३१ आश्विन २०८३, शनिबार

नलसिंहगाडलाई राष्ट्रिय गौरवको आयोजना बनाउन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nalsing-gadeजाजरकोट, १४ मङ्सिर १४ । जिल्लामा निर्माण हुने नलसिंहगाड जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाएर निर्माणको काम तीव्र पार्न स्थानीयवासीले सरकारसँग माग गरेका छन् ।

हालै सरकारले जारी गरेको स्वेतपत्रमा मुलुकको ऊर्जा सङ्कट समाधानका लागि जिल्लाको नलसिंहगाड र गोर्खाको बुढीगण्डकी जलविद्युत् आयोजनालाई पहिलो प्राथमिकता दिने उल्लेख भएसँगै जाजरकोटवासीले ४१० मेगावाट क्षमताको नलसिंहगाड जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी निर्माण कार्य तीव्र पार्न आग्रह गरेका हुन् ।

नलसिंहगाड जलविद्युत् आयोजना निर्माण अन्तर्गत डिपीआर निर्माण र अन्य अवस्थाबारे स्थानीयवासीको सुझाव सङ्कलन गर्न सदरमुकाममा आयोजित अन्तक्र्रियामा उनीहरुले आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्न माग गरेका हुन् ।

सदरमुकाम खलङ्गा, विद्युत्गृह निर्माणस्थल दल्ली र बाँध निर्माणस्थल नजिकैको सेपुखोलामा आयोजना विकास समिति र आयोजना सरोकार समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले मुलुकको आर्थिक विकास, ऊर्जा सङ्कट समाधानको सम्भावना र अन्य कारणले नलसिंहगाडलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्न आवश्यक रहेको सुझाव दिए ।

उनीहरुले ४१० मेगावाट क्षमताको जलविद्युत् आयोजना राष्ट्रिय विद्युत् प्रणालीको स्थिरता कायम गर्न सहायक हुने, मुलुकको आर्थिक विकासमा क्षेत्रीय सन्तुलन कायम गर्न सक्षम हुने, निर्माणस्थलमा सहज पहँुच भएको, राष्ट्रिय ऊर्जाको दैनिक तथा मौसमी उच्च माग पूरा गर्न सक्षम भएको, जलाशय निर्माणपछि विस्थापित हुने जनसङ्ख्या न्यून भएको र उनीहरुको पुनरवास तथा पुर्नस्थापनाको समस्या कम भएको, स्थानीय जनताको अत्यधिक सहयोग र साथ रहेको र आर्थिक तथा वित्तीय सूचक उच्च रहनुका साथै प्रतिकूल वातावरणीय प्रभाव न्यून भएकाले यसलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी निर्माण कार्य तीव्र बनाउन माग गरेका हुन् ।

आयोजना निर्माणका लागि जस्तोसुकै लगानी गर्न तयार रहेको उक्त जलविद्युत् आयोजना सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहले बताउनुभयो । आयोजनाले दीर्घकालीन रुपमा राष्ट्रको आर्थिक विकासमा सहयोग पु¥याउने भएकाले यसको निर्माण कार्यलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।

निर्माणस्थल नजिकैको गाउँ सक्लाका स्थानीय वेदराज सिंहले पनि आयोजनाका कारण जिल्लाको मात्र नभइ मुलुककै पर्यटन विकासमा टेवा पुग्दै मुलुकको ऊर्जा सङ्कटलाईसमेत टार्नसक्ने भएकाले यसतर्फ ध्यान जानुपर्ने बताउनुभयो ।

स्थानीयवासीसँगको छलफल कार्यक्रममा नलसिंहगाड जलविद्युत् आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरले नेपालमा निर्माण हुनलागेका जलाशययुक्त जलविद्युत् आयोजनामध्ये सबै भन्दा सस्तो, सहज र विवादरहित आयोजना नलसिंहगाड नै भएको बताउनुभयो ।

उहाँले यस जलविद्युत् आयोजनाको डिपीआर निर्माणका लागि विस्तृत इञ्जिनियरिङ डिजाइन तथा वातावरणीय अध्ययनकार्य अन्तर्गत प्रस्ताव मूल्याङ्कन समितिबाट मूल्याङ्न भई आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेको बताउनुभयो ।

“आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययनको काम सकिए लगत्तै डिपीआर निर्माणको काम अघि बढेको र यस क्रममा पहँुचमार्ग निर्माण, आयोजनाको कार्यालय निर्माणलगायतका काम पनि तीव्र रुपमा भइरहेको छ” उहाँले भन्नुभयो ।

आयोजना निर्माणका लागि कन्सट्रक्सन पावरका लागि जिल्लाकै रग्दा गाविसको तासु खोलाबाट तीन हजार ५०० किलोवाट क्षमताको सहयोगी जलविद्युत् आयोजना निर्माणका लागि पनि डिपीआर तयारी भइरहेको उहाँको भनाइ छ ।

यो वर्ष कन्सट्रक्सन पावरको डिपीआर तयार गरी अर्काे वर्ष बोलपत्र आह्वान गरिने कुँवरले बताउनुभयो । आयोजनाबाट उत्पादन हुने विद्युत् प्रसारणका लागि ४०० केभी प्रशारणलाइन निर्माण गरी कोहलपुरलाई सव स्टेसन बनाउने योजना निर्माणको काम तीव्रगतिमा भइरहेको उहाँले जानकारी दिनुभयो ।

“आगामी १० वर्षभित्र आयोजना निर्माण सम्पन्न हुन्छ” उहाँले दाबी गर्नुभयो । आयोजनाको प्रकृति हेर्दा अहिले ४१० मेगावाट उत्पादन क्षमता देखिए पनि ७०० मेगावाटसम्म उत्पादन हुनसक्ने आयोेजनाका विज्ञहरु बताउँछन् ।

प्रतिमेगावाट रु २० करोडमा निर्माण हुने यो आयोजना सन् २०१२ को योजना अनुसार रु ७० अर्बको लगानीमा बन्ने भए पनि बढ्दो महंँगीका कारण यसको कुल लागत रु एक खर्ब नाघ्ने देखिन्छ । निर्माण भएको १२ वर्षमा पूरै लगानी असुल हुने र यहाँबाट उत्पादित विद्युत् पनि सस्तोमा नै बिक्री हुने उनीहरु बताउँछन् ।

आयोजना निर्माणपछि ५८८ घरपरिवारको बस्ती र उनीहरुको बजार स्थानान्तरण हुने, ३१४ हेक्टर कृषियोग्य जमिन र २९० हेक्टर वन र स्रोतको क्षति हुने बताइएको छ । आयोजना निर्माणका लागि कुल ६ हजार २८० रोपनी जग्गा अधिग्रहण गर्ने लक्ष्य अनुसार चालु आवसम्म ५३१ रोपनी जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण भइसकेको र अन्य सामाजिक कार्य पनि तीव्रगतिमा अघि बढाइएको आयोजनाले जनाएको छ । रासस