
– नरेश केसी
भैरहवा, १५ मंसिर । ‘नेपालीका लागी नेपाली’ भन्ने मुल नाराका साथ संसारभर बसोबास गर्ने गैरआवासीय नेपालीहरुको साझा संस्था गैरआवसीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घले मंगलबार एक्कासी भैरहवा आएर तुरुन्त काठमाडौं फर्केका छन् ।
एनआरएनए अध्यक्ष शेष घलेले लुम्बिनी अन्चलमै पहिलो पटक पाइला टेकेका थिए । शान्तिका दूत महामानव गौतमबुद्धको जन्मथलो लुम्बिनीको प्रवेशद्वार भैरहवामा करिब १५ मिनेट बिताएका उनी तत्कालै काठमाण्डौं फर्केका हुन् ।
भारतीय नाकाबन्दीको कारण लुम्बिनी अञ्चल अस्पताल बुटवलमा औषधी अभाव हुँदा अस्पतालका विरामीले औषधी नपाएको खबर पाएपछि एक्कासी सेनाको जहाजमार्फत उनी मंगलबार भैरहवा आएका हुन् । एनआरएनएका संस्थापक इन्द्रा वन र प्रवक्ता डा. रन्जु वाग्लेलाई साथमा लिएर जहाजभरी औषधी बोकेर आएका अध्यक्ष घलेले मूल्यवान लाइफ सेभिंग औषधी गौतमबुद्ध विमानस्थल परिसरमै अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. राजेन्द्र प्रसाद खनाललाई हस्तान्तरण गरे । ३ लाख ९१ हजार मुल्य बरावरका लाइफ सेभिङ औषधी लिएर आएका घले समय अभावका कारण लुम्बिनी जान नपाएकोमा दुःख समेत व्यक्त गरे ।

गौतमबुद्ध बिमानस्थल भैरहवाको हाताभित्रै औषधी हस्तान्तरण गर्दै एनआरएन अध्यक्ष घलेले नाकाबन्दीका कारण नेपालमा देखिएको मानबीय संबेदनालाई ख्याल गर्दे सहयोग उपलब्ध गराएको बताए ।
अध्यक्ष घलेले भने– “एनआरएनएका विश्वभरीका सदस्यहरुको एक एक रुपैयां डलरको सहयोगमा खरिद गरिएको औषधी नेपालका विभिन्न अस्पतालमा निःशुल्क प्रदान गरिएको छ । यो औषधी विरामीको लागी निशुल्क प्रदान गर्न अस्पताललाई अनुरोध गरेका छौं ।”
जनकपुर अन्चल अस्पताल र नारायणी अन्चल अस्पताल चितवनमा औषधी वितरण गरेर भैरहवा आएको एनआरएन अध्यक्ष घले सहितको टोलीले भारतीय नाकाबन्दीको विश्वभर विरोध भईरहेको पनि बताएको छ ।

एनआरएनएका प्रवक्ता रञ्जु बाग्लेले नेपालका सकारी अस्पताललाई लगभग एनआरएनले १ करोड मुल्य बरावरको औषधी उपलव्ध गराइसकेको जनाउदै मंगलवार मात्र जनकपुरको अञ्चल अस्पतालमा ८ लाख मुल्य बरावरको औषधी र नारायणी उपक्षेत्रीय अस्पताल बिरगञ्जलाई समेत ४ लाख मुल्य बराबरको औषधी हस्तान्तरण गरेको जानकारी दिईन् ।

औषधी हस्तान्तरण पश्चात एनआरएनकी संरक्षक इन्द्रा बनले नेपाल र नेपालीलाई परेको समस्या संसारभरीका नेपालीको भएको हुदां आफुहरु अत्यन्तै संवेदनशील भएर नेपालीलाई सघाउन लागिपरेको जनाए ।
सो अवसरमा लुम्बिनी अञ्चल अस्पतालका मे.सु. राजेन्द्र प्रसाद खनालले आपतको बेला एनआरएनले देखाएको सदभाव र सहयोग निकै मुल्यवान भएको जनाउदै उनले एनआरएनले अवका दिनमा पनि मानबिय संबेदनालाई सम्बोधन हुने किसिमका सहयोगको अपेक्षा राखेको बताउनुभयो ।





















प्रतिक्रिया