
– नरेश केसी
भैरहवा, मंसिर १० । नेपाल आयल निगमको भैरहवा स्थित डिपोमा स्थानिय नाप तौल तथा गुणस्तर कार्यलय बुटवलले शीलबन्दी गरिदिएको छ ।
नाप तौल तथा गुणस्तर कार्यालय बुटवलका निरीक्षक रोशन गौतमको टोलीले आयल निगमको एकमात्र खुद्रा विक्रेता समेत रहेको भैरहवा स्थित डिपोमा विहीवार दिउंसो शिलबन्दी गरिदिएको हो ।
टोलीले सिनपा ९ भैरहवामा रहेको आयल निगमको डिजल र पेट्रोलको पम्प चेकजांच गर्दा एडजस्टरको शिलबन्दीभित्र डबल गिएर भेटिएकोले शिलगरिएको नाप तौल निरीक्षक गौतमले जनाए ।
आयल निगम भैरहवाको पेट्रोल पम्प मिड्को मेकानिकल, मोडेल नम्बर ओइ ५०८ र डिजल पम्प मिड्को मेकानिकल, मोडल नम्बर ओइ ४९९ लाई तत्काल शिलबन्दी गरि विक्री वितरणमा रोक लगाएको छ ।
भारतीय नाकाबन्दीको कारण भारतबाट पेट्रोलिय पदार्थ सहज रुपमा नआउदा गत साउनको अन्तिम सातादेखी भैरहवाका निजी पम्पहरुले तेल बाड्न छाडेका छन् । त्यसपछि एक मात्र सरकारी स्वामित्वको पम्प आयल निगम भैरहवा डिपोले सिडिओको सिफारिशमा डिजल पेट्रोल वितरण गर्दै आएको थियो । तर एक्कासी विहीवार नापतौल तथा गुणस्तरको टोलीले शिलबन्दी गरिदिनुको कारण रहस्यमय देखिएको छ ।
तीन महिना अगाडी नापतौल तथा गुणस्तर कार्यलय बुटवलका शम्भु आचार्यको नेतृत्वको टोलीले लगाएको टांचा भित्र डबल एडजस्टर गियर देखिएको भन्दै सोही कार्यलयका रोशन गौतमको टोलीले शिलबन्दी गर्र्नु रहस्यमय देखिएको हो ।
सन्चारकर्मिले नापतौलको टांचा भित्र कसरी डबल गिएर परेछ त भनी राखेको जिज्ञासामा नापतौल निरीक्षक गौतमले भने “हामीले भन्दा प्रहरी अनुसन्धानले काठमाण्डौंमा डबल गियरलाई ठगीको कारण देखाएकोले सोही अनुसार केन्द्रबाट सर्कुलर भए बमोजिम चेकजांच गर्दा शिल गरिएको हो ।” निरीक्षक गौतमले शिलबन्दी गरिएका पम्पबाट निकाली तौल गरिएको डिजल पेट्रोलको परिणाम र नापतौलकै टोलीले ३ महिना पहिला लगाएको टांचा भने ठीक भएको जनाए ।
यता आयल निगम भैरहवा डिपोका प्रमुख चित्ररन्जनदासले सन्चारकर्मिसंग भने “ नापतौललै नै लगाएको शिल ठीक छ, पम्पबाट तेल निकाली तौलिदा पनि ठीकै छ भने यो किन शिलबन्दी गरियो भन्ने मैले बुझ्न सकेको छैन । ”
नापतौल तथा गुणस्तरको टोलीले शिलबन्दी गर्न डिपोमा पुग्दा सम्म सो पम्पबाट डिजल पेट्रोल वितरण भैरहेको थियो । यता स्थानिय प्रशासनले आयल निगमको डिपोमा शिलबन्दी भएसंगै तत्कालकोलागी विकल्पको रुपमा स्थानिय दुर्गा आयल सप्लायर्स प्रा.लि.भैरहवालाई सिडिओको सिफारिशको आधारमा तेल बाड्ने जिम्मा दिने बुझिएको छ । सरकारी पम्पलाई शिलबन्दी गरेर तुरुन्त निजी पम्पलाई तेलबाड्न दिने कुराले पनि अर्को शंका उब्जाएको छ । स्मरणहोस् रुपन्देहीका अधिकांश सरकारी निकाय जिल्ला प्रशासन, जिविस, नगरपालिका लगायत सरकारी कार्यलयले उधारोमा दुर्गा आयलबाट तेल भर्ने गर्दछन् । यता रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले तत्कालकोलागी विकल्पको रुपमा दुर्गा आयल सप्लायर्सलाई प्रहरीको निगरानीमा सिफारिशको आधारमा तेल बाड्न दिने बताए । उनले भने “प्रहरीले नै सांचो राखेर दुर्गा आयलबाट सिफारीशको आधारमा तेल बाड्ने छ । ” दुर्गा आयलमा डबल एडजस्टर गीयर छ की छैन त्यो भने एकिन हुन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी ढकालले केही महिना अगाडी नापतौलकै टोलीले निरीक्षणका क्रममा ठीक छ भनी लगाएको टांचामा पनि रहस्य भएको जनाउदै भने “नापतौलकै टोलीले डबल गियर हुदाहुदंैं शिल गरेको थियो वा थिएन, त्यसमा नापतौलको संलग्नता छ छैन भन्ने विषयमा पनि अनुसन्धान गर्दैछौं । ”
यसरी जुन निकायले चेकजांच गरी ठीक छ भनी लगाएको टांचा र तौल पनि ठीक हुदाहुदैं पनि शिल गरेर निजी पम्पलाई हतार हतारमा दिने अर्कोतर्फ प्रश्न उब्जाएको छ । यसमा कतै निजी पम्पहरुको आर्थिक चलखेल भयो की भन्ने ?























प्रतिक्रिया