काठमाडौँ, १४ मङ्सिर । स्वतन्त्र ऊर्जा उत्पादनको संस्था (इपान)ले ऊर्जा सङ्कटलाई समाधान गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्न ऊर्जा सचिव सुमनकुमार शर्मालाई आग्रह गरेको छ ।
इपानले आज ज्ञापनपत्र बुझाउँदै नेपालको ऊर्जा क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सरकारले प्रभावकारी कदम चाल्नु आवश्यक रहेको र सरकारसँग मिलेर काम गर्न आफूसमेत तयार रहेको जनाएको छ ।
भूकम्पका कारण प्रभावित भएका आयोजनालाई तत्काल सञ्चालनको वातावरण बनाउन र निर्माण प्रक्रिया सुरु गर्नका लागि सरकारका तर्फबाट प्रस्ट सहयोगको आवश्यकता रहेकामा जोड दिँदै इपानले आयोजनालाई ऋण तिर्ने अवधिसम्मका लागि विद्युत् खरिद सम्झौतामा केही सहुलियत दिन आग्रह गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले २०१७ पछि विद्युत्को मागमा कमी आउने प्रक्षेपण गरेका आधारमा चाहिएको बेलामा मात्र किन्ने सर्तमा विद्युत् खरिद सम्झौता गरेकाले ती आयोजनाको वित्तीय व्यवस्थापन हुन नसक्ने भएकाले सो व्यवस्थालाई सच्याउन माग गरिएको इपानका अध्यक्ष खड्गबहादुर विष्टले जानकारी दिनुभयो ।
यस्तै विद्युत्को वैज्ञानिक रुपमा मूल्य समायोजन गर्न र बढी प्रयोग गर्दा बढी मूल्य तिर्नुपर्ने र कम प्रयोग गर्दा कम तिर्ने प्रावधान बनाउन तथा जलाशयुक्त आयोजनाको हकमा फरक दर कायम गर्न माग गरिएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा विद्युत्को प्रचुर माग भएकाले विद्युत् प्रसारण लाइन निर्माणमा जोड दिई नेपाल र चीन सरकारबीच विद्युत् व्यापार सम्झौता (पिटिए) गर्न इपानले माग गरेको छ ।
यस्तै इपानले कुल विद्युत् उत्पादन १० हजार मेगावाट उत्पादन नहुँदासम्म विद्युत् सङ्कटकाल कायम गर्न र नीति कार्यक्रम र प्रस्ट अवधारणासहित तत्काल विद्युत् सङ्कटकाल लगाउन समेत आग्रह गरेको छ ।
कार्यक्रम, योजना नबनाई घोषणा गरिने सङ्कटले समस्याको समाधान नगर्ने भन्दै अध्यक्ष विष्टले विगतबाट पाठ सिकेर अगाडि बढ्न सचिव शर्माको ध्यानाकर्षण गराउनुभयो ।
सचिव शर्माले व्यवसायीको जायज मागलाई पूरा गर्न सरकार तयार छ भन्दै एक वर्षभित्र विद्युत्भार कटौती मुक्त गर्ने सरकारको योजनालाई पूरा गर्न प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । उहाँले सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छ भन्नुभयो । रासस















प्रतिक्रिया