– रबिना बोहरा
बागलुङ, १४ मंसिर । बागलुङ जिल्लामा उत्पादन हुने तरकारी तथा फलफुल जिल्लामा नै अपुग हुने गरेको छ । बागलुङका सर्वसाधारण अझै बाहिरबाट आउने तरकारी तथा फलफुलमै निर्भर हुदा तरकारी अपुग हुने गरेको हो ।
युवा कृषक र व्यवसायिक रुपमा अघि बढेका कृषकहरु कृषि उत्पादनमा आकर्षक भएता पनि जिल्लामा उत्पादन भएको तरकारी जिल्लामा नै नपुग्दा बाहिरि जिल्लाबाट ल्याउनुपर्ने बाध्यता रहेको छ । जिल्ला कृषि विकास कार्यालय बागलुङका अनुसार बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्थामा यहाँ उत्पादन भएको तरकारीले स्थानीयको ६० प्रतिशत माग धानेको छ । नेपालका विभिन्न ठाउँ तथा भारतबाट आयात गर्दा अहिले भारतले गरेको नाकाबन्दिका कारण बजारमा तरकारीको अभाव समेत देखिएको छ ।
पछिल्लो समय विदेशबाट फर्केका र विदेश जान तयार रहेका युवा स्वरोजगारी भई स्थायी रुपमा व्यवसायिक तरकारीमा उत्पादनमा लाग्नेहरुले जिल्लामा तरकारी उत्पादन गरिरहेका छन् । व्यवसायिक कृषिमा युवाहरुको आकर्षण बढ्दै गएमा बागलुङ जिल्ला तरकारीमा आत्मनिर्भर बन्न सक्छ । बागलुङमा तरकारी खेतीको सम्भावना राम्रो भएको भन्दै जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लव अधिकारीले माग अनुसारको तरकारी उत्पादन गर्न नसकिएको बताउनुभयो ।
गत बर्ष १ हजार ७ सय हेक्टरमा तरकारी खेती गरिएको भन्दै यस बर्ष पनि अझै बृद्धि गरेर लैजाने योजना बनाएको बताउनुभयो । टनेलमा गोलभेडा, च्याउ खेती एवं बेमौसमी खेती गर्ने कृषकहरुको संख्यामा बृद्धि भैरहेको र स्थानीयहरुमा तरकारी खानुपर्छ भन्ने सिकाई पनि बृद्धि भएको अधिकारीले बताउनुभयो । तरकारी उत्पादन सम्बन्धि विभिन्न कार्यक्रम आएकाले पनि सहयोग पुगेको र स्वस्थ रहनका लागी तरकारीको प्रयोग गर्नुपर्छ भन्ने सिकाईमा पनि अझै बृद्धि गर्दै लैजाने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
बागलुङमा तरकारी उत्पादनका लागी बानपा, कश्मिसेरा, ताराखोला, बिहुँ, अमरभुमि, भकुण्डे, लेखानी, भिमपोखरा, तित्याङ, हटिया, बुर्तिबाङ, हरिचौर, मल्म, खर्बाङ, बुर्तिबाङ लगायतका क्षेत्रलाई पकेट क्षेत्रमा राखिएको छ ।















प्रतिक्रिया