खरिद गर्दै आएको छ ।

बरालका अनुसार पेट्रो चाइनाले उपलब्ध गराएको अहिलेको करसहितको पेट्रोलको मूल्य एक सय १८ रुपैयाँमा केरुङसम्म ढुवानी गर्दा एक सय ३५ रुपैयाँ पर्न आउँछ।

केरुङबाट नेपाल ल्याउँदा भन्सार शुल्क, प्रज्ञापनपत्र शुल्क, सडक सुधार शुल्क, मूल्य अभिवृद्धि कर र ढुवानी शुल्क गरेर प्रतिलिटर एक सय ८० रुपैयाँ पर्न आउँछ । पेट्रो चाइनाले उपलब्ध गराएको मूल्यअनुसार ल्हासामा मात्रै पेट्रोलको ६७ प्रतिशत र डिजलको ५१ प्रतिशत करबापत रकम बुझाउनुपर्छ।

चिनियाँ पक्षसँग छलफलका क्रममा केरुङ नाकाबाटै इन्धन उपलब्ध गराउन आग्रह गरे पनि उनीहरूले सोही नाकाबाट पुनः इन्धन उपलब्ध गराउन नमानेको बरालले बताए । उनले भने, ‘उनीहरूले केरुङ नाका प्रयोग गरेर ट्यांकर व्यवसायी जान नमानेका कारण उक्त नाकाबाट दिन नसक्ने जानकारी दिएका छन्।’