जब एउटी चेलीको जन्म हुन्छ । अर्को चेलीको कोषबाट यस धर्तीमा प्रवेश हुन्छ, त्यसपछि शुरु हुन थाल्छ नारी जीवनचक्रको शुरुवात । यसक्रममा हजारौ अप्ठ्यारा, दुखद भेल सहेर पनि नारी संघर्षलाई यथावत राख्छिन् । तसर्थ त भन्ने गरिन्छ, नारी धर्ती हुन्, जहाँ हजार लात र बज्रपात दुख परेता पनि हाँसी हाँसी आफ्नो यात्रालाई अगाडि बढाइरहेकी हुन्छिन् । तर नारी पुरुष दुवै समाजका अभिन्न अङ्ग हुन् ।
जसको सक्रिय भूमिकामा समाजले मूर्तता प्रदान गरेको हुन्छ । नारीको भूमिका समाजमा विशिष्ठ हुन्छ र महत्वपुर्ण पनि । तर यति हुदाहुदै पनि अझैपनि कम आत्मबल बिहिन प्राणीको रुपमा लिइन्छ किन ?? विभिन्न लाञ्चना लगाइन्छ । उसको पवित्रतामाथि शंका गरिन्छ । उसको इज्जतमाथि दाग लगाइन्छ । अगाडि बढ्न खोज्दा कुरा काटिन्छ, उसको खुट्टा तान्ने प्रयास गरिन्छ । स्वतन्त्रता एवं समानताका आवाज निकाल्नेलाई औला ठडाइन्छ ।
कसैको जीवनमा उनी आकाशजस्तो छाइदिन सक्छिन् त कसैको जीवनमा सागरजस्तो फराकिलो मन भइदिन सक्छिन् । हजारौ सुपुत्रहरुलाई जन्म दिएर आफ्नो अस्तित्वको चिनारी दिन्छिन् । तर, जतिसुकै नारीका राम्रा गुण भए पनि समाजका केही आफूलाई ठूला भनाउँदाहरुले नारी अस्तित्वको कुनै चाँसो राख्दैनन् ।
अझै पनि हाम्रो देशको धेरै ठाउहरुमा जब एउटी नारीको शैक्षिक चासोको विषयमा कुराकानी हुन्छ, त्यतिबेला छोरीले धेरै पढ्नु हुदैन । छोरी पराइको घर जाने जात रे……। कस्तो अचम्म छ, यो स्वार्थी समाजमा के छोरीका इच्छा हुदैनन् ? आखिर एउटी छोरीले पढेर छोराले गर्नेकार्य गरेका थुप्रै उदाहरण छन्, गरिरहेका छन् । यसै कल्कलाउदो कोपिला फक्रिन नपाई निमोठिदिने नारीका हर इच्छा, आकांक्षाहरुलाई दबाइन्छ । जसलाई जुन किलामा बाध्यो, त्यही किलामा बाधिनुपर्ने विवशता । यसरी हरेक इच्छा, आकांक्षा र चाहानाहरुलाई दबाएर स्वार्थी समाजको लागि धेरै सास्ती सहेर बाँच्नु पर्ने बाध्यता । बल्ल बल्ल सुअवसर प्राप्त गरेर शिक्षित भएका नारीहरुलाई जति उही स्तरका पुरुषहरुलाई गरिन्छ, त्यति महिलाहरुलाई गरिदैन । त्यसमा पुरुषको त कुरै छोडौ स्वंम नारीले नै नारीको सफलतामाथि लात प्रहार गरिन्छ, कुरा काटिन्छ, पछाडि धकेल्ने प्रयास गरिन्छ ।
यसरी पुरुषबाट नारी शोषित छन् नै यहाँ नारीबाट नारी नै शोषित छन् । कस्तो अचम्म एउटै घरमा नन्द भाउजु आखा तर्छन् । सासु बुहारी झगडा गर्छन् र देउरानी जेठानी एक आपसमा हानथाप गर्छन् । यसरी नारीबाट नारी स्वयम् चेतनामुलक शिक्षाको कमिका कारण शोषित पीडित र दण्डित छन् ।
कुनै नारी जब कुनै कार्यालयमा जागिर खान्छे, भने उसलाई त्यहा जादाँ खाना बनाउने देखि लिएर घरको सरसफाइ गरेर कार्यालय जानुपर्ने हुन्छ । पहिले पहिलेत हाम्रो समाजमा नारीले कमाएको पुरुषले उपभोग गर्ने तथा नारीले कमाएको पुरुषले उपभोग गर्ने तथा नारीको आर्जनमाथि पुरुष चल्ने हो भने पुरुषलाई पानीमरुवा, जोईटिङ्ग्रे, नामर्द साथै कुनै हिममत नभएको भन्ने संज्ञा दिइन्थ्यो र अहिले पनि कायम नै छ । त्यसै नारी आफनो क्रियाकलापको दौरानमा ५/६ दिन बाहिर गई घर आउन असमर्थ भएको बखत पनि उसले गरेका हरेक क्रियाकलापको स्पष्टीकरण दिनुपर्ने हुन्छ । कहाँ, के , कसरी गइस् ? अनेक प्रश्नको प्रतिउत्तर दिनुपर्ने । जति आफनी बहिनी चेलीको इज्जत गरिन्छ, त्यती नै अर्काकी बहिनीको इज्जत गर्न सकिदैन।
हुनत नारीको कोमलता उसको स्वभाजन्य विशेष्ता हो । नारी कोमल हुन्छन् । तर आवश्यक परेको खण्डमा त्यहाको समाज र वातावरणले नै उनीहरुलाई क्रुर बनाउन सक्छ । आफनो अस्मिता र अस्तित्वको रक्षा गर्न नारी रणचण्डी बनेर संग्राममा उत्रन तयार हुन्छे । नारीलाई दुखी बनाएर स्वार्थ लुटेर पछि उसकै दुखमा ताली बजाउने प्रवृत्ति पनि हाम्रो समाजमा कायम नै छ । नारी नबोले घुसघुसे, बढी बोले चम्कौली साथै नराम्री भए बोक्सीको संज्ञा दिन्छन् । यसरी नारीका हर इच्छा र चाहानाहरुलाई अरुबाट हरसमय नियन्त्रण र निर्देशन गरिन्छ । जब नारी जन्मन्छे,घर बाट बाहिर पढ्न जान्छे त्यती खेर पनि दाईभाई सगँ हात पसानु पर्ने पराइ घर गए श्रीमानसगँ श्रीमान नभए छोरासगँ, अरुको खुशीमा हास्नुपर्ने पुरुषको इशारामा नाच्नुपर्ने बाध्यता आज पनि कायम नै छ ।













प्रतिक्रिया