काठमाडौं, १९ मंसिर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रमुख दलबीच भएको तीनबुँदे सहमतिको स्वागत गरेको छ ।
शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री विजय गच्छदारले तीनबुँदे सहमतिले मधेसी जनता र आफ्नो पार्टीले उठाउँदै आएको माग पुरा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘प्रमुख दलले हिजो जून तीनबुँदे सहमति गर्नुभएको छ । त्यसले मधेसी जनता र फोरम लोकतान्त्रिक पार्टीको एजेण्डाको जित भएको छ । उक्त सहमतिको म र हाम्रो पार्टी स्वागत गर्दछ ।’
उहाँले मधेसी जनताका अधिकांश अधिकार तीन बुँदे सहमतिले समेटेकाले मधेसी मोर्चा असहमत हुनुपर्ने कारण छैन् भन्नुभयो । आफूहरुले सीमांकन, समानुपातिक समावेशी र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारत हुनुपर्ने माग उठाएको र त्यसका लागि संविधान संशोधन गर्न दबाब दिएको भन्दै अहिले त्यो पुरा भएको गच्छदारको भनाई थियो ।
यसैगरी फोरम लोकतान्त्रिकले आगामी चैत महिनाभित्र राजधानीमा पार्टीको प्रथम राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको र त्यसका लागि आयोजक समिति समेत गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
















प्रतिक्रिया